गत आर्थिक वर्षमा अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचक सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार देशको समग्र आर्थिक अवस्थामा केही महत्वपूर्ण परिवर्तनहरू आएका छन्।
यस वर्ष विशेषगरी विदेशी मुद्राको सञ्चितिमा कीर्तिमानी वृद्धि भएको छ। यसले देशको बाह्य क्षेत्र मजबुत बनाएको छ। रेमिटेन्स अहिलेसम्मकै उच्च आएको छ। वृद्धिदर भने औसत छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा कमी आउँदा कर्जा प्रवाह बढेको छ। यी सूचकहरूको आधारमा, हामीले अर्थतन्त्रको समग्र चित्र बुझ्न सक्छौं।
नेपाली मुद्रा कमजोर बनेको छ। जसले रेमिटेन्स पठाउनेलाई लाभ भएको देखिन्छ भने आयात महँगो भएको छ।
११ सूचकमा हेरौं अर्थतन्त्रको अवस्थाः
१. आर्थिक वृद्धिदर
आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ। आर्थिक वर्ष २०८०/८१ मा ३.६७ प्रतिशत मात्र थियो। त्यसैले अहिले देशको आर्थिक गतिविधि बढेको देखिन्छ।
आर्थिक वृद्धिको अन्तिम परीक्षण भने राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छैन।
सरकारले गत वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको थियो। लक्ष्यको आधारमा गत वर्षभन्दा कम आर्थिक वृद्धिदर देखिन्छ।
२. मूल्य वृद्धिदर कम, तर तरकारी र तेलको मूल्य बढ्यो
आर्थिक वर्ष २०८१/८२ मा नेपालको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशतमा झरेको छ। यो अघिल्लो वर्षको ५.४४ प्रतिशतको तुलनामा यो निकै कम हो। यसले समग्रमा महँगी नियन्त्रणमा आएको देखाउँछ।
यस वर्ष खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारीको मूल्य सबैभन्दा धेरै अर्थात् १०.७१ प्रतिशतले बढेको छ। त्यसपछि घ्यू र तेलको मूल्य ८.७२ प्रतिशतले, दाल र गेडागुडीको ७.९० प्रतिशतले तथा खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ६.१३ प्रतिशतले बढेको छ।
तर, सबै खाद्य वस्तुको मूल्य बढेको छैन। मरमसलाको मूल्य २.६२ प्रतिशतले र माछा तथा मासुको मूल्य ०.३४ प्रतिशतले घटेको छ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत पनि मूल्यवृद्धि भएको छ। विविध वस्तु तथा सेवाको मूल्य ९.३९ प्रतिशतले, कपडा तथा जुत्ता चप्पलको ६.०९ प्रतिशतले र मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशतले बढेको छ।
यस्तै, फर्निसिङ तथा घरायसी उपकरणको मूल्य ४.७८ प्रतिशतले र सूर्तिजन्य पदार्थको मूल्य ४.३७ प्रतिशतले बढेको छ।
२०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत छ। २०८१ असारमा ३.५७ प्रतिशत थियो।
यसबाट मासिक रूपमा पनि महँगीको चाप घटेको देखिन्छ। गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति पनि ४.६४ प्रतिशतबाट घटेर ३.७१ प्रतिशतमा आएको छ।
समग्रमा, मुद्रास्फीति नियन्त्रणमा आएको देखिए पनि तरकारी, तेल र दालजस्ता दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्तामाथि भने केही भार परेको छ।
३. तलब र ज्यालादरको वृद्धि घट्यो
आर्थिक वर्ष २०८१/८२ मा नेपालमा तलब र ज्यालादरमा भएको वृद्धिदरमा कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, यस वर्ष तलब तथा ज्यालादरको औसत वृद्धिदर २.८५ प्रतिशत मात्र छ। यो अघिल्लो वर्षको ५.०३ प्रतिशतको तुलनामा निकै कम हो।
यसको अर्थ, गत वर्षको तुलनामा मानिसको तलब र ज्याला बढ्ने क्रम सुस्त भएको छ।
प्रदेश अनुसार ज्यालादरमा फरक फरक वृद्धि देखिएको छ। सुदूरपश्चिममा सबैभन्दा धेरै ७.४४ प्रतिशतले ज्यालादर बढेको छ। त्यसपछि लुम्बिनी प्रदेशमा ३.७२ प्रतिशत र कर्णाली प्रदेशमा ३.०९ प्रतिशतले वृद्धि भएको छ।
अन्य प्रदेशमा भने ज्यालादरमा थोरै मात्र वृद्धि देखिएको छ। कोशी प्रदेश १.२३, मधेस २.१४, बागमती १.९८ र गण्डकी प्रदेशमा २.७४ प्रतिशत वृद्धिदर छ।
यी तथ्यांकले नेपालको समग्र अर्थतन्त्रमा ज्यालादरको वृद्धि सुस्त भएको देखाउँछ। यसबाट काम गर्ने मानिसको कमाइमा प्रत्यक्ष असर पर्न सक्छ।
४. ऐतिहासिक विदेशी मुद्रा सञ्चिति
नेपालसँग अहिले २६ खर्ब ७७ अर्ब ६८ करोड रूपैयाँ विदेशी मुद्रा छ। गत आर्थिक वर्षभन्दा यो रकम ३१.२ प्रतिशत बढी हो। यो पैसाले १५ महिना १२ दिनको वस्तु तथा सेवा आयात धान्न सक्छ।
यति धेरै सञ्चिति हुनुले नेपालको अर्थतन्त्रलाई बाह्य जोखिमबाट बचाउँछ र अन्तर्राष्ट्रिय बजारमा देशको विश्वसनीयता बढाउँछ भन्ने अर्थ राख्छ।
५. वैदेशिक सम्पत्ति र दायित्व बढ्यो
नेपालले विदेशबाट पाउनुपर्ने सम्पत्ति (२९ खर्ब २९ अर्ब ६९ करोड रूपैयाँ) र विदेशलाई तिर्नुपर्ने ऋण (२१ खर्ब ४६ अर्ब ४३ करोड रूपैयाँ) बीचको अन्तर ७ खर्ब ८३ अर्ब २६ करोडले बचतमा छ।
यसको मतलब, विदेशमा नेपालको सम्पत्ति ऋणभन्दा धेरै छ। यसले देशको आर्थिक अवस्था बलियो भएको देखाउँछ।
६. आयात, निर्यात र रेमिटेन्स बढ्यो
यस वर्ष आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढेको छ। यसले व्यापार बढेको देखाए पनि आयातको तुलनामा निर्यात निकै कम छ, जसले व्यापार घाटा बढ्ने जोखिम राख्छ।
तर विदेशबाट १७ खर्ब २३ अर्ब रूपैयाँ रेमिटेन्स आएको छ। गत वर्षभन्दा यो १९.२ प्रतिशतले बढेको हो। यो पैसाले विदेशी मुद्रा सञ्चिति र अर्थतन्त्र बलियो बनाएको छ।
७. ब्याजदर र कर्जा प्रवाह
बैंकहरूको ब्याजदर घटेको छ। कर्जाको औसत ब्याजदर ९.९३ प्रतिशतबाट घटेर ७.८५ प्रतिशतमा आएको छ। यसले लगानीकर्तालाई ऋण लिएर व्यवसाय गर्न सजिलो भएको छ।
तर, बैंकमा पैसा राख्ने बचतकर्तालाई भने कम ब्याजदरको असर परेको छ। यस वर्ष निजी क्षेत्रले ८.४ प्रतिशतले बढी ऋण लिएको छ, जुन आर्थिक गतिविधि बढेको संकेत हो।
८. सरकारी ढुकुटीको अवस्थामा सुधार
सरकारको खातामा १ खर्ब ३० अर्ब ७३ करोड रूपैयाँ नगद मौज्दात छ। यो अघिल्लो वर्षभन्दा ३६ अर्ब ७७ करोड रूपैयाँले बढी हो।
यसले सरकारलाई विकासका काम गर्न पैसाको अभाव नभएको देखाउँछ। वित्तीय व्यवस्थापन राम्रो भएको संकेत गर्छ।
९. अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दर
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ, जसले नेपाललाई पेट्रोल, डिजेलजस्ता वस्तु आयात गर्दा कम पैसा खर्च गर्नुपर्ने हुन्छ। तर, सुनको मूल्य बढ्दा सुन आयात महँगो भएको छ।
नेपाली रूपैयाँ डलरसँग कमजोर हुँदा विदेशबाट पैसा पठाउनेलाई धेरै रूपैयाँ हात लाग्छ, तर विदेशबाट सामान ल्याउन धेरै पैसा तिर्नुपर्छ।
१०. अठहत्तर अर्ब ६६ करोड सहुलियतपूर्ण कर्जा
सरकारको सहयोगमा ७८ अर्ब ६६ करोड रूपैयाँको सहुलियतपूर्ण कर्जा ९४ हजारभन्दा बढी मानिसले पाएका छन्।
यसले साना व्यवसायी र किसानलाई सजिलै ऋण पाएर काम गर्न मद्दत गरेको छ र ग्रामीण अर्थतन्त्रलाई टेवा दिएको छ।
११. बजारमा पैसाको मात्रा बढ्यो
बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.६ प्रतिशतले बढेर ७२ खर्ब ६४ अर्ब पुगेको छ र निजी क्षेत्रमा कर्जा ८.४ प्रतिशतले बढेर ५४ खर्ब ९८ अर्ब रूपैयाँ पुगेको छ।
यसबाट बजारमा पैसाको मात्रा बढेको र व्यावसायिक गतिविधि सुधार भएको देखिएको छ।