दुई दशकअघि सतिश श्रेष्ठ बैंकमा काम गर्थे। त्यो बेलासम्म बैंकिङ क्षेत्रमा रमाइरहेकै थिए।
विदेशी लगानीको बैंकको नेपाल शाखामा काम गर्थे उनी। एकदिन बैंकले उनलाई भारतमै गएर काम गर्न भन्यो। सतिशलाई जान मन भएन। उनले जागिरै छाडिदिए।
अब के गर्ने?
सतिशलाई कत्ति पनि अलमल भएन, उनले निधो गरे — अब कृषिमा लाग्छु!
'बैंकमा जागिर गर्दा नै मैले बालाजुको एउटा कुखुरा फार्ममा थोरै लगानी गरेको थिएँ। त्यसैले मलाई कृषिमा आकर्षित गरेको हो,' उनले कृषिमा होमिनुको कारण खुलाए।
कुखुरा फार्ममा लगानी थोरै भए पनि नाफा राम्रै थियो। व्यवस्थित तरिकाले फार्म सञ्चालन गरे अझै फाइदा लिन सकिन्छ भन्ने उनलाई लाग्यो।
रूपन्देहीमा जग्गा खोजे। एक करोड रूपैयाँ लगानी जुटाए। त्यो बेला अहिलेजस्तो फार्ममा काम गर्ने कृषि प्राविधिक सहजै पाइँदैन थियो। भारत र बंगलादेशबाट प्राविधिक बोलाए। ह्याचरी सम्बन्धी तालिम लिन उनी आफैं पनि विदेश गए।
सबै तयारी भएपछि दुई हजार माउ कुखुरा राखेर सन् २००२ मा उनले खोले 'श्रीनगर एग्रो फार्म'।
चल्ला, कुखुरा र अण्डा बेच्न बजारको समस्या भएन। वरिपरि र छिमेकी जिल्लाका किसानले लगे। थोरै समयमै फार्मले राम्रो व्यापार गर्यो। उनी हौसिए। केही वर्षको अन्तरालमै थप तीनटा फार्म खोले।
'सञ्चालन भएको आठदेखि दस वर्षको बीचमै यी फार्म विस्तार गरेका हौं,' उनले भने।
सतिश यतिमै रोकिएनन्।
श्रीनगर एग्रोले आफ्नै प्रयोगका लागि मात्र दाना उत्पादन गर्थ्यो। किसानहरूबाट माग आइरहेपछि सन् २०१३ देखि भने व्यावसायिक रूपमै उत्पादन थाल्यो।
'युरोपबाट मेसिन ल्याएर दाना उत्पादन सुरू गरेका थियौं,' उनले भने।
दानाको बजार राम्रो भयो। मेसिनले एक घन्टामा पाँच टन दाना उत्पादन गर्न सक्थ्यो। उत्पादन क्षमताको ९० प्रतिशत चल्न थालेपछि अर्को मेसिन थपे। त्यसको क्षमता घन्टामा दस टन दाना उत्पादन गर्ने थियो। श्रीनगर एग्रोका कुखुरा जहाँ जहाँ बिक्थे, दाना पनि त्यहीँ जान्थ्यो।
बजार मागसँगै कम्पनीले परिमाण बढाउँदै लग्यो। किसानलाई ढुक्क भएर कुखुरा पाल्न चल्ला, दाना, औषधि-खोप र प्राविधिक सरसल्लाह चाहिन्छ, त्यो पनि व्यवस्था गरिदियो।
कम्पनीले माछाले खाने दाना पनि उत्पादन गर्छ। सुरूमा पानीमा डुब्ने दाना उत्पादन भइरहेको थियो। पछि पानीमा तैरिने दानाको माग धेरै भएकाले यसमा पनि लगानी गरेको सतिशले बताए।
'डुब्ने दाना त कुखुराको दाना बनाउने उद्योगबाटै उत्पादन हुन्छ,' उनले भने, 'तैरिने दानाको माग भएपछि छुट्टै मेसिन जडान गरेर उत्पादन थाल्यौं। यो मेसिनबाट महिनामा एक सय २५ टन दाना उत्पादन गर्न सकिन्छ।'
जिउँदा चल्ला, कुखुरा, अण्डा र दाना बेच्दै आएको कम्पनीले अब नयाँ अवधारणामा काम गर्ने तयारी गरेको छ — व्यावसायिक रूपमै कुखुराको मासु बेच्ने।
सतिशका अनुसार मासु पसल वा बजारमा लगेर सिधै बेचिने होइन। यो मुख्यगरी भण्डारणको अवधारणा हो। बध गरिएको कुखुराको मासु भण्डारण गर्न उपयुक्त वातावरण र प्रविधि तयार राखिनेछ। जब बजारमा आवश्यक पर्छ, तब पठाइन्छ।
यो अवधारणा सतिशलाई कोरोनाकालमा फुरेको हो। महामारी चलेका बेला कुखुरा बिकेको थिएन। एकातिर कुखुरा खेर जाने समस्या भयो, अर्कातिर चल्ला बिक्न छाडे।
'जबसम्म किसानका खोरमा भएका कुखुरा बजारमा जाँदैनन्, हामीले उत्पादन गरेको चल्ला पनि बिक्दैन,' उनले भने, 'कोभिडको समयमा कुखुरा नबिकेर कतिपय किसान यो व्यवसायबाट पलायन नै भए। बध गरे राख्न सक्ने प्रणाली भएको भए त्यस्तो अवस्था आउँदैन थियो।'
कुखुरा बध गरेर राख्न कम्पनीले बुटवल औद्योगिक क्षेत्रमा ठाउँ लिइसकेको छ। आगामी तीन-चार महिनाभित्रै कोल्ड स्टोरेज तयार हुने उनले बताए।
हाल श्रीनगर एग्रोको पाल्पामा एउटा र रूपन्देही (बुटवलमा) दुइटा फार्म छ। कोरोनाको प्रभावले रूपन्देहीको एउटा फार्म बन्द भयो।
कम्पनीमा प्रत्यक्ष रूपमा तीन सय जनाले रोजगारी पाएका छन्। बीस-बाइस जनाको प्राविधिक समूह छ। फार्मका उत्पादनर चालीसभन्दा बढी जिल्लामा बिक्छ।
कम्पनीले करार खेती पनि सुरू गरेको छ। यसअन्तर्गत किसानलाई चल्ला, दाना र प्राविधिक कम्पनीले उपलब्ध गराउँछ। चल्ला र दानाको निश्चित भाडा लिन्छ। खोर मात्र किसानले बनाउनुपर्छ। अरू लगानी पर्दैन। उनीहरूले उत्पादन गरेको कुखुरा पनि कम्पनीले नै किन्छ।
'किसानलाई बजारको चिन्ता हुँदैन,' सतिशले भने, 'कम्पनी र किसान दुवैलाई फाइदा हुने किसिमले यो अवधारणामा काम सुरू गरेका हौं। ठूलो स्तरमा र महिलाबाट सञ्चालित फार्मलाई प्राथमिकता दिएका छौं।'
अहिले करार खेतीअन्तर्गत फार्म नजिकैका करिब दुई सय किसान जोडिइसकेका छन्। हप्तामा दस हजार चल्ला किसानलाई पठाइरहेको उनले बताए। किसानसँग डिलर मोडलमा काम गर्ने योजना पनि छ।
यसरी कुखुरा पालन हुँदै कृषिका विभिन्न क्षेत्रमा काम गर्दै आएको यो कम्पनी अहिले 'श्रीनगर एग्रो ग्रुप' बनिसकेको छ।
एक करोडमा सुरू भएको यो कम्पनीको कुल लगानी दुई अर्ब नाघिसकेको सतिशले बताए।
'जे सोचेर यो पेसामा आएको थिएँ, त्यो सोच सही सावित भएको छ,' सतिशले भने, 'बीचमा भुइँचालो, कोरोनाजस्ता बाधा नआएका होइनन् तर अहिलेसम्म सफलता नै मिलेको छ।'
श्रीनगर एग्रो ग्रुप पब्लिक कम्पनी पनि बनिसकेको छ। अर्को वर्ष आइपिओ खोल्ने तयारी हुँदैछ।
उनले भने, 'अब हामी सेयर बजारमा प्रवेश गर्ने तयारीमा छौं।'
सरकारले कृषि र किसानलाई सहयोग गरे यो पेसामा आकर्षण बढ्ने उनी बताउँछन्। कृषिलाई प्राथमिक क्षेत्र भनिए पनि व्यवहारमा किसानले अनुभूति हुने गरी सुविधाहरू नभएको उनले बताए।