सोमबार नेपाल स्टक एक्चेन्ज (नेप्से) ‘यु’ आकारको बनेको छ।
बजार खुलेदेखि नै घट्न सुरु गरेको नेप्से दिउँसो बढ्न थाल्दा ‘यु’ आकारको बनेको हो।
समग्रमा नेप्से सुचकमा भने कुनै परिवर्तन भएन।
१११० अंकबाट कारोबार सुरु भएको नेप्से सोही अंकमा पुगेर बजार बन्द भयो। तर, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सुचक भने सकारात्मक देखिएको छ। सेन्सेटिभ सुचक ०.५२ अंकले बढेर २४५.३८ अंकमा पुगेको हो।
१६८ कम्पनीको कारोबार हुँदा १० लाख ७८ हजार कित्ता शेयर खरिद विक्री भयो। दिनभरिमा २८ करोड ८८ लाख ५८ हजारको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
उपसुचक भने मिश्रित देखिएका छन्। होटल ८.२७, जलविद्युत १.९४, फाइनान्स १.४०, उत्पादन ०.८४, अन्य ५.०३ र माइक्रोफाइनान्स ३.७९ अंकले बढ्दा बाँकी उपसूचक ओरालो लागेका हुन्।
सोमबार सबैभन्दा बढी जीवन वीमाको शेयर २४.१६ अंकले घट्यो भने निर्जीवन बीमाको शेयर १८.९२ अंकले घटेको छ।
कारोबार रकमको हिसाबले सबैभन्दा अघि नेपाल इन्भेस्टमेन्ट बैंकको प्रमोटर शेयर छ।
आज इन्भेस्टमेन्ट बैंकको प्रमोटर शेयर ३ करोड ६० लाख रुपैयाँको कारोबार भयो। यस्तै, नेपाल बैंक लिमिटेडको ३ करोड ५२ लाख र एनएमबी बैंकको २ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
सबैभन्दा बढी कमाउनेको सूचिमा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् भने सबैभन्दा बढी गुमाउने पन्चकन्या माइ जलविद्युत कम्पनीका लगानीकर्ता छन्।