दाङ तुलसीपुर उपमहानगरपालिका–४ घोरानेटीकी ५० वर्षीया सीता केसी पति शोकको पीडामै थिइन्। उनका पति बितेको दुई महिना पनि पुगेको थिएन।
यो माघको कुरा हो।
त्यतिखेर दुई/तीन जना नचिनेका मानिस उनको घरमा आएका थिए। उनीहरूले केसीलाई कुखुरा पालेर मनग्य फाइदा लिन सकिने कुरा सुझाए। केसीले आफ्नो अवस्था बताइन्। घरमै खपतका लागि केही लोकल कुखुरा पाल्दै आएकी केसीले छोरा विदेशमा रहेको हुँदा आफू र बुहारीले थप पाल्न नसक्ने अवस्था सुनाइन्।
केसीको घरमा आएको त्यो समूहले आफूहरूले दिने चल्ला पाल्नेहरूका कुखुरा बेच्नका लागि तयार भएपछि प्रति केजी सातदेखि नौ सय रुपैयाँमा आफै आएर किनेर लैजाने पनि आश्वासन दिए। ती चल्ला ‘चाइनिज लोकल कुखुरा’ भएको र त्यसको बजार मूल्य उच्च रहने दाबी त्यो समूहको थियो।
साथै, उनीहरूले आफूहरूलाई विदेशबाट सित्तैमा अनुदान प्राप्त हुने हुँदा केसीलाई एउटा बोयर जातको बोका र एउटा बाख्रो नि:शुल्क रूपमा अनुदानमा उपलब्ध गराउने पनि भने।
‘तपाईं एकल महिला हुनुहुँदो रहेछ एक सय चल्ला पाल्नुहोस् तीन चार महिनाभित्रै पाँच लाख जति कमाउनु हुन्छ,’ घरमा आएका मुख्य मानिसले भनेको कुरा स्मरण गर्दै केसीले भनिन्, ‘हामी तपाईंलाई नि:शुल्क रूपमा अनुदानमा एउटा बोयर बोका र एउटा बाख्रो उपलब्ध गराउँछौं भनेर प्रलोभनमा पारे।’
त्यसपछि सीतालाई अफरै अफरको प्याकेजले नलोभ्याउने कुरै भएन। तर उनलाई अझै विश्वास लागेको थिएन। तर गाउँकै एक जना युवती बालिका थापाले उनको शंकाको भ्रम चिर्ने भूमिका निर्वाह गरिन्।
अपरिचत अनुहारसँग आएकामध्ये एक जना गाउँकै चिनजानकै युवतीले आफूलाई ‘जनता बहुउद्देश्य एग्रो फरेष्टी प्रालि वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतको आधिकारिक प्रतिनिधि’ रहेको भन्दै ढुक्क हुन केसीलाई विश्वस्त हुन आग्रह गरेकी थिइन्।
त्यसपछि केसी ३० वटा चल्ला किन्न सहमत भइन्। तर, त्यो समूहले केसीलाई अनेक प्रलोभनमा पारी ७० वटा चल्ला प्रति वटा तीन सयका दरले किन्न तयारी बनायो। त्यही अनुरूप फारम भरी ल्याप्चे लगाउन पठायो। फर्म भरेबापत भनेर एड्भान्स भन्दै अग्रिम केसीसँग दुई हजार रुपैयाँ सोही दिन लगिहाले।
त्यही समूहले हप्ता दिनमा चल्ला ल्याइदियो। उधारो हुँदैन भनेपछि केसीले गाउँकै समूहबाट दुई प्रतिशत ब्याजदरमा १८ हजार ऋण ल्याई चल्ला किनेको पैसा तिरेकी थिइन्।
‘मैले एक्काइस हजारको चल्ला किनेकी हुँ र आजसम्म सहत्तरी हजारको दाना खुवाइसकेँ,’ केसीले भनिन्, ‘अब कसरी पालिरहने छोराले विदेशबाट गाली गरिरहन्छ।’
गाउँकै समूहबाट लिएको १८ हजार ऋण केसीले छोरासँग मागेर तीन महिनापछि ब्याजसहित वैशाखमा मात्रै बुझाउन सकेकी थिइन्।
केसीले ७० वटा चल्ला किने पनि हाल उनको घरमा ५५ वटा कुखुरा मात्रै छन्। अरू यो बीचमा मरिसके। एउटा कुखुराको तौल चार केजीभन्दा बढी रहेको केसीले बताइन्।
पालेका चल्ला हुर्केपछि आफै प्रतिकेजी सात सयदेखि नौ सयमा खरिद गर्ने आश्वासन दिने व्यक्ति सुर्खेतको वीरेन्द्रनगर–१० ठेगाना उल्लेख निर्दोष सिंह भन्ने थिए। जो जनता बहुउद्देश्य एग्रो फरेष्टी प्रालि वीरेन्द्रनगर नगरपालिका – १० सुर्खेतको आधिकारिक प्रतिनिधि भनेर आएका थिए।
तर, आज निर्दोष सिंह सम्पर्कविहीन भएपछि आफू ठगिएको कुरा केसीले बल्ल चाल पाइन्।
‘म जस्ती सोझी महिलालाई प्रलोभनमा पारी फसाएर चल्ला पाल्न लगाए,’ उनले आँसु पुछ्दै भनिन्, ‘आज बजार मूल्य सोध्दा यो कुखुरा क्वाइलर (गिरिराज) जातको हो भन्छन्। किलोको दुई सयभन्दा बढीमा किन्न सकिँदैन भन्छन् आजसम्म ऊ सम्पर्कविहीन छ अब त्यो ठगलाई के गर्ने ?’
कुखुरा हुर्काउन र बढाउन चाहिने दाना किन्ने पैसा पनि नहुँदा केसीले स्थानीयसँग दुई चार हजार ऋण साहु गरेरै भए पनि कुखुरा हुर्काएको बताइन्।
‘बजारमा दुई सय रुपैयाँ किलो भन्छन्,’ केसीले भनिन्, ‘हामीले साढे दुई सय ग्रामलाई ६ सय रुपैयाँमा किनेका हौं भने डेढ/दुई सयमा खरिद गर्दा हाम्रो दुःख पनि उठ्दैन।’
त्यस्तै, अफरै अफरको योजना लिएर तुलसीपुर– ४ कै ५७ वर्षीय धनबहादुर पुनलाई पनि सोही समूहले एउटा चल्ला तीन सयको दरले एक सय चल्ला त्यस्तै प्रलोभनमा पारी बेचेको थियो।
पुनसँग अहिले ७५ वटा बेच्न लायक कुखुरा छन्। प्रत्येक कुखुराको तौल तीनदेखि चार केजीको बीचमा छ। स्थानीय ५४ वर्षीय रुद्रप्रसाद खनाल पनि त्यस्तै आश्वासनमा परी तीन सयका दरले १५ हजारका चल्ला किनेका थिए। आज उनीसँग बेच्न लायक ३९ कुखुरा छन्।
तुलसीपुर–४ घोर्नेटीका अपाङ्गता भएका ३३ वर्षीय नमराज कँडेललाई त्यो समूहले विभिन्न प्रलोभनमा पारी १५ हजारको ५० चल्ला किन्न उकास्यो। यो बीचमा अरू मरे पनि कँडेलसँग अहिले ३५ कुखुरा चार केजीभन्दा माथिका बेच्नका लागि तयार छन्। तर, पाल्न लगाउने मान्छे सम्पर्कविहीन भएपछि उनी पनि चिन्तित छन्।
उनीहरू मात्रै होइन यो वडाका ४५ जनाभन्दा बढी किसानलाई सुर्खेतका सिंहको समूहले यसैगरी अनेक प्रलोभनमा पारी झन्डै १५ लाख बढीको चल्ला हप्ता दिनमै बेचेको स्थानीय बताउँछन्।
उनीहरू यहाँका सर्वसाधारण किसानलाई कुखुरा पाल्न खोर बनाउन खर्च भएको रकममध्ये आधा उपलब्ध गराउने, पाल्ने क्रममा जति चल्ला मर्छन्। सट्टामा नि:शुल्क रूपमा त्यति नै चल्ला उपलब्ध गराउने, औषधि उपचार खर्च पनि ब्यहोर्ने, बेच्नलाई तयार भएको कुखुरा मरेपछि बीमाबापत क्षतिपूर्ति उपलब्ध गराउने, बेच्न तयार भएपछि प्रति कुखुरा प्रतिकेजी सातदेखि नौ सयका दरले आफैले खरिद गर्ने आश्वासन बाँडेको तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले बताए।
‘त्यो समूहले त्यसरी चल्ला पाल्नेलाई नि:शुल्क रूपमा बोयर जातको एउटा बोका र बाख्रा उपलब्ध गराउने आश्वासन बाँडेको पाइयो,’ उनले भने, ‘मैले यो कुराको सुइँको पाएपछि स्थानीयलाई सम्झाउन खोज्दा उल्टै मलाई उनीहरूले कसैले राम्रो गर्दा शंका गर्ने भन्दै हप्काएका थिए। आज बल्ल ठगिएको कुरा गर्दै रून थालेका छन्।’
बोयर बोका अनुदानको प्रलोभन देखाएर ५५ रुपैया पाइने कुखुराको चल्ला एउटालाई तीन सयमा बिक्री गरेर ठगी गरेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसीराम थापाले बताए।
सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने समूहलाई के गर्ने भन्ने बारेमा किसानसँग छलफल भइरहेको वडाध्यक्ष थापाले बताए।
दाङको तुलसीपुर उपमहानगरपालिका– १३ का वडाध्यक्ष मोहन पौडेलले भने एक महिना पहिला मात्रै यही समूहलाई आफूले आफ्नो वडाबाट लखेटेको सेतोपाटीलाई बताए।
यस्तै, अनेक प्रलोभन देखाउँदै स्थानीय केही किसानबाट अग्रिम रूपमा भुक्तानी लिएको १५ हजार रकमसहित त्यो समूहलाई वडाध्यक्ष पौडेलले सुराकका आधारमा वैशाख महिनामा प्रहरीलाई नियन्त्रणमा लिन लगाएका थिए। नियन्त्रणमा लिई प्रहरीमा सोधपुछपछि उक्त समूहबाट वडाध्यक्ष पौडेलले स्थानीयको १५ हजार रुपैयाँ फिर्ता गर्न लगाएका थिए।
‘प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई सोधपुछ गर्ने क्रममा उनीहरूको संस्थाको आधिकारिकता पुष्टि हुने कुनै आधार नदेखिएपछि उनीहरू सर्वसाधारणबाट संकलन गरेको रकम फिर्ता गरी फरार भएका हुन्,’ पौडेलले भने, ‘हामीलाई पहिले थाहा नै भएन पछि यो ठगी गर्ने समूह रहेछ भन्ने कुरा थाहा भयो।’
तुलसीपुरको वडा नं. ४ र वडा नं. १३ यी दुवै वडा वन जंगल क्षेत्रमा पर्ने विकट वडा हुन्। यो समूहले सोझा साझा मानिसहरूको पहिचान गरी औसतमा ५० देखि ५५ रुपैयाँमा किन्न पाइने चल्लाका बच्चाहरू एउटालाई प्रति चल्ला तीन सयमा बेचेर किसान माथि ठूलो ठगी गरेको प्रहरी प्रशासन पनि बताउँछ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले पहिले बाँडेको आश्वासन अनुसार ‘जनता बहुउद्देश्य एग्रो फरेष्टी प्रालि वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत’ को नाममा ठगी भएको देखिए पनि त्यसको लागि पुग्ने सबुत प्रमाण भने किसानले उपलब्ध गराउन नसकेको बताए।
‘त्यो समूहले मौखिक रूपमा मात्रै आश्वासन बाँडेको देखियो र दुई पक्षका बीचमा त्यस्तो सम्झौता भएको देखिएन,’ उनले भने, ‘पीडित किसानहरू हामीकहाँ गुहार माग्न आउनु भएको हुँदा सरकारी वकिलसँग राय सल्लाह लिएर मात्रै कसरी अगाडि बढ्ने भन्ने कुरा यकिन गर्ने पक्षमा हामी छौं।’
झन्डै ५० हराहारीमा किसानले आएर ठाडो उजुरी दिए पनि के गर्ने र कसरी अगाडि बढ्ने भन्ने बारेमा राय लिन बाँकी रहेको मल्लले बताए।
‘ठगी मुद्दा चलाउनलाई दुई पक्षका बीचमा लेनदेन भएको देखिने गरी कुनै सम्झौता भएको कागजात उपलब्ध छैन,’ उनले भने, ‘एग्रो प्रालिका नाममा प्रलोभन देखाएर किसानलाई ठगेको भन्ने छ र यहाँनिर किसान पनि बुझ्दै नबुझी छिट्टै कमाउने प्रलोभनमा पर्दा समस्या भएको खुल्छ।’
सुर्खेतमा प्रालि रहेको निर्दोष सिंहको समूह चल्ला बेचेपछि केही समय किसानको सम्पर्कमा रहे पनि कुखुरा बेच्नका लागि तयार हुँदै गर्दा सम्पर्कविहीन बेनेको थियो। किसानसँग गरेको सम्झौता उसले कुनै पनि पालना गरेको देखिँदैन।
यही विषय लिएर पटक–पटक इप्रका पुगेका किसानको गुनासोका आधारमा प्रहरी निरीक्षक नवराज केसी एग्रो प्रालिकी स्थानीय प्रतिनिधि बताउने बालिका थापा हुँदै त्यसका प्रमुख निर्दोष सिंहसँग पुगेका थिए।
केसीले सुर्खेत प्रहरीको सहयोगमा वैशाख २६ गते निर्दोष सिंहलाई इप्रका तुलसीपुर झिकाएर किसानसँग सम्झौता गराएका थिए। त्यो सम्झौता अुनसार जेठ ८ गतेभित्रै निर्दोष सिंहले किसानका सबै कुखुरा आफै उठाएर लैजान वाचा प्रहरी समक्ष गरेका थिए।
तर, सिंह जेठ महिना सुरू हुनुभन्दा पहिले नै सम्पर्कविहीन बनेपछि फेरि किसान प्रहरीसमक्ष जान बाध्य भएका छन्।
प्रहरी पनि लिखित रूपमा एग्रो प्रालि सञ्चालक सिंह र किसानका बीच कुनै पनि कागज वा लेनदेन नभएको हुँदा के गर्ने? भन्ने दोधारमा देखिएको छ।