रूपन्देही–३ को उपचुनावका लागि दल निर्वाचन आयोगमा दर्ता हुन नसकेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरेका छन्।
संघीय लोकतान्त्रिक मोर्चाले रेशम चौधरीले उठाएकै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।
मोर्चाकै घटक दल जनमत पार्टीले चुनावमा कसैसँग साझेदारी नगर्ने निर्णय गर्दै अलग्गै उम्मेदवारीको तयारी गरेको छ। उसले मोर्चा चुनावी साझेदार नभएकोसमेत बताएको छ।
तथापि जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील दल, राष्ट्रिय मुक्ति पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टीले भने रेशम चौधरीकै उम्मेदवारलाई साझा उम्मेदवा बनाउने निर्णय गरिसकेका छन्।
पार्टीका संरक्षक चौधरीले मोर्चाको बैठकमा सम्भावित उम्मेदवारको नामसमेत प्रस्ताव गरिसकेको बताएका छन्।
‘रूपन्देही–३ मा हामीले विद्वान, समाजलाई प्रभाव पार्न सक्ने उम्मेदवार दिन्छौं। मोर्चाको बैठकमा पिएचडी डाक्टर, त्यो पनि पनि थारू समुदायबाटै उठाउँछौं भनेर भनिसकेका छौं,’ रेशम चौधरीले सेतोपाटीसँग भने।
टीकापुर विद्रोहले नेपाली राजनीतिमा नयाँ मानक स्थापित गरिसकेकाले रूपन्देही–३ मा जितको आधार बनिसकेको उनले बताए। मोर्चाको साथले अझ स्पष्ट बनेको उनको भनाइ छ।
मोर्चाका एक नेताले बताएअनुसार रूपन्देही–३ मा संरक्षक चौधरीले उमाशंकर चौधरीलाई उठाउने प्रस्ताव गरेका छन्।
उनले थारू आयोगमा रहेर पनि काम गरिसकेका छन्। उनी पिएचडी होल्डर पनि हुन्। उनी २०७८ असार १० गते थारू आयोग सदस्यमा नियुक्त भएका थिए। उनी नवलपरासीका स्थायी बासिन्दा हुन्।
राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले पनि मोर्चाको बैठकमा उमाशंकर चौधरीको नाम प्रस्तावका रूपमा अएको बताए।
‘थारू आयोगमा आयुक्त रहिसकेका डा. उमाशंकर चौधरी र डा. सरोज चौधरीको नाम आएको छ। उमाशंकरकै सम्भावना बलियो देखेका छौं,’ उनले भने।
रेशम चौधरीले पनि आफूले प्रस्ताव गरेको नाममा मोर्चा घटक दलको असहमति नरहने बताए।
भैरहवा निवासी डा. सरोजसिंह चौधरी पनि उम्मेदवार बन्ने सम्भावना छ। उनी दन्तचिकित्सक हुन्। कृषि व्यवसायीकरणको क्षेत्रमा पनि रूची राख्ने सरोजसिंह नाउपाका सक्रिय कार्यकर्ता हुन्। उनले पछिल्लो समय घरदैलोलाई पनि तिव्रता दिएका छन्।
रूपन्देही जिल्ला नाउपा अध्यक्ष तुलसी चौधरीले भने उम्मेदवार छनोटमा जिल्लाले काम गरिरहेको बताए।
‘निर्वाचन आयोगमा दल दर्ता हुन सकेन। त्यसैले स्वतन्त्र उम्मेदवारी दिने तयारी छ। तर पनि निर्वाचन क्षेत्र, जिल्ला, प्रदेशबाट उम्मेदवार सिफारिस हुने प्रक्रिया त हुन्छ,’ उनले भने, ‘अहिले नै नाम तय भइसकेको छैन।’
रूपन्देही–३ बाट निर्वाचित राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि रिक्त स्थानमा उपचुनाव हुन लागेको हो। आगामी असोज २१ गते उम्मेदवारी दर्ताको कार्यसूची छ।
उम्मेदवारी दर्ता नजिकिँदै जाँदा दलहरूभित्र आकांक्षी देखा पर्न थालेका छन्।
रूपन्देही–३ को उपनिर्वाचनमा असोज २१ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। त्यहाँबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएरपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी दर्ता भएका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपालले पनि चुनावमा भाग लिन दल दर्ता गराएका छन्।
दल दर्ता सँगै राजनीतिक दलहरू उम्मेदवार छान्न तल्लीन छन्।
नेकपा (एमाले) ले भदौ १५ गतेसम्म तल्ला कमिटीबाट उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको छ।
नेपाली कांग्रेस पनि उम्मेदवार सिफारिस प्रक्रियामा छ। पार्टीको तल्लो तहबाट उम्मेदवार सिफारिस भएर आउनुअघि नै महामन्त्री विश्वप्रकाश शर्मा रूपन्देही क्षेत्र नम्बर ३ का विभिन्न टोलहरू पुगेर पार्टीको अहिलेको अवस्था बुझेर आएका छन्। कांग्रेसले कसलाई टिकट दिने निश्चित भइसकेको छैन। गत निर्वाचनमा यहाँबाट केन्द्रीय सदस्य बालकृष्ण खाण उठेका थिए। उनीमाथि नक्कली भुटानी शरणार्थी बनाएर मानिसहरूलाई अमेरिका पठाएको मुद्दा अदालतमा छ।
एकीकृत समाजवादीले रूपन्देही–३ को उपनिर्वाचन अध्ययन गर्न पार्टीको लुम्बिनी इञ्चार्ज मेटमणि चौधरीको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाएको छ।
रास्वपाले ९ जना प्रारम्भिक उम्मेदवार चयन गरी उनीहरूको बीचमा आन्तरिक प्रतिस्पर्धा गराउने गरी लिडरसिप एकेडेमीको अभ्यास गरिरहेको छ। रास्वपाले प्राइमरी निर्वाचनमार्फत् भदौ १५ गते उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ।