नेपाल र इंग्ल्यान्डबीच निर्धारित पहिलो ऐतिहासिक फुटबल खेलमा भाग लिन नेपाली राष्ट्रिय फुटबल टोली लन्डन आइपुगेको छ।
यही मे महिनाको ६ तारिख सोमबार अपराह्न अल्डरसटस्थित इबीबी रंगशालामा हुने इंग्ल्यान्ड सीसँगको खेलका लागि उनीहरू बिहीबार लन्डन उत्रिए।
खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टिम गरी जम्मा ३० जना बेलायत आएका छन्।
बेलायत आइपुग्दा नेपाली राष्ट्रिय टीमलाई यहाँस्थित नेपाली दूतावास र नेपाली समुदायका प्रतिनिधिहरू हिथ्रो विमानस्थल पुगेर स्वागत गरेका थिए।
लन्डन उत्रिएपछि नेपाली टीमका कप्तान किरणकुमार लिम्बूले फुटबलको उद्गमस्थल इंग्ल्याण्डमा आएर खेल्न पाउनुलाई नेपालले लामो समयदेखि प्रतीक्षा गरेको अवसरका रूपमा उल्लेख गरे।
उनले नेपाली खेलाडीले यहाँबाट उपयोगी अनुभव र सिकाइ प्राप्त गर्ने आशा व्यक्त गरे।
अल्डरसट टाउन फुटबल क्लबको आयोजनामा इबीबी स्टेडियममा नेपालले इंग्ल्याण्ड सीसँग ऐतिहासिक खेल खेल्ने भएको हो। उक्त खेल हेर्न ५ हजार बढी नेपाली दर्शक आउने अपेक्षा आयोजकको छ।
खेल सफल पार्न नेपाली समुदायका तर्फबाट कमल कोने गुरूङले संयोजकको भूमिका निर्वाह गरेका छन्।
त्यस्तै, समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछाने, एनआरएनए यूके पूर्व अध्यक्ष सुर्य गुरूङ लगायत कयौं सामाजिक अभियन्ताले विभिन्न तवरले सहयोग गरिरहेका छन्।
नेपाली टोली यही मे ७ तारिख नेपाल फर्किने कार्यक्रम छ।