चालु आर्थिक वर्ष २०८०/८१ को सुरूमा सुस्त दरमा बढेको कर्जा लगानीले पछिल्लो डेढ महिनामा गति समातेको छ।
चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ३१ अर्ब कर्जा लगानी भएकोमा त्यसपछिको डेढ महिनामा ५८ अर्बले कर्जा लगानी बढेको हो।
गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ४८ खर्ब ७९ अर्ब थियो। चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा कर्जा लगानी ३१ अर्बले बढेर ४९ खर्ब १० अर्ब ४६ करोडले बढेको थियो।
त्यसयता कात्तिक १२ गते आइतबारसम्म थप ५८ अर्ब रूपैयाँले बढेर ४९ खर्ब ६८ अर्ब रूपैयाँ पुगेको छ। गत असार यता कर्जा ८९ अर्ब रूपैयाँले वृद्धि भएको हो।
बैंकहरूमा लगानी योग्य रकम रहेपछि कर्जा विस्तारले गति लिन थालेको हो।
अहिले पनि बैंकहरूसँग करिब पाँच खर्ब बराबरको कर्जा योग्य लगानी रकम छ। राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५८ खर्ब ८४ अर्ब रूपैयाँ छ। त्यस्तै, कर्जा र निक्षेपको अनुपात (सिडी) रेसियो ८१.६० प्रतिशत छ।
तरलता सहज भएसँगै बैंकहरूले सापटीको रुपमा राष्ट्र बैंकबाट लिने स्थायी तरलता सुविधा लिनै छाडेका छन्।
बैंकहरूले गत साउन २ गते अन्तिम पटक एक अर्ब २० करोड रूपैयाँ यस्तो सापटी लिएको थिए। हालसम्म यो नै यस वर्षको लागि लिइएको यस्तो सापटी पहिले र अन्तिम बनेको छ।
केही बैंकलाई तोकिएको पुँजी कोष कायम राख्न असहज रहेपनि सहज हुनेहरूले कर्जा लगानी बढाइरहेको बैंकरहरू बताउँछन्। यही कारण कर्जाको विस्तार भइरहेको छ।
बैंकहरूको कात्तिकको आधार दर समेत घटेकोले आगामी दिनका कर्जा थप विस्तार हुँदै जाने देखिन्छ। असोजमा बैंकहरूको औसत आधार दर १०.१२ प्रतिशत रहेकोमा कात्तिकमा यो घटेर १०.१ प्रतिशत भएको छ।
यससँगै कर्जाको ब्याजदर न्यूनतम ९.९५ देखि १५.८३ प्रतिशतसम्म कायम भएको छ। बैंकहरूले कर्जामा अधिकतम १२ प्रतिशतदेखि १५.८३ प्रतिशतसम्म ब्याजदर लिने भएका छन्। बैंकहरूले कर्जामा आधार दर सहित एकदेखि पाँच प्रतिशतसम्म प्रिमियम तोकेका छन्।
बैंकहरूले कात्तिकको लागि निक्षेपको अधिकतम ब्याजदर थप घटाएका छन्। बैंकहरूले कात्तिकमा राखिने मुद्दती निक्षेपमा अधिकतम ११.००३ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। असोजमा बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याजदर दिएका थिए। यसले मंसिरमा बैंकहरूको आधार दर थप घट्नेछ। र, योसँगै कर्जाको ब्याजदर पनि थप घट्दै जाने देखिन्छ।
कुन–कुन बैंक छन् दबाबमा?
राष्ट्र बैंकले केही साताअघि सार्वजनिक गरेको तथ्यांकअनुसार प्रभु बैंक र कुमारी बैंकलाई पुँजी कोष अनुपात कायम गर्न दबाब छ। प्रभु बैंकको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी मात्रै ८.९१ प्रतिशत र कुमारी बैंकको ८.८३ प्रतिशत छ।
माछापुच्छ्रे, हिमालयन, एनआइसी एशिया र सिद्धार्थ बैंकलाई पनि दबाब नै छ। यी बैंकको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात ९.१० प्रतिशतदेखि ९.९६ प्रतिशतसम्म छ।
राष्ट्र बैंकको अनुसार बैंकको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्छ। यी बैंकको पुँजी स्रोत नबढी कर्जा मात्र बढ्दा भने यस्तो अनुपात घट्दै जान सक्छ। यही कारण यी बैंकलाई कर्जा लगानीमा केही दबाब छ।
जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपातसमेत जोडिने कुल पुँजी कोष अनुपातमा समेत अन्य केही बैंकलाई दबाब छ। यस्तो कुल पुँजी कोष अनुपात भने हाल कम्तीमा ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ।
यस आधारमा भने प्राइम कमर्सियल, सिटिजन्स बैंकलाई पनि केही दबाब छ। प्राइमको यस्तो अनुपात १२.२८ प्रतिशत र सिटिजन्स बैंकको भने १२.३२ प्रतिशत अनुपात छ।