साउदी अरबले कोरोनाभाइरसको महामारीका कारण खस्किएको अर्थतन्त्र चलायमान बनाइराख्न मूल्य अभिवृद्धि कर (भ्याट) तीन गुणाले बढाएको छ।
अर्थमन्त्री मोहम्मद अल जदानले अहिले लाग्दै आएको ५ प्रतिशत भ्याट जुलाई १ देखि १५ प्रतिशत पुग्ने बताएका छन्।
संसारकै सबैभन्दा ठूलो तेल निर्यात गर्ने साउदी अरबको अर्थतन्त्रमा पछिल्लो समय खस्किँदै गएको छ।
कोरोनाभाइरसको महामारी रोक्न संसारका अधिकांश देशले लकडाउन गरेपछि अहिले तेलको माग ह्वात्तै घटेको छ भने मूल्यमा पनि न्यून विन्दुमा पुगेको छ।
साउदीमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बजेट घाटा ९ अर्ब डलर भएको छ। सोही बजेट घाटा पूर्ति गर्न भ्याट बढाइएको हो।
अर्थमन्त्री जदानका अनुसार जुन १ तारिखदेखि सरकारी कर्मचारीलाई दिइँदै आएको घरायसी भत्ता पनि कटौती हुने भएको छ।
साउदीमा अहिले झन्डै १५ लाख मानिसहरू सरकारी सेवामा छन्। उनीहरूलाई सरकारले मासिक २६७ अमेरिकी डलरका दरले भत्ता दिँदै आएको थियो।
योसँगै सरकारले केही निकायको चालु खर्च र केही आयोजनाको पुँजीगत खर्च पनि कटौती गरेको छ।
गत मार्चमा सरकारले विभिन्न निकायहरूलाई २० प्रतिशत खर्च कटौती हुने गरी प्रस्ताव पेस गर्न भनेको थियो।
पछिल्लो समय साउदी अरबमा कोरोनाभाइरसका संक्रमित दिनदिनै बढिरहेका छन्।
सोमबारसम्म त्यहाँ ३९ हजार ४८ मानिसलाई संक्रमण देखिएको छ भने २ सय ४६ जनाको मृत्यु भएको छ।