अब बाँदर र नीलगाईले बालीमा क्षति पुर्याए राहत पाइने भएको छ। वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० ले यो व्यवस्था गरेको हो।
यो सँगै बालीमा क्षति पुर्याउँदा राहत पाइने वन्यजन्तुको संख्या सात पुगेको छ।
बाँदर, नीलगाई, हात्ति, गैँडा, भालु, जंगली बदेल र अर्ना भैँसीले बालीमा क्षति पुर्याए राहत पाइने भएको हो।
वन्यजन्तुबाट हुने विभिन्न किसिमको क्षतिको राहत वितरण निर्देशिका सूचीमा वन्यजन्तुको संख्या पनि १६ पुगेको छ।
यस्तै, बाँदर र नीलगाई थपिएसँगै वन्यजन्तुको सूचीमा १६ पुगेको छ।
यसअघि १४ वटा जंगली वन्यजन्तुले क्षति गरे राहत पाइने व्यवस्था थियो।
यी वन्यजन्तुबाट मानवीय क्षति, पशुधन क्षति, अन्न भण्डारण क्षति र बाली क्षतिमा राहत दिँदै आएकोमा यो निर्देशिकाले माछा र कुखुरामा समेत क्षति दिने व्यवस्था गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता अजय कार्कीले बताए।
'वन्यजन्तुको सूचीमा बाँदर र गाई त्यस्तै क्षतिपूर्ति दिइने विधामा माछा र कुखुरा थपिएको छ,' उनले भने, 'पहिले अपांगलाई राहत दिइँदैन थियो। अहिले त्यसको पनि व्यवस्था गरेको छ।'
उनका अनुसार वन्यवन्तुको आक्रमणबाट माछा र कुखुरामा पनि धेरै क्षति पुगेपछि राहतको व्यवस्था गरेको हो।
यो निर्देशिका साउन १ गतेदेखि लागु भएको छ।
कस्तो अवस्थामा पाइन्छ मानवीय क्षति?
निर्देशिकाअनुसार वन्यजन्तु मानव वस्तीमा प्रवेश आक्रमण गरेमा, राष्ट्रिय निकुञ्ज वा आरक्ष बाहेक अन्य वन क्षेत्रमा विधिपूर्वक प्रवेश गरी आक्रमण गरेमा र वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनमा खटिएको सरकारी कर्मचारी वा कामदार वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएमा, गम्भीर घाइते भएमा वा सामान्य घाइते भएमा राहत पाइने छ।
त्यस्तै, अनुमति प्राप्त प्रकृति पथप्रदर्शकलाई वन्यजन्तुले आक्रमण गरी मृत्यु भएमा, गम्भीर घाइते भएमा वा सामान्य घाइते भएमा राहत पाइने निर्देशिकामा उल्लेख छ।
कस्तो अवस्थामा पाइन्छ बाली तथा पशु क्षति?
निर्देशिकाअनुसार राष्ट्रिय निकुञ्ज वा आरक्षबाहेक अन्य क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परी घरपालुवा पशुको मृत्यु भएमा र निजी जमिनमा खनिएको पोखरीमा पालन गरेको माछा तथा खोरमा पालिएका कुखुरालाई क्षति पुर्याएमा राहत पाइने छ।
त्यस्तै, प्रयोगमा रहेको घर गोठमा वा गोठभित्र भण्डारण गरेको अन्नमा वन्यजन्तुले क्षति पुर्याएमा र निजी जमिनमा लगाएको बालीमा वन्यजन्तुले क्षति पुर्याएमा राहत पाइने निर्देशिकामा उल्लेख छ।
मानवीय क्षति भएमा सामान्यको हकमा बढीमा २० हजार, गम्भीर घाइतेको हकमा बढीमा दुई लाख तथा सोभन्दा बढी रूपैयाँ खर्च भएमा चिकित्सकको सिफारिसमा सबै रकम दिइने निर्देशिकामा भनिएको छ।
त्यस्तै, अंगभंग भई जीवनभर गम्भीर रूपले शारीरिक अशक्त भएकाको हकमा पाँच लाख रूपैयाँ, र मृत्युको हकमा हकवालालाई एकमुस्ट दश लाख रूपैयाँ दिइने छ।
निर्देशिका अनुसार घरपालुवा पशु (भैँसी वा राँगो वा गोरू, उन्नत जातको गाई, घरपालुवा चौंरी, घोडा, खच्चड) को मृत्यु भएमा मूल्यांकनका आधारमा प्रतिपशु ६० हजार रूपैयाँसम्म राहत पाइने छ।
निजी खोरमा पालेको कुखुरालाई वन्यजन्तुले क्षति पुर्याएमा मूल्यांकनको आधारमा वर्षको एकपटक बढीमा १० हजार रूपैयाँसम्म दिइने छ।
त्यस्तै, घरगोठको क्षति भएमा बढीमा २० हजार, अन्नको क्षति भएमा बढीमा १० हजार, बालीमा क्षति भएमा पुर्याएमा मुल्यांकनका आधारमा एक मौसममा लगाएको बालीको एकपटक र वर्षमा दुई पटकमा नबढ्ने गरी बढीमा १० हजार रूपैयाँसम्म दिइने छ।
तर, सरकारीस्तरबाट पशु वा बालीको बीमा भएमा सोबाट प्राप्त रकम कटाएर राहत दिइने निर्देशिकामा उल्लेख छ।
निर्देशिमा बमोजिम वन्यजन्तुबाट भएको क्षतिको राहतका लागि आवश्यक कागजात संलग्न गरी राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रका हकमा राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रको कार्यालय निवेदन दिनु पर्नेछ।
त्यस्तै, अन्य क्षेत्रमा भए सम्बन्धित डिभिजन कार्यालयमा निवेदन दिनुपर्ने छ। निवेदन भएको एक महिनाभित्र क्षतिपूर्ति पाइने निर्देशिकामा उल्लेख छ।