नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टको राजीनामा अस्वीकृत भएको छ।
उनलाई जेठ ११ गते नै गभर्नरको कार्यालय तानिएको हो।
जेठ ११ गते नै भट्टको राजीनामा अस्वीकृत भएको खबर बाहिरिए पनि नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आफू भट्टको राजीनामा अस्वीकृत गर्ने मनस्थितिमै रहेको तर यसमा विषयमा कानुनी आधार खोजिरहेको बताएका थिए।
गभर्नरमा आफ्नो नाम सिफारिस हुने सम्भावना बढेसँगै डा. भट्टले एक महिनाको तलब बुझाएर वैशाख ५ गते राजीनामा पेस गरेका थिए।
सो समयकी कायममुकायम गभर्नरको जिम्मेवारी पाएकी डेपुटी गभर्नर निलम ढुंगाना समेत गभर्नरको प्रतिस्पर्धामा रहेपछि राजीनामा स्वीकृत हुन सकेको थिएन।
गर्भनर पौडेलले डेपुटी गभर्नर ढुंगाना मतहत रहेको मानव संशाधन विभाग हटाएर अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र मातहत ल्याएका छन्।
त्यस्तै, ढुंगाना मतहत भने यसअघि डा. भट्ट प्रमुख रहेको अनुसन्धान विभाग ल्याइएको छ। अनुसनधान विभागको प्रमुखको जिम्मेवारी समेत डा. राम शरण खरेललाई दिइएको छ।
डा. भट्ट आगामी साता अमेरिकाबाट फर्कदैछन्। त्योसँगै उनी काममा फर्किने तयारीमा रहेको उनी निकट राष्ट्र बैंक स्रोतले बताएको छ।
डा. भट्टले भने हाल आफू अमेरिका रहेको बताए पनि उनी फर्कने विषयमा सोध्दा यसबारेमा प्रतिक्रिया दिएनन्।