दाङको घोराही उपमहानगरपालिका–१६, तेरौटे गाउँमा चार बिघा जमनिमा दुई वर्षयता ‘सुन कागती–१’ प्रजातिका १५ सय बिरूवा हुर्किंदै छन्। यीमध्ये आधाभन्दा बढी बिरूवामा फल लाग्न सुरू भएको छ।
कागती खेती गर्ने कृषक हुन् स्थानीय बासिन्दा ४० वर्षीय प्रतीकराज लोहनी। पढाइले उनी इन्जिनियर हुन्। इन्जिनियरका रूपमा १० वर्षभन्दा बढी काम गरे।
चार बिघा जमिन चार खण्डमा विभाजन गरेर तारबारले घेरेका छन्। चारै खण्डका लागि अलगअलग प्रवेशद्वार राखेका छन्। ढुवानीमा सजिलो होस् भनेर चार वटा द्वार राखेको भन्छन्। चार–चार मिटरको दूरीमा बिरूवा रोपेका छन्।
‘तेरौटे कागती फर्म’ नाम राखेर व्यावसायिक कम्पनी दर्ताको प्रक्रियामा अघि बढेका छन्।
कागती खेतीको जमिन केही आफ्नो र केही भाडाको हो। हाल वार्षिक ६६ हजार रुपैयाँ भाडा तिर्दैछन्।
प्रतीकराजले कागती बगैँचाको बीचमा आफ्ना लागि एउटा घर पनि बनाएका छन्। बगैँचामा ठाउँ-ठाउँमा सिसी टिभी क्यामेरा जडान गरेका छन्। दुई वर्षयता उनको बसाइ बगैँचामै छ।
उनी बगैँचा हेरचाहमा खट्छन्। दुई जना सहयोगी कर्मचारी छन्। बढी काम गर्नुपर्दा आवश्यकताअनुसार दैनिक ज्यालामा काम गराउँछन्। यसरी काम गर्ने स्थानीयवासी नै हुन्छन्।
भूमिगत पानी तानेर बिरूवामा थोपा सिँचाइको प्रबन्ध गरेका छन्। खेती नजिकै रहेको पुर्ख्यौली घर पनि जीर्णोद्वार गर्दैछन्।
उनी अब गाउँमै बस्ने र खेतीमै लाग्ने निष्कर्षमा पुगेका छन्। भन्छन्, ‘अबको जीवन कृषि कर्म गर्दै यतै (गाउँमै) बिताउने हो, यतै रमाउने हो।’
प्रतीकराज १३ वर्षको उमेरमा अमेरिका पुगेका थिए। स्कुल र कलेजको पढाइ उतै पूरा गरे। सिभिल इन्जिनियर भए। अमेरिकामा इन्जिनियरकै रूपमा केही वर्ष काम गरे। स्वदेश फर्केर पनि निजी क्षेत्रका जलविद्युत आयोजनामा काम गरे।
विनाशकारी भूकम्पको समयमा उनले बारपाक र अन्य केही ठाउँमा काम गरे। धेरैजसो बसाइ काठमाडौंमा हुन्थ्यो। काठमाडौंमा आफ्नै घरमा बस्दा पनि उनको मन खुसी हुन सकेको थिएन। इन्जिनियर भएर सेवा गर्दा पनि मनमा सन्तोष भएन।
बेखुसी र असन्तोषको खास कारण थियो। तेरौटेमा उनको पुर्ख्यौली घर र जग्गाजमिन छ। यतातिर आउँदा उत्पादनशील जमिन बाँझो देख्थे।
उनले भने, ‘जताततै जमिन बाँझो देखेर मेरो मन कुँडिन्थ्यो। यस्तो उत्पादनशील जमिन कसरी उपयोग गर्ने होला भन्ने सोचाइ आउँथ्यो।’
उनी किसानका लागि प्रेरक हुन सक्ने कृषि कर्म गर्न चाहन्थे। कोरोना भाइरस संक्रमण महाव्याधि (कोभिड–१९) का कारणले लकडाउन भएको समयमा सबैझैं उनी पनि फुर्सदिला भए। त्यही समय उनले कागतीबारे खोज गर्ने अवसर पाए। फलफूल र तरकारी खेती सम्बन्धी किताबहरू पढे।
कागतीबारे पढ्दै जाँदा उनले अरू फलफूलको तुलनामा आर्थिक हिसाबले बढी लाभदायक हुने, रोग–कीराको असर कम हुने, तुरून्तै बजार पुर्याउन नसके जोगाएर राख्न सकिने र रोपेको तीन वर्षमै उत्पादन लिन सकिने थाहा पाए।
उनले कृषिका जानकारहरूसँग सोधखोज गरे। त्यही क्रममा सुन कागती–१ तराई क्षेत्रमा राम्रो उत्पादन हुने र सरकारले पनि सिफारिस गरेको थाहा पाए।
उनी चितवन लगायत तराईका केही ठाउँमा गएर जानकारी लिए। आफ्नो खोजपछि कागतीको खेती गर्ने निष्कर्षमा पुगे।
प्रतीकराजका एक जना साथी परासीमा कृषि व्यवसायमा थिए। उनले साथीलाई भेटेर परामर्श लिए। साथीले कागतीको खेती गर्न र लोकल कुखुरा पाल्न सल्लाह दिए।
अन्ततः उनले बाँझो बसेको आफ्नो जमिनसँगै भाडामा समेत लिएर आर्गानिक तरिकाले कागती खेती गर्ने निर्णय गरे।
दुई वर्षअघि साउनमा पर्वत जिल्लाबाट कागतीका बिरूवा ल्याएर रोपे। उनका अनुसार पर्वतबाट ल्याएर रोप्दासम्ममा एउटा बिरूवाको खर्च करिब दुई सय रुपैयाँ पर्न गयो।
कागतीमा उनी पूर्ण रूपमा प्रांगारिक मल प्रयोग गर्छन्। गोबर र झारपातबाट आफै प्रांगरिक मल बनाउँछन्। काठमाडौं बस्दा पनि कौसीखेती गरेका थिए, आफै प्रांगारिक मल बनाउँथे।
‘मैले कहिल्यै रासायनिक मल प्रयोग गरेको छैन। जुनसुकै भए पनि रासायनिक मल स्वास्थ्यका लागि खराब हुन्छ,’ उनी भन्छन्, ‘मैले उत्पादन गरेका फलफूल म आफू पनि उपभोग गर्छु। अरूले पनि निर्धक्क उपभोग गर्न सकून् भन्ने मेरो चाहना हो।’
अबको एक वर्षपछि कागती बेच्न थाल्ने उनको योजना छ। एउटा बोटले एक वर्षमा सरदर कम्तीमा ५ किलो कागती दिनेछ भन्ने उनको विश्वास छ। यसो भयो भने उनले १५ सय बोटबाट वार्षिक ७ हजार ५०० केजी कागती बेच्नेछन् तर उनले १२ सय बोट सम्मको उत्पादन अपेक्षा गरेका छन्।
उनी भन्छन्, ‘मेरो विश्वासअनुसार उत्पादन भयो मलाई पुग्छ।’
उनका अनुसार कृषिबाट कमाइ गर्नु त छँदै छ तर उनको उद्देश्य कमाइ मात्र होइन।
भन्छन्, ‘कमाउनुभन्दा पनि आफ्नै ठाउँमा काम गरेर रमाउनु र अरूका लागि उदाहरण बन्नु मेरो उद्देश्य हो।’
कृषि कर्म सधैंको आवश्यकता हो भन्ने उनको धारणा छ। उनका अनुसार कुनै व्यक्तिले कृषि कर्म गर्नु वा नगर्नु व्यक्तिगत स्वतन्त्रताको कुरा भए पनि उत्पादनशील जमिन बाँझो बस्नु राज्यका लागि ठूलो घाटा हो।
उनलाई जुनसुकै बेला अमेरिका जान पाउने सुविधा छ। काठमाडौंमा घर छ तर उनी दाङको पुर्ख्यौली थलोमै रमाउन चाहन्छन्।
‘म जुन बेला पनि अमेरिका जान पाउँछु। यहाँ (नेपालमा) बस्दा काम नगरी खान लाउन पुग्ने सम्पत्ति छ,’ उनी भन्छन्, ‘यसो भनेर म मोजमस्तीमा रमाउन चाहन्नँ। कृषिमा काम गर्न चाहन्छु। अमेरिका पनि जान्छु तर उता बस्दिनँ, घुमफिर गरेर आउँछु।’
प्रतीकराजका लागि कागती खेती व्यावसायिक कृषिको सुरूआत हो। उनी क्रमशः विविधता थप्दै अघि बढ्ने योजनामा छन्। कागतीको काम सुरू गरेपछि आफ्नो साढे एक बिघा जग्गामा बासमती धान पनि रोप्न थालेका छन्।
‘हामी खेती त गरिरहेका छौं तर त्यो परम्परागत र गुजारामुखी मात्रै छ। अलि ठूलो परिमाणमा गरौं, व्यावसायिक रूपमा गरौं,’ उनी भन्छन्, ‘उत्पादन भएपछि व्यापारी आफै आउँछन्। उचित मूल्य पनि प्राप्त हुन्छ।’