नेपाल धितोपत्र बोर्डमा धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्ने विषयमा पछिल्लो समय छलफल भइरहेको छ।
छलफलको क्रममा हकप्रदमा नयाँ व्यवस्था हुनुपर्ने विषयले समेत प्राथमिकता पाएको छ।
विशेषगरी अहिलेको नियमावली अनुसार हकप्रद सेयर निष्कासन खुला भएपछि सबै सेयर बिक्री नभएमा लिलाम बढाबढबाट बिक्री गर्न पाइने व्यवस्था छ। नियमावलीमा २०७५ मा भएको दोस्रो संशोधनले यस्तो व्यवस्था गरेको थियो।
राष्ट्र बैंकले २०७२ मा बैंकहरूको चुक्ता पुँजीमा आठ गुणासम्म वृद्धि गर्नुपर्ने निर्णय गरेसँगै हकप्रद जारी गर्ने क्रमले तीव्रता पायो। तर, हकप्रद जारी गरेअनुसार बिक्री हुन छाडेसँगै यसरी बिक्री नभएको सेयर लिलाम बढाबढ (अक्सन) बाट बिक्री गर्न सक्ने व्यवस्था गरिएको थियो।
अब भने यस्तो लिलाम बढाबढको व्यवस्था नै नियमावलीबाट हटाउने कि भन्ने विषयमा समेत छलफल भएको बुझिएको छ।
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले भने, 'नियमावली संशोधनको विषयमा विविध छलफल भएको छ, त्यहीँ क्रममा यो विषय उठेको हुनसक्छ। तर, नयाँ व्यवस्था नै गर्ने भन्ने विषयमा टुंगो लाग्ने गरेर कुनै कुरा अगाडि बढेको छैनन्।'
यो व्यवस्था हटाएसँगै बिक्रीको सुनिश्चितताको लागि कम्पनीमा कायम रहेकैले आफूले पाउनेभन्दा बढी सेयरमा आवेदन दिन सक्ने व्यवस्था समेत हुने छलफलमा कुरा उठेको छ।
यो व्यवस्था हट्ने चर्चा चलेसँगै यसले लगानीकर्तालाई फाइदा पुग्ने अनुमान गरिएको छ। यो व्यवस्थाले विशेषतः दुईटा प्रभाव पर्ने पार्नेछ।
पहिलो, अब कम्पनीमा लगानीकर्ताकै रूपमा रहेकाले बढी कित्ताको लागि समेत आवेदन दिन सक्ने अवस्था बन्नेछ।
उदाहरणको लागि अहिले कुनै लगानीकर्तासँग कुनै कम्पनीको १० कित्ता बराबर सेयर छ। सो कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्दैछ। यसो हुँदा अहिलेको व्यवस्था अनुसार उसले १० कित्ताको लागि मात्रै आवेदन दिन सक्छ।
तर, अब भने यस्ता लगानीकर्ताले सोभन्दा बढी सेयरको लागि समेत आवेदन दिन पाउँनेछन्।
सामान्यतया हकप्रद सेयर अंकित मूल्य (प्रतिकित्ता एक सय) को दरमा निष्कासन हुन्छन्। बजारमा कम्पनीको प्रतिकित्ता सेयर अंकित मूल्यभन्दा बढीमा कारोबार भइरहेको छ।
यदि कम्पनीको सेयर सूचीकरण हुँदा सेयर तीन सयमा कारोबार भइरहेको छ। भने उसलाई हरेक सेयरमा दुई सय रूपैयाँ अतिरिक्त फाइदा हुन्छ। आवेदन दिन पाउने सेयर कित्ता बढ्ने भएपछि यस्तो फाइदा अझै धेरै पाइने हुन्छ।
अब अर्को पाटो हेरौं। अहिले हकप्रद सेयर बिक्री नहुँदा बोलकबोलमा बिक्री गरिन्छ। बोलकबोलमा सामान्यतया अंकित मूल्य (एक सय रूपैया) भन्दा धेरैमा बिक्री हुन्छ।
यसरी लगानीकर्ताले तिरेको एक सय रूपैयाँभन्दा बढी मूल्य कम्पनीहरूको सेयर प्रिमियम कोषमा जम्मा हुन्छ। मानौं, बोलकबोलमा त्यो सेयर प्रतिकित्ता एक सय ९० रूपैयाँमा बिक्री भएको थियो भने ९० रूपैयाँ यस्तो कोषमा जान्छ।
यस्तो कोषको रकम बोनस सेयर दिन प्रयोग गर्न पाइन्छ। यस्तो कोषमा धेरै रकम रहेका कम्पनीहरूको सेयरमा लगानीकर्ताहरू पनि आकर्षित हुने गर्छन्।
किनभने कमाई कम भएको अवस्थामा पनि यदि कम्पनीसँग यस्तो कोषमा रकम धेरै छ भने त्यो रकम लाभांश (बोनस सेयर) दिन प्रयोग हुनसक्छ। यसले सेयर मूल्य पनि बढ्न सहयोग पुग्छ।
त्यसैले लिलामबाट सेयर बिक्री प्रक्रिया हट्दा कम्पनीमा रहेकै लगानीकर्तालाई लाभ हुन्छ भन्ने अवस्था पनि देखिदैन। तर, यसले एउटा विकृति भने अन्त्य हुन्छ।
एउटा लगानीकर्ताले हालेको अधिक मूल्यबाट कम्पनीमा रहेका अन्य सबैले पनि लाभ लिने अवस्था भने अन्त्य हुनेछ। किनभने अहिले एउटा लगानीकर्ताले हालेको अधिक मूल्य पछि लाभांशको रूपमा सबै लगानीकर्ताले पाइरहेका छन्।