गभर्नर महाप्रसाद अधिकारीले अहिले बढेको खराब कर्जा वास्तविक भएको बताएका छन्।
सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको बैंकिङ क्षेत्रको अवस्थासम्बन्धी छलफलमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
'बैंकिङ क्षेत्र धेरै पारदर्शिता भएको क्षेत्र हो,' अधिकारीले भने, 'तर, यसअघि चालु पुँजी कर्जाको कारण पनि कर्जा एभरग्रिनिङ भइरहेको थियो। यस सम्बन्धी मापदण्ड आएपछि अहिले बैंकहरूले खराब कर्जा लुकाउन नपाएका हुन्।'
गभर्नर अधिकारीले यस्ता नीतिगत पुनर्संरचनाको समयमा केही कठिनाई आउने भए पनि यो बृहत हितको लागि हुने बताए। उनले बाहिर हल्ला आएजस्तो समस्या बैंकहरूमा नरहेको समेत बताए।
अहिले बैंकहरूलाई प्रशस्त प्रावधान रकम राख्न लगाइएकोले पनि खराब कर्जाको सबै जोखिमको बहन गर्न सक्ने अवस्था रहेको उनको भनाइ छ।
उनले एउटा बैंक बिग्रिदा अन्य बैंकहरूलाई मात्रै होइन समग्र अर्थतन्त्रमा केही न केही प्रभाव पर्न सक्ने भएकाले कसैले पनि भ्रमपूर्ण कुरा गर्न नहुने बताए।
नेपालको बैंकिङ क्षेत्र दरिलो भएकोले कुनै बैंक पनि असफल हुने अवस्थामा नरहेको समेत गभर्नर अधिकारीले स्पष्ट पारेका छन्।
'हाम्रो संस्था 'फेल' हुने अवस्थामा छैनन्,' अधिकारीले थपे, 'यदी भए भने पनि हामीले बचत सुरक्षा गर्ने, व्यवस्थित रूपमा खारेजीमा लैजाने व्यवस्था गरेका छौं।'
उनले अहिले बैंकिङ सहित अर्थतन्त्रमा समस्या देखिनुका तीन वटा कारण रहेको बताए।
सहकारीमा देखिएको समस्या, उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नु र निर्माण क्षेत्रमा देखिएको शिथिलतालाई यसको कारणको रूपमा उनले ब्याख्या गरे।
अहिले सहकारीका बचतकर्ताको १० प्रतिशत रकमको मात्रै भुक्तानी गर्न सकिएमा यो क्षेत्रमा देखिएको समस्या कम हुने बताए।
उनले आफूले सहकारी सुधारको लागि आवश्यक समाधान बारे सम्बन्धित निकायमा जानकारी गराइसकेको समेत बताएका छन्। उनले समस्याग्रस्त नै भएका सहकारी खारेजीमा लैजानु पर्ने समेत बताए।
राष्ट्र बैंकले लिएको राम्रा नीतिमा व्यवसायी बैंकरहरूले समर्थन नगर्ने गरेको उनको गुनासो छ। उनले आफू गभर्नर भएर आउँदा बैंकहरूको लगानी ३२ खर्ब रूपैयाँको हुने गरेको र नाफा भने ७० अर्ब रूपैयाँ बराबरको हुने गरेको उदाहरण दिए।
अहिले भने ५० खर्ब लगानी गरेका बैंकहरूको नाफा ७० अर्ब पनि हुन नसकेकोमा ध्यान दिनुपर्ने बताए।
'सेवा शुल्कमा कटौती गरिएकोले बैंकहरूको नाफा घटेको हो,' अधिकारीले स्पष्ट पारे, 'तर, व्यवसायीहरूले यो नबुझी बैंकहरूलाई नाफाखोर भएको मात्रै आरोप लगाए।'
पछिल्लो समय एनआइसी एशिया बैंकबाट २७ अर्ब निक्षेप घटे पनि राष्ट्र बैंकले कर्जा निक्षेप अनुपातमा लिएको नीतिको कारण सो बैंकलाई समस्या नपरेको दाबी समेत गरे।