गुल्मीमा माछा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ रजाली टोलका ४५ वर्षीय तुलसीबहादुर क्षेत्री माछापोखरीमा डुबेको अवस्थामा फेला परेका हुन्।
स्थानीयले मंगलबार साँझ पुरुषले लगाउने टोपी, टिसर्ट, पाइन्ट र चप्पल पोखरीको डिलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त खबरपछि अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस क्याम्प र प्रहरीचौकी मजुवाबाट गएको प्रहरी टोली घटनास्थल पुगेको थियो।
त्यहाँ पुगेपछि हेर्दा खत्रीको शव डुबेको अवस्थामा पोखरीमा भेटिएपछि बाहिर निकालिएको थियो। उक्त पोखरीमा स्थानीय बहुउद्देश्यीय कृषक समूहले माछापालन गर्दै आएको थियो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूले क्षेत्री पोखरीमा कसरी पुगे भन्ने बारे अनुसन्धान भइरहेको जानकारी दिए।
‘उहाँ पोखरीमा एक्लै जानुभएको थियो भन्ने बुझिएको छ, माछा मार्न जानु भएको थियो वा अरू कुनै कामले जानु भएको थियो घटना कसरी भयो भन्ने बारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने।