चिनियाँ न्यु इनर्जी भेहिकल कम्पनी एलएस अटोले आफ्नो पहिलो मोडल 'एलइभी-०१’ को अल ह्विल ड्राइभ मोडल तयार पारेको छ।
कम्पनीले यसलाई एलइभी-एक्स नाम दिएर नेपाली बजारमा बिक्री सुरू गर्ने योजना बनाएको हो।
नेपालको लागि एलएस अटोको आधिकारीक वितरक नेक्सन भेन्चरले एलइभी-एक्स आगामी महिना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने जानकारी दिइएको छ।
नयाँ अल ह्विल ड्राइभ मोडल अहिले बजारमा रहेको एलइभी-०१ कै बडी डिजाइनमा आउने छ। बाहिरबाट हेर्दा उस्तै देखिएपनि भित्री फिचर भने फरक हुने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार एलइभी-एक्समा फ्रन्ट र रियरमा गरी १९८ किलोवाटको ड्युल मोटर सेटअप रहेको छ।
साथै, ब्याट्री पनि १० किलोवाट आवर बढी क्षमताको प्रयोग भएको छ। एलइभी-०१ मा ६७ किलोवाट आवरको ब्याट्री रहेकोमा एक्स मोडलमा ७७ किलोवाट अवारको ब्याट्री रहेको छ।
एलइभी-एक्सको इन्टेरियरमा पनि केही परिवर्तन गरिएको कम्पनीले जानकारी दियो।
कम्पनीका अनुसार नयाँ अलह्विल ड्राइभ इभीमा एसी भेन्ट र इन्टेरियर डिजाइन अपडेट भएको हो।
सेग्मेन्टमै धेरै २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको एलइभी एक्समा अल ह्विल ड्राइभ फिचर थप भएको कारण अफरोडमा ढुक्कसँग चलाउन सकिने कम्पनीको भनाइ छ।
नेक्सन भेन्चरले नाइमा अटो शोमा एलईभी एक्सका अलावा प्रिमियम ह्याचव्याक सेग्मेन्टमा एलइभी-०५ समेत लन्च गर्ने योजना बनाएको छ।
एलइभी-०५ नेपाली बजारमा बिवाइडी डल्फिन र नामी-०१ सँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो।