हेल्सिन्की, असार २६
नेपाली दूतावास डेनमार्कले फिन्ल्यान्ड, नर्वे र स्विडेनमा बसोबासरत नेपालीका लागि ७ दिने घुम्ती शिविर सन्चालन गरेको छ।
जुलाई २ तारिख शनिबार देखि शुरू भएको शिविर स्विडेनमा २ दिन, फिन्ल्यान्डमा ३ दिन र नर्वेमा २ दिन सन्चालन भएको थियो।
जुलाई ४ देखी ६ सम्म फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा सम्पन्न शिविरमा करिब २०० जनाले राहदानी आवेदन दिएको नेपाली दूतावास डेनमार्कले जानकारी दिएको छ।
नेपाली दूतावासको कार्यक्षेत्रका मुलुकमा गइ त्यहाँ रहेका नेपालीलाई राहदानी लगायतका सेवा प्रदान गर्ने योजना अनुरूप घुम्ती सेवा उपलब्ध गराईएको दूतावासका कार्यवाहक राजदूत तिर्थराज अर्यालले बताए।
शिविरमा दूतावासले नयाँ आवेदन प्रत्यक्ष दर्ता, नविकरण, पुरानो आवेदन मार्फत तयारी राहदानी वितरण, वारेस नामा, भिसा जारी तथा परामर्श सेवा प्रदान गरेको अर्यालले जानकारी दिए।
‘विद्युतीय राहदानी (ई-पासपोर्ट) आवेदनको लागि तयार पारिएको मोबाईल किट मार्फत सेवा सञ्चालन गरेका छौ’, अर्यालले भने, ‘सेवाग्राही उच्च चापको बावजुत पनि सबैलाई सेवा प्रवाह गर्न सफल भयौं।’
नेपालमा विद्युतीय राहदानीका लागि आवेदन दिन सम्भवतः पहिलो पटक सञ्चालित घुम्ती सेवामा छिटफुट रुपमा सामान्य समस्या आए पनि नेपालस्थित राहदानी विभागको समन्वयमा तथा प्राविधिक सहयोगमा समस्या समाधान गर्दे सेवा सञ्चालनन गरिएको दूतावासले जनाएको छ।
दूतावासले आफूहरू भएकै ठाउँमा आएर सेवा दिएकोमा सेवाग्राही पनि खुशी देखिन्थे। घुम्ती सेवाले यहाँका नेपालीलाई धेरै सहज बनाएको र स्थानीय रूपमा दूतावाससँग समन्वय गरेर सेवा प्रदान गर्ने कार्यमा जोडिन पाउँदा आफूहरूलाई पनि खुशी लागेको फिन्निश-नेपाली समाजका अध्यक्ष नबिन भट्टराईले जानकारी दिए।
शिविरमा कार्यवाहक राजदूत अर्याल उपस्थित भएर सेवा प्रदान गरेका थिए भने फिन्ल्यान्डमा स्थानीय रूपमा फिन्निश-नेपाली समाज र एनआरएन फिन्ल्यान्डले समान्वय गरेका थिए।
फिन्ल्यान्डका लागि छुट्याईएको ३ दिन मध्ये १ दिन अन्तर्कृयाको लागि छुट्याईएको भए पनि सेवा सेवाग्राहीको अत्यधिक चापका कारण ३ नै दिन राहदानी, वारेसनामा तथा परामर्श सेवा प्रदान गरिएको थियो।
यस पटक नयाँ आवेदन दिनुपर्ने, पुरानो राहदानीको म्याद १ वर्ष भन्दा कम हुन गइ नविकरण गरिसक्नुपर्ने भएका, हराएका र सच्याउनुपर्ने जस्ता अत्यावश्यक सेवा लिनुपर्नेलाई प्राथमिकता साथ सेवा प्रदान गरिएको थियो भने सेवाग्राहीको सुविधालाई ध्यान दिई आगामी दिनमा सकभर नियमित रूपमा फेरि घुम्ती सेवा सञ्चालन गर्ने दूतावासले जनाएको छ।