कोरोना संक्रमणको दर उच्च भएसँगै जारी गरिएको निषेधाज्ञाका कारण दूध विक्री हुन छाडेपछि चितवनका किसानहरूले करोडौं रूपैयाँको नोक्सानी व्यहोरेका छन्।
चितवनमा वैशाख १७ गतेदेखि निषेधाज्ञा सुरू भएको थियो। उक्त दिनदेखि असार मसान्तसम्ममा सहकारी संस्थामार्फत् विक्री हुने दूधबाट मात्रै ११ करोड ७ लाख ८१ हजार ३४२ रूपैयाँ घाटा लागेको दुग्ध उत्पादक बताउँछन्।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले ४५ दिनमा २० लाख ९० हजार २१४ लिटर दूध औपचारिक बाटोबाट विक्री नभएको बताए।
‘यो अवधिमा सहकारी संस्थाहरूले ७७ लाख ९६ हजार २५० लिटर दूध विक्री गर्नुपर्ने थियो तर निषेधाज्ञाका कारण ठूलो परिमाणमा दूध विक्री हुन सकेन,’ उनले भने, ‘किसानले उत्पादन गरेका दूध, दुग्धजन्य वस्तुहरू खेर गइरहेका छन्।’
उनले औपचारिक बाटोबाट विक्री नभएको दूधको किसानले कसरी व्यवस्थापन गरेका छन् भन्ने विषयमा जानकारी नभएको बताए।
चितवनमा दैनिक ३ लाख १५ हजार लिटर दूध उत्पादन हुन्छ। त्यसको ४५ प्रतिशत जिल्लामै र बाँकी अन्य जिल्लामा विक्री हुने गरेको छ।
दुग्ध व्यवसायीहरूका अनुसार अहिले दूधको माग बढी हुने समय हो। यतिखेर उत्पादित दूधले माग धान्न नसकेर पाउडर दूधको प्रयोग हुने गर्दथ्यो। तर निषेधाज्ञाका कारण करिब ५० प्रतिशत दूध तथा दुग्धजन्य वस्तु विक्री हुन नपाएको बगालेले बताए।
दूधका अलावा सहकारीले किसानसँग खरिद गरेको पाउडर, मखनलगायतका दुग्धजन्य वस्तु विक्री नभएपछि किसानलाई नै फिर्ता गर्नुपरेको उनले बताए।
‘यसबाट पनि किसानलाई करोडौं घाटा भएको छ,’ बगालेले भने।
चितवन जिल्ला दुग्ध उत्पादक संघले डेरी उद्योग तथा डिडिसीले नियमितरूपमा दूध खरिद गर्न छाडेपछि किसानहरू समस्यामा परेको जनाएको छ।
‘डिडिसीले नियमितरूपमा दूध लैजान छाड्यो, निजी डेरी उद्योगहरूले मूल्य घटाएर चौपट पारेका छन्,’ संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले भने, ‘किसानलाई घाटै–घाटा छ।’
उनले डिडिसीले प्रतिलिटर ५३ रूपैयाँमा खरिद गर्ने गरेको दूध अहिले डेरी उद्योगहरूले ४० रूपैयाँका दरले माग्ने गरेको बताए।
‘तर उपभोक्तालाई उनीहरूले पहिलेजस्तै ८० देखि ९० रूपैयाँमै विक्री गरिरहेका छन्,’ सापकोटाले भने, ‘किसान पनि मर्कामा, उपभोक्ता पनि मर्कामा छन् विचौलियालाई मालामाल भइरहेको छ।’
उनले विचौलियाहरूले निषेधाज्ञाको फाइदा उठाएर किसानलाई ठगेको बताए।
चितवनमा ११० वटा दुग्ध उत्पादक सहकारी संस्थाहरू रहेकोमा अधिकांश संस्थाले निषेधाज्ञाको समयमा दूधको विक्री वितरण गर्न नसकेको संघले जनायो।
४५ दिनभित्रमा एउटा संस्थालेमात्रै ३७ दिन दूध विक्री गरेको थियो। अन्यले औसतमा १५ दिन दूध विक्री गरे। दुइटा संस्थाले त एक दिन पनि विक्री गर्न नसकेको संघले जनायो।
संघका सहसचिव मणिप्रकाश सापकोटाले डेरी उद्योग तथा डेरी व्यवसायीहरूले मनलाग्दी मूल्य निर्धारण गर्दा विक्रीमा समस्या भएको बताए।
‘उपभोक्तलाई ५० रूपैयाँमा दिने भए त हामी ४० रूपैयाँमै दिन पनि तयार थियौं तर उनीहरूले उपभोक्ताको मूल्य घटाएका छैनन्,’ उनले भने, ‘हामीलाई मात्र मूल्य घटाउन दबाब दिइरहेका छन्।’
घाटा हुँदाहुँदै पनि केही सहकारी संस्थाले बाध्य भएर प्रतिलिटर ४० रूपैयाँमा दूध विक्री गरिरहेको उनले बताए।
संघकाअनुसार चितवनका सहकारी संस्थाबाट अहिले दैनिक २७ हजार लिटर दूध ४० रूपैयाँका दरले विक्री भइरहेको छ।
किसानहरू मर्कामा परेको जानकारी पशु सेवा विभाग, डिडिसीलगायतलाई गराएको भए पनि समस्या समाधानको पहल नभएको भन्दै दुग्ध उत्पादक किसानहरूले समस्या समाधानमा चासो नदेखाए फरक ढंगले अघि बढ्ने बताए।
‘लागत मूल्य भन्दा घटेर किसानले दूध विक्री गर्नुपर्ने अवस्था आउनु हुँदैन। हामीले सबैतिर कुरा राखेका छौं,’ सापकोटाले भने, ‘सुनुवाइ नभए सरकारविरूद्ध उत्रनुपर्ने हुन्छ। हामी पर्ख र हेरको अवस्थामा छौं।’