सर्वोच्च अदालतले बैंक अफ काठमाडौंका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय श्रेष्ठलाई १ करोड धरौटी बुझाए थुनामुक्त गर्ने आदेश गरेको छ।
उनलाई असोजमा उच्च अदालत पाटनले थुनामा पठाएको थियो। सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले पाटन उच्च अदालतको आदेश बदर गर्दै उनलाई धरौटीमा छोड्ने आदेश गरेको हो।
उनीसँगै बैंकका कर्मचारी किरणकुमार बोहोरासँग पनि उक्त इजलासले १ करोड धरौटी माग्न भनेको छ। बैंक अफ काठमाण्डूको कर्जा घोटाला काण्डमा संलग्न भएको अभियोगमा तत्कालीन सिइओ अजय श्रेष्ठसहित १६ जनाविरूद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो।
सरकारी वकिल कार्यालयले १६ जनाविरुद्ध बैंक अफ काठमाण्डूको दुई करोड पचास लाख १२ हजार ९७ रुपैयाँ हानीनोक्सानी गरेको भन्दै बैकिङ कसुर ऐन २०६४ बमोजिम हदैसम्मको कारबाही माग गरी मुद्दा दायर गरेको थियो। उनीहरूले झापाको बिरिङ खोलाको बगरको नक्कली जग्गा खडा गरी ऋण स्वीकृति गराएको अनुसन्धानबाट खुलेको थियो।
श्रेष्ठ, बोहोरा र अर्का कर्मचारी सुरेन्द्र श्रेष्ठलाई थुनामा पठाएको उच्च अदालतले अन्य ९ जनालाई भने धरौटीमा छोडेको छ।