सोमबार एकाएक सत्ता समीकरण फेरिएसँगै सर्किट ब्रेक लाग्ने गरेर बढेको बजार मंगलबार भने घटेको छ।
यसदिन नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ विन्दुमा पुगेको छ।
सोमबार अर्थमन्त्रीको रूपमा विष्णु पौडेलको नाम चर्चामा आएसँगै बजार बढेको थियो। तर, मंगलबार पौडेलको सट्टा वर्षमान पुनको नाम चर्चामा आएपछि लगानीकर्ता निरास देखिएका हुन्।
हुनतः सेयर बजारमा राजनीतिक प्रभाव क्षणिक हुने गर्छ। मंगलबार पनि बजार उच्च अंकले घट्नुको अर्थ प्रस्तावित मन्त्रीहरूको नाममा भइरहेको चर्चा नै मानिएको छ।
निजी क्षेत्रमैत्री भनेर चिनिएका पौडेलप्रति तुलनात्मक रूपमा लगानीकर्ताको विश्वास धेरै पाइन्छ। यसअघि अर्थमन्त्री हुँदा पौडेलकै पालामा नेप्सेले दुई पटक नयाँ उचाइ भेटेकाले पनि लगानीकर्ताको अपेक्षा उनीप्रति देखिएको हो।
मंगलबारको बजारमा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रूपैयाँको सेयर कारोबार भएको छ।
यस दिन ३१६ वटा धितोपत्रको एक करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ वटाको घटेको छ। यस्तै, २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.७३ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९९५ रूपैयाँ कायम भएको छ।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ को इकाइ मूल्य ७.८५ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ६६ पैसा पुगेको छ।
बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य २० हजार ९६२ रूपैयाँ मा झरेको छ।
यस्तै, जोशी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३४६ रूपैयाँ कायम भएको छ।
मंगलबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४९३ रूपैयाँ ८० पैसामा ४१ करोड १३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०२ रूपैयाँमा २४ करोड ६५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.६६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।
यस दिन अन्य समूहको परिसूचक सर्वाधिक ४.३५ प्रतिशतले घटेको छ।