बेलायतमा नेपालीहरूको आयोजनामा हुने सबभन्दा ठूलो फुटबल इभेन्ट ‘गोर्खा कप’ १४ हजारभन्दा बढीको सहभागितामा उल्लासमय बनेको छ।
तमु धी यूकेको आयोजनामा हरेक वर्ष आयोजना गरिने यो कार्यक्रम अहिले सम्मकै उच्च्च सहभागिता रहेको बताइएको छ। अल्डरसटको क्वीन्स एभिन्यूमा गत आइतबार गोर्खा कप सम्पन्न भएको हो।
गोर्खा कपमा खेलको रूपमा फुटबल प्रेमीहरू मात्र नभएर एउटा मेलाकै रूपमा सपरिवार सहभागी भएर सपिङ खानपान र भेटघाटमा बेलायतभरबाट आएका नेपालीहरूले मनोरन्जन लिएका थिए।
३२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगितामा मेन र भेटेरान दुवै विधामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) का टिम च्याम्पियन बनेका थिए भने महिलातर्फ रनडरबोल्ट एफसी विजेता भयो।
विजेतालाई मुख्य विधामा ३ हजार पाउण्ड, भेटेरानमा १ हजार पाँच सय र महिलामा ६ सय पाउण्ड नगदसहित ट्रफी प्रदान गरियो। उपविजेताले भने मुख्य, भेटेरान र महिला विधामा क्रमशः १ हजार ८ सय, १ हजार र ४ सय पाउण्ड नगद र ट्रफी प्राप्त गरेका थिए।
विजेताहरूलाई प्रमुख अतिथि रश्मोर बरोकी मेयर मारा माकुनारा, लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, स्थानीय बेलायती सांसद लियो डोकेर्टी, तमुधिं यूके अध्यक्ष हरि गुरूङ लगायतले पुरस्कार वितरण गरेका थिए।
स्थानीय सांसद, मेयर, काउन्सिलर, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको गोर्खा कपमा वेल्स, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र नेदरल्याण्डबाट समेत टिमहरू सहभागी भएका थिए।
कार्यक्रमस्थलमा राखिएका नेपाली खाना, नेपाली सामग्रीका साथै विभिन्न व्यापारिक र च्यारिटी गरी झण्डै ५ दर्जन स्टलहरू राखिएको थियो। तमु धी यूकेले विगत २२ वर्षदेखि बेलायतमा गोर्खा कप इभेन्ट आयोजना गर्दै आइरहेको छ।