दसैं आउन १५ बाँकी रहँदा पनि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाइएको छैन। दसैं तिहार जस्ता पर्वमा यात्रुको चाप बढी हुँदा केही समयअघिबाटै टिकट खुलाइने गरिन्छ।
सरकार र यातायात व्यवसायीबीच बुकिङ खुलाउने विषयमा छलफल हुन बाँकी भएकाले अहिले बुकिङ खुला हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागका सूचना अधिकारी गणेशमान सिं राईका अनुसार अग्रिम टिकट बुकिङका लागि आउँदो मंगलबार सरकार र व्यवसायीसँग छलफल कार्यक्रम छ।
सोही छलफलपछि लामो दूरीमा गुड्ने यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाइने उनले बताए।
‘टिकट खुलाउने विषयमा मंगलबार सरकार र व्यवसायीबीच छलफल हुँदैछ,’ उनले भने, ‘दसैंका लागि कहिलेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने भन्नेबारे सोही दिन निर्णय हुनेछ।’
अघिल्ला वर्षहरूमा सरकारले दसैं आउनुभन्दा एक महिनाअघि नै अग्रिम टिकट बुकिङ खुलाउने गरेको थियो।