मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विगत केही दिनदेखि केही व्यक्ति र समूहबाट विभिन्न अफवाह फैलाउने, आशंका र अविश्वास बढाउने खालका समाचारहरू सम्प्रेषण भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
परिसंघले लाखौ ग्राहकहरूलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंकहरू सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानुन तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरूको अक्षरशः पालना गर्दै आइरहेको समेत स्मरण गराएको छ।
परिसंघले बैंक तथा वित्तीय संस्था सञ्चालनसम्बन्धी ऐन २०७३, तथा सो ऐन बमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम सञ्चालन हुने, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमितरूपमा सुपरीवेक्षण तथा अनुगमन हुने क्षेत्र भएको समेत स्मरण गराएको छ।
राष्ट्र बैंकले जारी गरेको निर्देशन पालना नभए कानुन बमोजिम आवश्यक कारबाही हुने गरेको, बैंक तथा वित्तीय संस्थाहरूको विभिन्न आर्थिक परिसूचक तथा गैर वित्तीय परिसूचकहरूको सम्बन्धमा नियमित रूपमा आन्तरिक तथा नियामकमार्फत् समेत अनुमगन हुने भएकोले भ्रममा नपर्न समेत परिसंघले आग्रह गरेको छ।
नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रूपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको 'निक्षेप तथा कर्जा सुरक्षण कोष' मार्फत् सुरक्षण गरिएको समेत परिसंघले जानकारी गराएको छ।
बैंक तथा वित्तीय संस्थाहरूको मुख्य वित्तीय परिसूचकहरू स्वास्थ र सवल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहकको हकहितका विषयमा कुनै पनि जोखिम सृजना नभएकोमा विश्वस्त हुन परिसंघले आग्रह गरेको छ।