रियालिटी शो ‘एनआरएन द सिंगर’ का सेमिफाइनलिस्टहरूको टुंगो लागेको छ।
काठमाडौंमा स्पेस फोर के टेलिभिजनबाट प्रसारण भइरहेको प्रतियोगिता अन्तर्गत १२ जना प्रतिस्पर्धीहरू मध्येबाट अनलाइन भोट र निर्णायकहरूको मूल्यांकनबाट उत्कृष्ट १० जनाको छनोट गरिएको हो।
उत्कृष्ट १० बाट अब ग्रान्ड फिनालेका लागि ५ जना छनोट हुनेछन्। त्यसका लागि अनलाइन भोटिङ खुला भएको कार्यक्रम उत्पादक युनिटेकका सुरज राईले जानकारी दिए।
आयोजकका अनुसार युएई बस्ने भीम शेर्मा लिम्बू, जापान बस्ने कर्मा दोङ तामाङ, पोर्चुगल बस्ने सुवास चन्द्र पुन मगर, हाल कतारमा बसोबास गर्ने लोकेन्द्र दूधराज तथा हाल नर्वे बस्ने विष्णु क्षेत्री अन्तिम १० मा स्थानमा पर्न सफल भएका छन्।
यसैगरी दक्षिण कोरिया बस्ने प्रदीप कोयु राइ, जर्मनी बस्ने केदार कार्की, युके बस्ने युक्ति बलामी, युएई बस्ने कृष्ण खवास र कतार बस्ने गुन मगर निशु पनि अन्तिम १० मा छानिएका छन्। अब उनीहरू उत्कृष्ट ५ मा पर्नका लागि असोज २२ (अक्टोबर ९) सम्मका लागि अनलाइन भोटिङ खुला भइसकेको छ।
ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा
उत्कृष्ट १० बाट ग्रान्ड फिनाले (फाइनल) मा पुग्ने ५ जनाको छनोट गर्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ। ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छन्।
उपाधि जित्नले नगद रु. ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र पाउने छन्।
एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रूपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई (नेपाल), शर्मिला बर्देवा (युके) र रूपककुमार शाही समुदा (अस्ट्रिया) रहेका छन्।
खल्ती एपबाट कसरी भोट गर्ने?
आफूले मन पराएका उत्कृष्ट प्रतिभा छनोट गर्न सबभन्दा पहिले खल्ती एप डाउनलोड गर्नुपर्ने छ। उक्त एप खोलेपछि इन्टरटेन्मेन्ट सेक्सनमा 'एनआरएन द सिंगर' देखिने छ। त्यसपछि आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई ट्याप गरेर भोट गर्न सकिने आयोजकले जनाएका छन्।