ग्लोबल नेपाली
सन् १९९१ मा सिंगापुर पुलिसमा भर्ती भएका दिलबहादुर गुरूङको मनमा खेलकुद सधैं विशेष स्थानमा थियो। पल्टनको जीवनमा पनि उनले खेलकुदप्रति आफ्नो अगाध रूचि कहिल्यै मर्न दिएनन्।
क्याम्पमा कराते सिक्ने अवसर मात्र मिल्थ्यो। एक वर्षको कराते प्रशिक्षणपछि उनले क्याम्पबाहिर तेक्वान्दोको संसार देखे। त्यसपछि उनको जीवनमा तेक्वान्दोले एउटा नयाँ मोड लियो, जुन आजसम्म पनि अविच्छिन्न रूपमा जारी छ।
तेक्वान्दो सिक्दै जाँदा उनको हृदय यसै खेलमा पूर्ण रूपमा समर्पित भयो। लमजुङमा जन्मेर पोखराको वातावरणमा हुर्किएका दिलले जागिरे जीवनसँगै तेक्वान्दोमा असीमित आनन्द पाउन थाले।
तर, १९९५ मा उनले सिंगापुर पुलिसबाट राजीनामा दिए। जागिर छाडेको तीन वर्षसम्म उनले तेक्वान्दोको आभाव निकै महसुस गरे। सन् १९९९ मा श्रीमतीको हङकङ आइडीका कारण उनी हङकङ पुगे।
हङकङमा पाइला टेकेपछि उनको तेक्वान्दो यात्राले पुनः निरन्तरता पायो। यो यात्रा आजसम्म पनि रोकिएको छैन।
सुरूमा हङकङमा तेक्वान्दो खेलेका उनले १४ वर्षअघि आफ्नै तेक्वान्दो एकेडेमी खोल्ने संकल्प गरे। उनले स्थापना गरेको ‘युनिटी तेक्वान्दो एकेडेमी’ अहिले सप्ताहन्तमा सञ्चालन भइरहेको छ। यस एकेडेमीले यही अक्टोबर १ मा आफ्नो १५ औं वार्षिकोत्सव मनाउँदैछ।
उनको एकेडेमीमा नेपाली, भारतीय, पाकिस्तानी, श्रीलंकन, इन्डोनेसियाली, फिलिपिनो लगायत विभिन्न देशका प्रशिक्षार्थीहरू तेक्वान्दो सिक्न आउँछन्। यसका साथै स्थानीय चिनियाँ र युरोपेलीहरू पनि फाट्टफुट्ट देखिन्छन्।
हाल उनको एकेडेमीमा करिब २०० जनाले तेक्वान्दो सिकिरहेका छन्। प्रशिक्षार्थीहरूको संख्यामा उतारचढाव भने आइरहन्छ।
विदेशमा सबै किसिमका खेलकुद प्रशिक्षणलाई एउटा व्यावसायिक पाटोका रूपमा लिइन्छ। हङकङमा पनि दिलले आफ्नो एकेडेमीलाई व्यावसायिक ढंगले सफलतापूर्वक सञ्चालन गरिरहेका छन्। एकेडेमीको जिम्मेवारीसँगै उनी अर्को जागिर पनि गर्छन्।
‘मेरो चाहिँ एउटा पूर्णकालीन होइन, अर्धकालीन जस्तो हो। कुनै-कुनै साथीहरूले यसैलाई पूर्णकालीन पनि गरिरहेका छन्। गर्न सक्यो भने पूर्णकालीन पनि राम्रो नै छ,’ अघिल्लो महिना नेपाल आएका दिलले सेतोपाटीसँगको कुराकानीमा भने, ‘मेरो भने तेक्वान्दो रूचिको विषय हो। जागिरसँगै तेक्वान्दोलाई निरन्तरता दिऊँ भन्ने हिसाबले सञ्चालन गरिरहेको छु। २० वर्षदेखि एउटै कम्पनीमा सुरक्षा प्रमुख भएर काम गरिरहेको छु। तर तेक्वान्दोलाई भने कहिल्यै छोड्ने योजना बनाएको छैन।’
सुरूआती दिनमा तेक्वान्दो खेल्न थाल्दा उनले एकेडेमी खोल्ने कल्पना पनि गरेका थिएनन्।
‘खासमा म आफू फिटनेसका लागि सिक्छु भन्ने हिसाबले लागेको हो। खेल्दै जाँदा रूचि बढ्दै गयो, स्तर बढ्दै गयो। त्यस हिसाबले चाहिँ मेरो फेरि सोच बदलियो। अब यतिसम्म आइसकेपछि आफ्नै पनि एकेडेमी खोलेर केही एउटा सामाजिक काम पनि गरौँ भनेर चाहिँ सुरू गरेको हो,’ गुरूङले भने।
तेक्वान्दो एकेडेमीको जिम्मेवारीसँगै उनी स्विट्जरल्याण्डको एक प्रतिष्ठित ज्वेलरी कम्पनीमा सुरक्षा कोअर्डिनेटरको रूपमा पनि कार्यरत छन्। उक्त कम्पनीको समग्र सुरक्षाको जिम्मा उनले एक्लै सम्हाल्छन्।

तेक्वान्दोको निरन्तर सिकाइ र सिंगापुर पुलिसको अनुशासित जागिरले गर्दा नै उनले उक्त कम्पनीमा सफलतापूर्वक काम गर्न सकेका हुन्।
‘मैले यो जागिरमा छानिनुको कारण पनि मेरो पृष्ठभूमि नै हो। मेरो सेना/पुलिसको पृष्ठभूमि थियो, अनि यो तेक्वान्दोको चाहिँ अब स्पोर्ट्सम्यान पृष्ठभूमि पनि भयो,’ उनले भने, ‘सुरक्षा क्षेत्रमा हेर्नुपर्दा म हङकङभित्र मात्र होइन, हङकङबाहिर पनि (मकाउ, चाइना) गइरहनुपर्छ। अलिकति शारीरिक रूपमा तन्दुरूस्त हुनुपर्छ। तेक्वान्दोको पृष्ठभूमिले पनि मद्दत गरेको छ।’
उनले तेक्वान्दो सिंगापुर गएर सिकेका थिए। त्यसैले नेपालबाट खेल्ने अवसर भने कहिल्यै पाएनन्।
‘नेपालमा एउटा सिस्टम के छ भने बाहिर बसेर खेल्नेलाई त्यति मौका दिँदैनन्। यहाँको संघमा वा अरू ठाउँमा राजनीति धेरै चल्छ। त्यस हिसाबले पनि नेपालबाट खेल्न अलिकति गाह्रो नै देखें, त्यसैले नेपालबाट खेल्ने सोच नै बनाइनँ,’ उनले भने, ‘त्यो हुने भएपछि किन यो अप्ठ्यारो बाटो लागिरहने भनेर, बरू सक्छ भने आफैले चाहिँ अब खेलाडीहरू उत्पादन गरौँ भन्ने हिसाबले म चाहिँ सिकाउनेतिर लागेँ।’
नेपालबाट खेल्ने अवसर नपाए पनि उनको नेपालका तेक्वान्दोकर्मी र तेक्वान्दो डोजाङहरूसँगको सम्बन्ध निकै सुमधुर छ। उनी बेला-बेला नेपाल आएर सहयोग पनि गर्छन्।
‘नेपालमै बसेका खेलाडीलाई बढी प्राथमिकता दिन्छु र उनीहरूलाई आर्थिक रूपमा वा सामग्री सहयोग गरिरहेको हुन्छु। केही डोजाङका खेलाडी भाइबहिनीहरूलाई चाहिँ मैले विदेशमा पनि लगेर खेलाएको थिएँ। अन्तर्राष्ट्रिय खेलहरूमा मैले जापान लगेँ, थाइल्याण्ड पनि लगेँ। अनि यसरी नै मद्दत गरिरहेको हुन्छु,’ उनले भने।
उनले नेपाल र हङकङको तेक्वान्दो प्रणालीमा धेरै फरक पाएका छन्।
‘नेपालमा डोजाङ हुन्छ, अनि त्यसपछि जिल्ला, प्रदेश, अनि त्यसपछि केन्द्र हुन्छ, अनि त्यसरी गरेर जाने हुन्छ,’ उनले भने, ‘हङकङमा यहाँको जस्तो प्रदेश, जिल्ला भन्ने कुरा हुँदैन त्यहाँ। त्यहाँ हङकङ तेक्वान्दो एसोसिएसन छ। अनि हङकङ तेक्वान्दो एसोसिएसनले चाहिँ वर्षमा दुईचोटि अथवा तीनचोटि त्यस्तै खेलहरू गरिरहेको हुन्छ। अनि ती खेलहरूमा जति पनि हङकङ तेक्वान्दो एसोसिएसनको मातहतमा आबद्ध भएका क्लबहरूको चाहिँ सहभागिता हुन्छ। त्यहीबाट उनीहरूले छनोट गरेर फेरि राष्ट्रिय टोलीका लागि चाहिँ तयार पारेका हुन्छन्।’
गुरूङ हाल तेक्वान्दोको छैटौं डान हुन्। सन् २००० मा पहिलो डान लिएका उनी अब सातौं डान लिने तयारीमा छन्।