तपाईं बिउबिजन तथा खेतबारीमा चाहिने मेसिनरी सामान एकै ठाउँमा नपाएर भौंतारिनुभएको छ? कि सामान बिक्री नभएर बजार खोजिरहनुभएको छ?
तपाईंका यी समस्या समाधान गरिदिने माध्यम हुन सक्छ- खेती।
खेती एक अनलाइन बजार हो।
यसमा उपभोक्तालाई दैनिक चाहिने तरकारी-फलफूलदेखि खाद्यान्न र कृषिजन्य सामान पाइन्छ। त्यस्तै किसानलाई चाहिने मल, बिउ तथा सबैखाले मेसिनरी सामानका साथै उनीहरूले उत्पादन गरेका कृषिजन्य वस्तु आफ्नो प्लेटफर्ममार्फत् बिक्री पनि गरिदिन्छ।
किसानदेखि उपभोक्तासम्मको आवश्यकतालाई एकै ठाउँमा पूरा गर्ने उद्देश्यले खेती सुरू गरिएको कम्पनीका सह-संस्थापक न्यूराज कार्कीले बताए।
'किसानले एकै ठाउँमा सामान नपाउनु र उपभोक्ताले पनि तहगत बिचौलियाका कारण महँगोमा सामान किन्नु परेको देखेपछि हामीले खेती सुरू गरेका हौं,' कार्कीले भने, 'हाम्रो मुख्य उद्देश्य उत्पादनदेखि बजारीकरणसम्मको एउटै श्रृंखला बनाउनु हो।'
उनका अनुसार खेतीले सामान बेच्ने मात्र नभई किसानलाई बालीमा देखिएका समस्याबारे सुझाव पनि दिन्छ। खेती लगाउने मौसम लगायत कृषि सम्बन्धी सबै प्रकारका जानकारी गराउँछ। यसका लागि कम्पनीको आफ्नै कृषि विज्ञ समूह छ।
खेतीले अहिले वेबसाइट, सामाजिक सञ्जाल र एपमार्फत् काम गरिरहेको छ। एप भने अहिले एन्ड्रोइड फोनका लागि मात्र उपलब्ध छ। केही समयपछि एप्पल प्रयोगकर्ताका लागि आइओएसमा ल्याउने तयारी भइरहेको कम्पनीका अर्का संस्थापक सुवास भट्टराईले जानकारी दिए।
उनीहरूले खेती सुरू गरेको दुई वर्ष भयो। यसअघि सुवास र न्यूराज दुवै सूचना-प्रविधि क्षेत्रमा काम गर्थे।
किसानले भोगेका विभिन्न समस्या उनीहरूले सुन्दै आएका थिए। यसको समाधानमा आफ्नो तर्फबाट केही सहयोग गर्न सकिन्छ कि भन्ने उनीहरूलाई लागिरहन्थ्यो। तर कसरी, बाटो पहिल्याउन सकेका थिएनन्।
त्यसैबीच उनीहरूको भेट डेभलपमेन्ट भोएज नामक एक संस्थासँग भयो। यसले कृषि क्षेत्रमा काम गरिरहेको थियो। सुवास र न्यूराजले आफूहरूले यसमै काम गर्न खोजिरहेको बताए।
डेभलपमेन्ट भोएजका सञ्चालक तुल्सी गिरी, उषा पौडेल र बसन्त बराल पनि आफूले गरिरहेको कामलाई प्रविधिमा जोड्न चाहन्थे।
दुई टोलीको चाहना र उद्देश्य मिलेपछि उनीहरूले सन् २०१६ मा कृषि भेन्चर प्रालि दर्ता गरे।
पाँच जना मिलेर सुरूमा एक करोड रूपैयाँ लगानी जुटाएका थिए। विस्तारै नयाँ लगानीकर्ता खोज्न देवेशलाल प्रधानको संयोजकत्वमा वित्तीय टिम गठन गरे। उनीहरूले किसानलाई खेतबारीमा आवश्यक उपकरण, मल, बिउ, समस्याबारे सुझाउन खेती फार्मिङ एप बनाए। अनि किसानले उत्पादन गरेका सामग्री बेचिदिन खेती फुड एप।
'हामीले खेती फार्म र खेती फुड दुइटा एप एकैपटक ल्यायौं,' सह-संस्थापक सुवासले भने, 'आवश्यक कृषि विज्ञको समूह पनि बनायौं।'
त्यसपछि उनीहरूले कृषि उपकरण बेच्ने आयातकर्तासँग कुरा गर्न थाले। आफूले गर्न लागेको कामबारे बताए। तर सुरूआती दिनमा उनीहरूलाई निकै समस्या भयो। नयाँ कम्पनी भएकाले व्यापारीको मन जित्न मुश्किल थियो।
'सुरूमा त हामीलाई सामान दिनै हिच्किचाए,' सुवास सम्झिन्छन्, 'आज सामान दिन्छु भनेको मान्छेले भोलिपल्ट फोन नै उठाउँथेनन्। विस्तारै मन जित्दै गयौं।'
उनीहरूले एपका बारेमा गाउँगाउँमा गएर किसानहरूलाई बताउन थाले। सबै चाँजोपाँजो मिलाएर सन् २०१९ फेब्रुअरीमा खेती सञ्चालनमा ल्याए र कुपन्डोलमा कार्यालय खोले। सञ्चालनमा ल्याएको एक वर्ष नपुग्दै कोरोना महामारीका कारण लकडाउन भइदियो।
लकडाउनका सुरूआती दिनमा उनीहरू के-कसो गर्ने भनेर अलमलिए। चारैतिर ठप्प र कोरोना जोखिम पनि धेरै थियो। सामान डेलिभरी गर्ने कि नगर्ने दोधार पनि भयो।
तर उनीहरू आत्तिएनन्। बजारका पसल बन्द भएका बेला अनलाइन कारोबार फस्टाउने अवसर देखे। अनि डेलिभरी गर्न भनेर वाणिज्य विभागबाट छ वटा पास ल्याए।
उनीहरूको सामानको माग पनि बढ्दै थियो। पहिले दुई-तीनटा अर्डर आउनेमा लकडाउनमा दैनिक ५०/६० वटा गर्दै बढिरह्यो।
उनीहरूलाई लाग्यो, पास भएपछि सजिलै डेलिभरी गर्न पाइन्छ।
सोचेजस्तो भएन। बाटोमै ट्राफिकले समाएर राखिदिन थाले।
'लकडाउनमा हाम्रो सामानको माग एकदमै बढ्यो। तर हामीले डेलिभरी गर्न भ्याएनौं,' सुवासले भने, 'कति सामान कुहिएर गयो।'
दोस्रो निषेधाज्ञामा भने डेलिभरीमा केही सहज भएको उनी बताउँछन्।
अहिले खेती फार्मले पचास बढी आयातकर्ता र होलसेल बिक्रेतासँग सहकार्य गरेको छ। त्यस्तै पाँच हजार बढी ग्राहक यसमा जोडिएका सुवासले जानकारी दिए।
ढुवानीमा सहज होस् भनेर यही साउनदेखि खेतीले उपाय सिटी कार्गोसँग सहकार्य गरेको छ।
'डेलिभरीमा सबभन्दा समस्या ढुवानीको हो। हामीलाई बाहिर जिल्लाबाट किसानको सामान ल्याउनु पर्छ,' सुवासले भने, 'सहज होस् भनेर उयाय सिटी कार्गोसँग सहकार्य गरेका छौं। प्रतिस्पर्धी भएर भन्दा पनि सबैसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छौं।'
खेतीले साना तथा घरेलु उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले उनीहरूका उत्पादन खेतीफुड मार्फत बेचिदिन्छ। सुवासका अनुसार यसमा उद्यमीले आफ्ना सामान सूचीकृत गरेको शुल्क लाग्दैन। प्रचारप्रसार गर्नुपरे तोकिएको पैसा तिर्नुपर्छ।
सुवासले खेतीको कामबारे बुझाए, 'हामीसँग सहकार्य गरेका किसानका सामानबारे हामीलाई थाहा हुन्छ। त्यसैले सहज हुन्छ। अन्यले उत्पादन गरेका सामानको भने ग्यारेन्टी दिन सक्दैनौं।'
उनका अनुसार कम्पनीले अहिलेसम्म दस जिल्लाका दस हजार किसानसँग प्रत्यक्ष सहकार्य गरेको छ। ती जिल्लाका बीस वटा सहकारी खेतीमा जोडिएका छन्। नेपालभरिका किसानलाई जोड्ने उनीहरूको सपना हो।
दुई वर्ष अवधिमा खेती पोखरामा आफ्नो शाखा खोल्न सफल भएको छ। देशभरका मुख्य सहरमा शाखा विस्तार गर्दै लैजाने योजना रहेको सुवासले जानकारी दिए।
सूचना-प्रविधिसँग जोडिएका उनीहरू पछिल्लो समय कृषि क्षेत्रमा उपयोगी सफ्टवेयर बनाउन लागि परेका छन्।
'हामीसँग कृषिजन्य उपजको तथ्यांक छैन। कति उत्पादन हुन्छ, विषादीको मात्रा कति छ थाहा हुँदैन,' सुवासले भने, 'त्यो सबै थाहा पाउने प्रणाली बनाउँदै छौं। सन् २०२५ सम्म कार्यान्यवन गर्ने गरी काम गरिरहेका छौं।'
(खेतीको सम्पर्क नम्बरः ९८०२३९३२६०, वेबसाइट लिंक)