कुनै बेला खासै नरूचाइने कोदो अहिले सहरी बासिन्दाका लागि स्वादिलो बन्दै गएको छ। सानादेखि ठूला तारे होटलको मेनुमा 'विशेष परिकार' का रूपमा कोदोका पकवान समेटिन थालेको धेरै भइसक्यो।
पछिल्ला केही वर्षयता रैथाने परिकार मात्रै पाइने होटल-रेस्टुरेन्ट पनि धमाधम खुलिरहेका छन्। यिनीहरूको मेनुमा पनि अधिकांश परिकार कोदोका हुन्छन्।
सरकारले पनि परम्परागत, प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बिउ संरक्षण गरी खेती विस्तार गर्ने नीति लिएको छ।
संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष घोषणा गरेपछि विश्वकै ध्यान यसमा केन्द्रित भएको छ।
कोदोजन्य बालीभित्र कोदो, चिनो, कागुनो, जुनेलो लगायत पर्छन्। यहाँ भने हामीले कोदोबारे चर्चा गरेका छौं।
राष्ट्रिय कृषक समूह महासंघले २०७३ सालदेखि हरेक साउन १५ गते सरोकारवालाहरूको सहभागितामा कोदो बहस गर्दै आएको थियो। २०७८ सालमा पहिलोपटक टोखामा कोदो दिवस मनाइयो। त्यसयता हरेक वर्ष साउन १५ लाई कोदो दिवसका रूपमा मनाउँदै आएको छ।
'कोदो सीमान्त बाली भएकाले यसलाई बचाउन दिवस मनाइएको हो,' महासंघका अध्यक्ष पन्चकाजी श्रेष्ठले भने, 'यसलाई रास्ट्रिय दिवसकै रूपमा मनाउन महासंघले कृषि विभागमा प्रस्ताव पेस गरेको छ। विभागले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ।'
साउन १५ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थप पहल गर्ने उनले बताए।
कोदो विश्वकै प्रमुख अन्न बालीमध्ये एक हो। यसका बाला हातका औंला जस्ता हुने भएकाले अंग्रेजीमा 'फिंगर मिलेट' भनिन्छ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत राष्ट्रिय बाली प्रजनन तथा अनुवांशिक अनुसन्धान केन्द्रले कोदो लगायत अन्य रैथाने बालीको अनुसन्धान गर्दै आएको छ। हाल कोदोका ६ वटा उन्नत जात सिफारिस गरिएको केन्द्रका प्रमुख डा. कृष्ण हरि घिमिरेले जानकारी दिए।
खेती गर्ने ठाउँ हेरेर यी कोदो सिफारिस गरिएको छ।
तल्लो पहाडी क्षेत्रमा डल्ले कोदो-१, मध्यपहाडी क्षेत्रमा ओख्ले-१, काभ्रे-१ र २, उच्च पहाडी क्षेत्रमा शैलुङ कोदो-१ र जुम्ला, हुम्ला लगायत क्षेत्रमा रातो कोदो लगाउन सकिन्छ।
नार्क अन्तर्गत जिन बैंकमा कोदोका ११ सयभन्दा बढी जात संरक्षण गरेर राखिएको छ।
अरू अन्न बालीको जस्तो कोदोको बिउ जहीँतहीँ पाइँदैन। बिउको आफ्नै चक्र हुन्छ। केन्द्रले प्रजनन बिउ उत्पादन गर्छ। उक्त बिउ अनुमति लिएका सहकारी वा किसान समूहले लगेर उन्नत बिउ उत्पादन गर्छन्। सोही उन्नत बिउ किसान समक्ष पुग्छ।
तर उन्नत बिउ उत्पादन गर्न धेरैले चासो नदेखाउने भएकाले केन्द्रले सिफारिस गरेका बिउ किसान समक्ष कम नै पुग्ने गरेको छ।
'एक त प्रचारप्रसार गर्न सकिएको छैन। अर्को, आफूसँग बिउ हुँदा हुँदै किसान अन्त किन्न पनि जाँदैनन्,' केन्द्रका प्रमुख घिमिरेले भने, 'उत्पादनको ग्यारेन्टी हुँदैन, किसान जोखिम लिन चाहँदैनन्।'
करिब ७५ प्रतिशत किसानले वर्षौंदेखि आफूले उत्पादन गरिरहेको रैथाने जात नै लगाउँदै आएका छन्।
सबै जिल्लामा उत्पादन हुने बाली भए पनि सिन्धुपाल्चोक, बागलुङ, सिन्धुली, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा, हुम्ला, जुम्ला, मकवानपुर, खोटाङ, मनाङ तथा मुस्ताङको तल्लो भेगमा धेरैजसो कोदो उत्पादन हुन्छ। ठाउँ हेरी माघदेखि भदौसम्म खेती गर्न सकिन्छ। अन्य खेतीको तुलनामा कोदो सजिलो हुने घिमिरेले बताए।
'कोदो बर्खेबाली भएकाले सिचाइँ चाहिँदैन। गोबर मल भए पुग्छ, रासायनिक मल पनि चाहिँदैन,' उनले भने, 'कोदोमा घुन/कीरा नलाग्ने भएकाले १०/१५ वर्षसम्म भण्डारण गर्न सकिने यसको अर्को विशेषता हो।'
पोषणको कुरा गर्दा कोदोमा क्याल्सियम, फस्फोरस र आइरन धेरै हुन्छ। मुटु रोग, मधुमेह र उच्च रक्तचाप भएकाहरूलाई यसले फाइदा पुर्याउँछ।
'कोदो ऊर्जाको मुख्य स्रोत हो, यसले शरीरलाई शक्ति प्रदान गर्छ,' घिमिरेले भने, 'कोदो खाएपछि धेरै समय भोक लाग्दैन। त्यसैलेर पहिले पहिले खेतबारीमा काम गर्ने खेतालालाई कोदोको रोटी दिइन्थ्यो।'
स्वास्थ्यको दृष्टिले बहुउपयोगी भए पनि कोदो खेती गर्ने जमिन घट्दै गएको घिमिरेले बताए।
गत वर्ष दुई लाख २८ हजार हेक्टर क्षेत्रफलमा तीन लाख ११ हजार टन कोदो उत्पादन भएको थियो। उत्पादित कोदो ६० प्रतिशत खान प्रयोग हुन्छ भने बाँकी मदिरा बनाउन प्रयोग हुन्छ। आयातीत कोदो पनि ९९ प्रतिशत मदिरामै प्रयोग हुने गरेको उनले बताए।
'घरेलु मदिरा ब्रान्डिङ गर्न सके कोदोको माग अझै बढ्ने थियो। कोदो नबिक्ने भन्ने छैन। हामीले उत्पादन कसरी बढाउने भनेर ध्यान दिनुपर्यो,' उनले भने।
कोदो उत्पादन बढाउन अहिले विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका सूचना अधिकारी बलराम रिजालले बताए।
कोदोसँगै कागुनो, चिनो, जुनेलो लगायत रैथाने बाली प्रवर्द्धन गर्न केन्द्रले बजेट पनि पठाउँदै आएको उनले जानकारी दिए। रैथाने बाली प्रवर्द्धन कार्यक्रम आर्थिक वर्ष २०७७/७८ बाट सुरू भएको हो।
रिजालका अनुसार गत आर्थिक वर्ष प्रतिपालिका ६ लाख रूपैयाँका दरले ७१ वटा पालिकामा बजेट पठाइएको थियो। सुरूआती वर्षमा ३० वटा पालिकालाई बजेट पठाएकोमा अहिले संख्या बढेको छ। तर बजेट घटेको छ। मन्त्रालयबाटै बजेट घटेर आएको उनले बताए।
रैथाने बाली प्रवर्द्धन गर्न पालिका आफैले पनि अगुवाइ लिनुपर्ने उनी बताउँछन्।
'हामीले त बाटो देखाउने हो। सधैं संघले खर्च गर्न सक्दैन। पालिका स्तरबाट पनि हुनुपर्छ,' रिजालले भने, 'बजेट पठाइएका केही पालिकाले भने उदाहरणीय काम गरेका छन्।'
सरकारले रैथाने बालीका जातको दर्ता प्रक्रिया समेत सहज बनाएको छ। केन्द्रले बर्सेनि कार्यविधि बनाएर बजेट पठाउँछ। सोही अनुसार कोदो उत्पादनका लागि मल, बिउ, प्रविधि लगायतका क्षेत्रमा अनुदान दिइन्छ।
अहिले ठूला पसलदेखि मल र खुद्रा बजारमा पनि कोदो र कोदोको पिठो सजिलै पाइन थालेको छ। रैथाने र अर्गानिक उत्पादनको पसल खोल्ने चलन बढेको छ। ठूला कम्पनीहरूले समेत कोदोको पिठो आफ्नो ब्रान्डमा बेच्न थालेका छन्।
त्यस्तै कोदोको परिकार पनि थपिएका छन्। पहिले रोटी, ढिँडो, खोले खाइन्थ्यो। अचेल मःमदेखि कुकिज र पिज्जासम्मका परिकार बन्छ। यसले गर्दा सहरी बासिन्दा र युवा पुस्तामाझ खाजाका रूपमा कोदोका परिकार रोजाइ बन्दै जान थालेको छ।
पालिकाहरूकै अगुवाइमा नार्क अन्तर्गतको राष्ट्रिय खाद्य अनुसन्धान केन्द्रले परिकार विविधीकरणको तालिम पनि दिने गरेको छ।हालसम्म ६० भन्दा बढी उद्यमीलाई तालिम दिइसकेको केन्द्रका खाद्य वैज्ञानिक प्रविन ओझाले जानकारी दिए।
केन्द्रले कोदोको बिस्कुट, पाउरोटी, डोनट, केक, पिज्जा, प्यान केक, कुकिज, चाउमिन, मःमसँगै आफैले विकास गरेका परिकार बनाउने तालिम दिँदै आएको छ। तालिम लिएका सबैले उद्यम भने नगरेको ओझाले बताए।
'केहीले सुरू गर्नु पनि ठूलो उपलब्धि हो,' उनले भने, 'अहिले लमजुङ, हुम्ला लगायत केही जिल्लामा कोदोको कुकिज बनाउन सुरू भएको छ। व्यावसायिक रूपमा ठूलो नभए पनि स्थानीय बजारका यसरी कुकिज बनाउनेहरू धेरै छन्,' उनले भने।
केन्द्रले भने कोदोको रक्सी बनाउन परीक्षण गरिरहेको ओझाले जानकारी दिए।