नयाँ वर्षको पहिलो कारोबार दिनमै नेप्से परिसूचक घटेको छ। नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३ विन्दुमा आएपछि बजार बन्द भएको हो।
यसदिन कारोबार रकममा पनि कमि आएको छ। गत बिहीबार तीन अर्ब ४३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार तीन अर्ब ६ करोड ३७ लाख रूपैयाँको भएको छ।
चैत मसान्तमा बैंकबाट कर्जा लिएर लगानी गरेकाहरूलाई किस्ता भुक्तानीको दबाब कम भएको भन्दै बजार केही बढ्ने प्रयासमा देखिएको थियो। तर, आइतबार बजारमा वृद्धि नदेखिएपनि स्पष्ट प्रवृत्ति देखिएको छैन।
विशेषगरी वैशाखमा सूचीकृत कम्पनीहरूले वित्तीय विवरण प्राकाशित गर्न थाल्ने र यसको पूर्वअनुमानकै आधारमा चैतको अन्त्यदेखि नै बजार बढ्ने प्रवृत्तिमा देखिन्थ्यो।
दोस्रो त्रैमाश (कात्तिक, मंसीर र पुस)मा धेरै संस्थाहरूको वित्तीय विवरण अपेक्षा अनुसार नदेखिएपछि अहिले लगानीकर्ताहरू ‘पर्ख र हेर’ कै अवस्थामा छन्।
वैशाखमा सार्वजनिक हुने वित्तीय विवरणको आधारमा लगानीकर्ताहरूले रणनीति बनाउने सम्भावना छ। यदी वित्तीय विवरणमा सुधार देखिएमा बजार बढ्दै जाने सम्भावना छ भने त्यस्तो नभए बजार अहिले जसरी २ हजार विन्दुको आसपास नै रहन सक्छ।
आइतबार भने कारोबारमा आएका तीन सय २० मध्ये एक सय ५९ वटाको मूल्य बढेको छ। एक सय ४१ वटाको मूल्य घटेको छ।
आइतबार सूर्यज्योति लाइफ इन्सुरेन्सको मागमा वृद्धि भएको छ।
सबैभन्दा धेरै कारोबार हुने कम्पनीको सूचीमा यो चौंथो स्थानमा छ। कम्पनीले १०.२६ प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने भएको छ।
आगामी ६ गतेसम्म कम्पनीको सेयर हुनेले यस्तो लाभांश पाउनेछन्। यही कारण कम्पनीको सेयरमा माग बढेको हो। कम्पनीको आइतबार आठ करोड ९२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यसदिन जलविद्युत, लघुवित्त, वित्त कम्पनी र व्यापारमूलक समूहको कारोबारमा मात्रै सुधार देखिएको छ। सबैभन्दा धेरैले मूल्य बढेर कारोबार हुनेमा लघुवित्त समूहको सृजनशील लघुवित्त वित्तीय संस्था अग्रस्थानमा छ।
कम्पनीको सेयर १० प्रतिशतले मूल्य बढेर सर्किट ब्रेक लागेको छ। प्रतिकित्ता एक हजार दुई सय ६२ रूपैयाँमा यो कम्पनीको सेयर कारोबार भयो।
त्यस्तै, सानिमामाई हाइड्रोपावरको सबैभन्दा धेरै २१ करोड ४७ लाख रूपैयाँको सेयर किनबेच भएको छ।