२०८० मध्य फागुनतिरको कुरा हो।
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई चितवनका कपिल पोखरेलले फोन गरे।
उपाध्यक्ष पाण्डे र पोखरेल पुराना साथी–संगाती पनि हुन्। उनले बेलाबखत फोन गरिरहन्थे।
पार्टीमा खासै भूमिका नभएका पाण्डेलाई पोखरेलले कुरैकुरामा आफू त्रिभुवन विश्वविद्यालयबाट पिएचडीको थेसिस गर्न लागेको सुनाए।
पाण्डेको कान चनाखा भइहाले।
उनले उत्सुकता व्यक्त गर्दै पोखरेललाई सोधे, ‘तपाईं पिएचडी पो गर्दै हुनुहुन्छ!’
‘किन, तपाईंलाई पनि गर्ने इच्छा छ र!,’ पोखरेलले पनि पाण्डेको कुरामा चासो राखे।
‘गरौं कि भन्न लागेको छ, कक्षा पो कहिलेबाट सुरू हुने हो?,’ पाण्डेले जबाफ दिए।
पोखरेलले उपाध्यक्ष पाण्डेलाई एमफिल पिएचडीका लागि फारम खुलिरहेको र आवेदन दिने अन्तिम समयसीमा पनि घर्किनै लागेको बताए।
पाण्डेका अनुसार पोखरेलले फोन गरेर पढ्ने हुटुहुटी जगाइदिँदा एमफिलको फारम भर्ने अन्तिम समयसीमा दुई दिन मात्रै बाँकी रहेछ। पढाइ थाल्ने कि नथाल्ने भनेर उनी अन्यमनस्क भावमा थिए। कक्षा कोठामै बसेर नियमित पढेको अनुभवले नेटो काटेको युग भइसकेको थियो। यसबीचमा पाठ्यक्रम, पाठ्यवस्तु मात्र होइन अध्ययन, अध्यापनको तौरतरिका फेरिइसकेका छन्। प्रविधिमैत्री भइसकेका छन्। अद्यावधिक हुन सकिने हो कि होइन भन्ने चिन्ता पनि थियो।
उपाध्यक्ष पाण्डेले पत्नी पूर्णशोभा चित्रकारलाई सोधे। पत्नी राजनीतिमा पनि चासो राख्छिन्। गैरसरकारी क्षेत्रमा पनि आबद्ध छिन्। भूमिगतकालमा नै उनीहरूको विवाह भएको हो।
राजनीति यात्राबाट घरगृहस्थसम्म पुगेका उनीहरूको पढाइ एकै ठाउँमा पुगेर रोकिएको थियो। राजनीति र घरजीवनको व्यस्तताले पढाइको पाटो ओझेल परिरहेको थियो।
पाण्डेले पत्नीलाई एमफिलमा भर्ना हुने हो भनेर सोधेका के थिए, पूर्णशोभा पनि उत्साहित देखिइन्।
‘मलाईभन्दा बढी पढाइको हुटहुटी उनीमा रहेछ, अहिले नै फारम भरिहालौं पो भन्न थालिन्,’ सेतोपाटीसँगको कुराकानीमा पाण्डेले भने, ‘उनले बडो जोड गरिन्। पढाइ सुरू गरौं कि गरौं भन्दै दबाब नै पो दिन थालिन्। म पनि भर्ना भएँ भने उनलाई आउजाउ गर्न सजिलो हुन्थ्यो।’
पोखरेलले फोन गरेको भोलिपल्टै उपाध्यक्ष पाण्डे दम्पतीले एमफिलका लागि आवेदन थिए। प्रवेश परीक्षामा श्रीमान् श्रीमती दुवैको नाम निस्कियो।
‘प्रवेश परीक्षामा त नाम निस्कियो, अन्तर्वार्ता पनि हुने रहेछ! हामी दुवै जना अन्तर्वार्ताका लागि पुग्यौं,’ पाण्डेले सुनाए, ‘अन्तर्वार्ता लिन प्राध्यापक चैतन्त्र मिश्र उपस्थित हुनुहुन्थ्यो।’
मिश्रले सुरूमै संशय व्यक्त गर्दै तपाईंले साँच्चै पढन् मन गर्नुभएको हो? भनेर सोधेका थिए। जबाफमा आफूले पढ्नै नै भनेर आवेदन दिएको बताएपछि मिश्रले पुनः नियमित आउन सक्नुहुन्छ कि भनेर सोधेको पाण्डेले बताए।
‘त्यपछि मैले सकेसम्म नियमित आउँछु भनेर भनेँ,’ पाण्डेले भने, ‘राजनीतिको पनि जिम्मेवारीमा भएको मानिसले त्यता पनि सोच्नुपर्यो।’
अन्तर्वार्तामा दम्पतीकै नाम निस्कियो। उनीहरू एमफिलका सहपाठी पनि भए।
उनीहरूको कक्षामा ३५ जना विद्यार्थी भर्ना भएका थिए।
नेपालको कम्युनिस्ट आन्दोलनमा लामो बाटो हिँड्दै आएका पाण्डेले लामो समय भूमिगत राजनीति गरे। २०४७ पुस २२ गतेपछि तत्कालीन एमालेको केन्द्रीय कमिटीमा आएका पाण्डे कोअर्डिनेसन केन्द्रदेखि नै पार्टी आन्दोलनमा जोडिएका थिए।
तथापि पढाइप्रति चासो भने उत्तिकै रहेको उनले बताए।
पढाइमा पाण्डे औसतभन्दा माथिकै विद्यार्थी थिए।
१३–१४ वर्षको कलिलो उमेरमै माध्यामिक शिक्षाको खुट्किलो पूरा गरेका पाण्डेले १६ वर्ष पुग्दानपुग्दै प्रवीणता प्रमाणपत्र तह पार गरिसकेका थिए। किशोर वय नकाट्दै स्नातक तहसम्मको अध्ययन पूरा गरिसकेका थिए।
त्यसपछि उनी पार्टी आन्दोलनमा भूमिगत भए। भूमिगत भए पनि अनौपचारिक हिसाबले अध्ययनलाई नियमित नै राखे। अध्ययनको दायरा नबढ्दासम्म राजनीतिको क्षितिज फराकिलो हुँदैन भन्ने उनलाई लागिरहन्थ्यो। भूमिगत राजनीतिक यात्राकै दौरान उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका थिए।
खुला राजनीतिमा आएपछि उनी २०५४ देखि २०६० सम्म राष्ट्रिय सभाको सदस्य भए। २०५६ देखि ६० सालसम्म राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतक थिए। २०६४ देखि ६८ सालसम्म संविधान सभामा दलको उपनेताको जिम्मेवारीमा रहे। २०६६ जेठदेखि २०६७ माघसम्म अर्थमन्त्रीको जिम्मेवारी सम्मालेका थिए। २०७० र २०७४ मा चितवनबाट निर्वाचित भए पनि ०७९ मा पराजित भएका थिए।
त्यहीबेला अनेक टिप्पणी सुन्न परेको उनले बताए।
‘नेताहरूले पढेकै छैनन्। अर्थशास्त्र नै नपढेको मान्छे अर्थमन्त्री बने भनेर अनेक टिप्पणी सुनिथ्यो,’ उनले सेतोपाटीसँग भने, ‘लामो समय भूमिगत राजनीतिमा सक्रिय भएको, खुला राजनीतिमा आएपछि पनि संसदीय क्षेत्रमा क्रियाशील भएकाले मेरो बारेमा धेरैलाई थाहा थिएन।’
उनी अर्थशास्त्र नै नपढेर अर्थमन्त्री भने बनेका थिएनन्। पाण्डेले व्यवस्थापन संकायमा प्रवीणता प्रमाण पत्र र स्नातक तहको पढाइ पूरा गरेका हुन्। दुवै तहमा अर्थशास्त्र अनिवार्य पढ्नुपर्ने हुन्छ।
‘अझ दुवै तहमा मैले अर्थशास्त्र नै मुख्य विषय छनोट गरी पढेको हुँ। तर नपढेको अर्थमन्त्री भनेर गरिएको टिप्पणीले मलाई असाध्यै घोच्यो, त्यसकारण पढाइ नै निरन्तरता दिनुपर्छ भन्ने लाग्यो, संयोग पनि मिल्यो,’ उनले भने।
स्नातकोत्तर तहमा आफूले समाजशास्त्र रोजे पनि विषयका हिसाले अर्थशास्त्र भन्दा टाढा नभएको उनले बताए। विषयगत हिसाबले पनि समाजशास्त्रको पाठ्यवस्तुभित्र अर्थशास्त्र पनि पर्छ।
‘समाजशास्त्र पढ्नुको पनि कारण थिए, अर्थशास्त्र र समाजशास्त्र दुवै समाजका हाँगाबिँगा हुन्। एक हिसाबले यिनीहरूलाई टु इन वन नै भन्न मिल्छ,’ उनले भने, ‘एउटाले नाफा प्रधान हो भन्छ, अर्को समाज प्रधान हो भन्छ।’
अर्थशास्त्र र समाजशास्त्रले समाजकै मनोदशाको सूक्ष्म विश्लेषण गर्ने भएकाले आफूले स्नातकोत्तरमा अध्ययनको बाटो मोडेको उनले बताए।
‘अभिमुखीकरण र अभिव्यक्त गर्ने तौरतरिका मात्रै फरक हुन्, दुवै विषयको प्रकृति उस्तै छ। दुवैको विषयवस्तु समाज हो। समाजको मनोविज्ञान हो। समाजको चेतना हो,’ उनले अर्थ्याए।
एक वर्षसम्म उनी नियमित कक्षामा उपस्थित भएर अध्ययन गरे। पहिलो सेमेस्टरमा उनले कक्षा टप गरेका थिए। दोस्रो सेमेस्टर पनि पाण्डेले नै टप गरे।
त्यसो त उनकी पत्नी पूर्णशोभा पनि उनी सँगसँगै देखिइन्। नियमित कक्षामा उपस्थित भएकाले, असाइनमेन्टहरू पूरा गरेकाले र परीक्षामा प्राप्ताङ्कसमेत राम्रो उनले पनि तेस्रो भइन्।
पाण्डेले बताएअनुसार अब उनले सीधै पिएचडीमा प्रवेश पाउनेछन्। एमफिलको थेसिस लेख्नुपर्दैन। एमफिलका टप ५ जना विद्यार्थीले सिधै पिएचडी पढ्न पाउँछन्।
उनले पिएचडी पढाइ पनि सुरू गरिसकेका छन्।
उनले ‘हाउ द आर्टिफिसियल इन्टेलिजेन्स विल क्रियट द इनकम डिभाइड इन द नेप्लिज सोसाइटी’ विषयमा पिएचडी गर्न लागेको बताए।
‘मैले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) ले कसरी समाजमा धनी र गरिबका बीचमा खाडल (असमानता) पैदा गरिरहेको छ? यसले धनी र गरिबका बीचमा कस्तो अन्तर ल्याउँछ? अवसर पाउने र नपाउनेबीचको फरक कस्तो हुन्छ? त्यसो भयो भने अवसर नपाउनेहरूका लागि राज्यले कसरी अवसर सिर्जना गर्नुपर्छ। यसका लागि कस्तो नीति ल्याउनुपर्छ, या अरू के काम गर्नुपर्छ भनेर मैले अध्ययन गर्छु र सुझाव प्रस्तुत गर्नेछु,’ उनले भने।
अब पनि विश्वविद्यालयमा नियमित उपस्थित भएर पिएचडी पूरा गर्ने उनले बताए।
राजनीतिमा सक्रिय रहनुपरेकाले कक्षा कोठाको पढाइको ग्यापलाई कसरी हटाउने भन्ने चिन्तामा उनमा हुने नै भयो।
त्यसैले राजनीतिबाट बढीभन्दा बढी समय निकालेर अध्ययनका खर्चिएको उनले सुनाए।
हप्तामा चार दिन विश्विद्यालय जानुपर्थ्यो। आइतबार, सोमबार, मंगलबार, बुधबार गरी सातामा चार दिन बिहान ६ बजेदेखि १० बजेसम्म नियमित कक्षा हुन्थ्यो।
‘मैले एउटा कक्षा पनि मिस गरिन। त्यहाँका शिक्षक, विद्यार्थी कसैले पनि कल्पना गरेका थिएनन्,’ उनले सफलताको कारण सुनाए, ‘म केवल विद्यार्थीको हिसाबले प्रस्तुत भएँ, राजनीतिज्ञ वा पूर्वमन्त्रीको हिसाबले होइन। विशेषतः म सिकारूको हिसाबमा प्रस्तुत भएँ। सहपाठीहरूलाई साथीको रूपमा हेरेँ। प्राध्यापकहरूलाई पनि त्यही रूपमा लिएर उहाँले अह्राएको, सिकाएको कुरालाई सुरूचिपूर्वक सुनेँ।’
कक्षामा ३५ जना भर्ना भएकामा २ जनाले परीक्षा दिएनन्, ३३ जनाले अध्ययन पूरा गरे।
नियमित विश्वविद्यालय उपस्थित हुनुका अलावा कक्षामा पूरै समय बिताउने गरेको पनि उनले सुनाए।
कक्षा कोठामा बस्दा पनि आफूले अन्तरक्रिया बढी गर्ने गरेको, पूरै कक्षालाई उत्प्रेरित गर्ने काम गरेको र सिकाइलाई विविधीकरण गर्न प्रोजेक्ट वर्क र प्रिजेन्टेसनमा जोड दिने गरेको अनुभव सुनाए।
‘राजनीतिकको ज्ञान फराकिलो हुन्छ। त्यसको हेराइ फराकिलो हुन्छ। कोर्सको त सीमितता हुन्छ। पाठ्यक्रमको विचारलाई ग्रहण गरेर त्यसआधारमा बुझ्नुपर्ने हुन्छ,’ उनले भने।
राजनीति र समाजलाई अन्तरसम्बन्धित गर्दै बुझ्ने र प्रश्न गर्ने आफ्नो तौरतरिकालाई प्राध्यापक र सहपाठीहरूले राम्रो मानेको उनले बताए।
‘सेमेष्टरको अन्तिममा प्राध्यापकहरूले पनि तपाईं नियमित आउने भनेपछि हामीले अलिकति तयारी गरेर आउनुपर्थ्यो, तपाईंले बीचबीचबाट केही सोध्नुहोला, हामीलाई अप्ठ्यारो पर्ला भनेर हामी सचेत पनि थियौं भन्नुभयो, यसले म अरूभन्दा बढ्दै जिज्ञासु रहेछु भन्ने पनि लाग्यो,’ पाण्डेले अन्तिममा सुनाए।