सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका माग वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ।
सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसँग गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्बन्धमा वार्ता गर्न कार्यदल गठन गरेका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयले जनाएको छ।
कार्यदलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारकातर्फबाट कार्यदलमा रहेका छन्।
त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरसहित आठ जना कार्यदलमा छन्।
गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य कार्यदलको सदस्य सचिव छन्।
त्यसैगरी बैठकले वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकार सकरात्मक रहेको भन्दै बन्द लगायतका कार्यक्रम फिर्ता लिन आन्दोलनरत यातायात व्यवसायीसित अनुरोध समेत गरिएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।
छलफलमा बोल्दै गृहमन्त्री रमेश लेखकले व्यवसायीका विषयमा सरकार गम्भीर रहेको बताउँदै उक्त विषय संवाद र वार्ताका माध्यमबाट हल गर्न सकिने बताए।
उनले प्रदेश सरकारसित पनि कतिपय विषय जोडिएको सन्दर्भमा प्रदेश सरकारसित पनि आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी कार्यदलका सदस्य सचिव रविन्द्र आर्चायले कार्यदलले छलफल सुरू गरिसकेको जानकारी दिए।
‘गृह मन्त्रालयमा कार्यदल गठनपछि आजैदेखि वार्ता र संवाद सुरू भइसकेको छ,’ आर्चायले भने।
गृह मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव एकनारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो।