राष्ट्र बैंकले क्युआर कोडमार्फत गरिने सम्पूर्ण अन्तरदेशीय कारोबार अनिवार्य रूपमा राष्ट्रिय भुक्तानी स्वीचमार्फत हुने व्यवस्था गर्न लागेको छ।
राष्ट्र बैंकले क्युआर कोडमार्फत हुने अन्तरदेशीय कारोबारको सम्बम्धमा जारी गर्न लागेको व्यवस्थाको मस्यौदामा यस्तो उल्लेख छ।
बैंकले यस मस्यौदामा सम्बन्धित पक्षहरूसँग राय मागेको छ। आगामी जेठसम्म राय पेस गर्न राष्ट्र बैंकले भनेको छ।
अन्तरदेशीय भुक्तानी कारोबारमा सर्वसाधारण ग्राहकलाई लाग्ने सेवा शुल्क बजार संरचनाबाटै निर्धारण हुने गरी हाललाई खुला राखिने भएको छ। यद्यपि आवश्यकता अनुसार सेवा शुल्कमा यस बैंकबाट समेत नियमन गर्न सकिने व्यवस्था गर्न लागिएको छ।
हाललाई यसरी भित्रिने रकम सम्बम्धमा राष्ट्र बैंकले कुनै सीमा कायम नगर्ने भएको छ। तर आवश्कतानुसार त्यस्तो रकम तथा सीमा सम्बन्धमा राष्ट्र बैंकले नियमन गर्न सक्ने उल्लेख छ।
नेपालबाट भारतमा भुक्तानी गर्दा एकै पटक वा पटक-पटक गरी प्रति महिना एक लाख भारूसम्म मात्र गर्न सक्नेछन्। तर होटल, हस्पिटल (हस्पिटल र रिसर्च सेन्टर लगायत समेत) र औषधि पसलमा गरिने भुक्तानीको हकमा सीमा लागू नहुने भएको छ।
त्यस्तै परिवर्त्य विदेशी मुद्रामा भुक्तानी हुनेमा हालको व्यवस्थापन व्यवस्था अनुसार नै नेपालभित्रै बसी नेपालमै उपभोग गर्ने उद्देश्यले वार्षिक अमेरिकी डलर दुई हजारसम्म विदेशी वस्तु तथा सेवा अनलाइनमार्फत विदेशबाट खरिद गर्न पाइनेछ।
बैंक तथा वित्तीय संस्थामा रहेको नेपाली रूपैयाँ मौज्दातलाई सटही गरी अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद बापतको भुक्तानीको लागि वार्षिक अमेरिकी डलर पाँच सय सम्म पाउनेछन्।
हाल राष्ट्र बैंकले सर्वसाधारणबीच (पिपल टु पिपल) कारोबार गर्न सकिने व्यवस्था गरिसकेको छ। गत चैत १५ (मार्चसम्म) कारोबार सुरू गरिसक्ने भनिए पनि भारतबाट अहिले यस सम्बन्धमा थप प्रक्रिया अगाडी बढेको छैन।
सर्वसाधारणबीच कारोबार सञ्चालन सुरू भएसँगै सर्वसाधारण र मर्चेन्ट (पसल, सेवा प्रदायक संस्था) बीचको कारोबार पनि सुरू हुने राष्ट्र बैंकले उल्लेख गरेको छ।