गत भदौ २४ गते भएको प्रदर्शनमा निजी सार्वजनिक सम्पत्ति लुटपाट तथा तोडफोड भयो। सो दिन साँझ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा पनि तोडफोड आगजनी भयो।
यो क्रममा बैंकको शाखाबाट सवा ५ करोड नगद र १७ हजार ९ सय ४५ ग्राम अर्थात् करिब १८ किलो सुन समेत लुटियो। साँझैदेखि सामाजिक सञ्जालमा आएका भिडिओमा केही मानिसहरू बैंकबाट रकम लिएर निस्किँदै गरेको देखिएको थियो।
यो रकम र सुन बैंकहरूमा रहने 'स्ट्रङ रूम' वा भल्टमा थियो।
बैंकका भल्ट कति बलिया हुन्छन् भन्ने एउटा उदाहरणबाट बुझौं।
२०८० साउनको अन्तिम साता मुस्ताङको कागबेनीमा बाढी आयो। बाढीले भएको क्षतिको विवरण १० दिनपछि भदौ २ मा सार्वजनिक भयो। बाढीको क्रममा कागबेनीमा नेपाल इनभेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकको शाखामा पनि क्षति पुग्यो।
तर भदौ ३ गते शाखामा रहेको भल्ट सुरक्षित भेटियो। बैंकहरूको भल्टमा एक करोड ६५ लाख रूपैयाँ सुरक्षित भेटिएको थियो।
सोही एक बैंकको शाखामा सो समय काम गरेका एक बैंक कर्मचारीले भने, 'हामीलाई माथिल्लो तहबाट निर्देशन आएको थियो, तिमीहरू ज्यान बचाउनु भल्टको पैसाको पीर नगर्नू।'
बैंकहरूमा राखिने भल्ट सामान्यतया जहाँ पायो, त्यहीँ बन्दैन।
पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री भन्छन्, 'धेरै पहिलेदेखि नै नेपालका बैंकहरूमा प्राय: गोदरेज कम्पनीले बनाएका भल्टहरू राखिन्थे। बैंकमा पाइने भल्ट आगोले समेत नबिगार्ने मानिन्छ।'
नेपालमा पोदरेज कम्पनीले समेत भल्ट बनाएर बेच्छ। यस्ता भल्टको मूल्य त्यसको आकार अनुसार फरक पर्छ।
कम्पनीकी बजार प्रबन्धक उपासना पाठक गौतमले भनिन्, 'प्रायः यस्ता भल्ट दुई फिट दुई इन्चदेखि ६ फिट २ इन्चसम्मका हुन्छन् र आगोले नजल्ने (फायर प्रुफ) वा आगो सहने (फायर रेसिस्टेन्स) दुई फरक क्षमताका हुन्छन्।'
यस्ता भल्टहरूको मूल्य ५० हजारदेखि दुई/तीन लाख रूपैयाँसम्मका पनि हुने गरेको छ।
त्यस्तै, भल्टमा ढोकामा चुकुल लगाएजस्तै दुईदेखि ६ वटासम्म लक गर्ने सिस्टम हुने समेत गौतम बताउँछिन्।
फायर रेसिस्टेन्स भल्टहरूलाई एक घण्टाभन्दा केही बढीको आगोले बिगार्न सक्ने र फायर प्रुफ भल्टहरू भने केही घण्टासम्म लगातार आगो लागिरहँदा पनि नबिग्रने किसिमका हुने पनि उनी बताउँछन्।
गौतमका अनुसार पहिले नेपालमा बैंकहरूले पोदरेजका भल्टहरू निकै प्रयोग हुन्थे। पछिल्लो समय भने भारतको ब्युरो अफ इण्डियन स्ट्याण्डर्ड (बिएसआई) बाट मान्यता प्राप्त भल्ट मात्रै बैंकहरूले खोजिरहेको पनि गौतमले गुनासो गरिन्।
राष्ट्रिय वाणिज्य बैंकले कस्तो भल्ट प्रयोग गरेको थियो भन्ने खुलाएको छैन। तर, यो भल्टमा बारम्बार हतियार प्रयोग भएको देखिएको बैंकले उल्लेख गरेको छ।
'स्ट्रङ रूम वा भल्ट निकै बलियो धातुले बनेको हुने भए पनि कसरी लुटियो भन्ने अनुसन्धान गरिरहेका छौं,' राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी पवन रेग्मीले भने, 'यो भल्टमा बारम्बर हतियारले तोडफोड गरिएको पाइएको छ।'
यसरी लुटिएको सुन कर्जाको धितोको रूपमा राखिएको बैंकले बताएको छ। त्यसैले त्यसको बीमा गरिएको हुन्छ। बैंकहरूले सुनको मूल्यको ७० प्रतिशतसम्म कर्जा दिने गर्छन्।
रेग्मीले ग्राहकको लकरमा राखेका अन्य सुन तथा बहुमूल्य सामग्री भने सुरक्षित रहेको पनि स्पष्ट पारेका छन्।