राष्ट्र बैंकको प्रकाशित तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गत भदौमा कर्जामा लिइरहेको ब्याजदर औसत ७.६६ प्रतिशत छ।
उपलब्ध तथ्यांक अनुसार यो करिब १४ वर्षयता कै न्यून हो। २०६८ फागुनयता राष्ट्र बैंकले मासिक रूपमा औसत ब्याजदर सार्वजनिक गर्न थालेको हो। अहिले आएको कर्जाको ब्याजदर त्यसयताकै न्यून हो।
त्यसअघि भने राष्ट्र बैंकले बैंकिङ क्षेत्रको न्यूनतम र अधिकतम ब्याजदरको तथ्यांक सार्वजनिक गर्ने गरेको थियो।
२०६८ ताका बैंकहरूको औसत ब्याजदर १४ प्रतिशतभन्दा माथि थियो। त्यसयता कर्जाको औसत ब्याजदर एकाध पटक ८ प्रतिशतसम्म तल ओर्लिएको थियो। अहिले ब्याजदर ८ प्रतिशतभन्दा पनि तल आइपुगेको हो।
ब्याजदर दशकैको न्यून विन्दुमा आइपुग्दा पनि कर्जाको माग भने बढ्न सकेको छैन। भदौमा बैंकहरूले निजी क्षेत्रतर्फ लगानी गरेको कर्जाको वार्षिक वृद्धिदर ७.८ प्रतिशत छ। तर, असारयता कर्जा मात्रै ०.८९ प्रतिशतले बढेको छ।
असारमा कर्जा (उठ्न बाँकी ब्याजबाहेक) ५४ खर्ब ५७ अर्ब रहेकोमा भदौमा ५५ खर्ब ४६ अर्ब रूपैयाँ छ।
उठ्न बाँकी ब्याज सहितको यस्तो लगानी रकम ५६ खर्ब १७ अर्बबाट बढेर ५७ खर्ब चार अर्ब रूपैयाँ पुगेको छ।
कर्जा बढ्न अझै केही समय लाग्ने पूर्वबैंकर भुवन दाहाल बताउँछन्।
‘राजनीतिक वातावरण अझै तरल छ, व्यवसायीहरूले कर्जाको माग बढाउन सकिरहेका छैनन्,’ दाहालले भने, ‘रेमिटेन्स बढेको कारण बैंकहरूमा पैसा भित्रिरहे पनि त्यही अनुसार कर्जा नजाँदा लगानीयोग्य पुँजी थुप्रिरहेको छ।’
बैंकहरूको कर्जा लगानी नबढ्दा उनीहरूले थुप्रिएको पैसा लगेर राष्ट्र बैंकमा ‘पार्क’ गरिरहेका छन्। बैंकहरूले आइतबारसम्म राष्ट्र बैंकमा सात खर्ब ८० अर्ब रूपैयाँ राखेका छन्।
निक्षेप संकलन उपकरणमार्फत् एक खर्ब ७० अर्ब रूपैयाँ र स्थायी निक्षेप सुविधा अन्तर्गत ६ खर्ब १० अर्ब रूपैयाँ राखेका हुन्।
निक्षेप संकलन उपकरणमा औसत २.७३ प्रतिशत ब्याजदरमा पैसा राखेका हुन् भने तीन दिनको लागि स्थायी निक्षेप सुविधामा तीन प्रतिशत ब्याजदरमा रकम राखेका हुन्।
करिब दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप थुप्रिने तर कर्जा लगानी भने अपेक्षित दरमा नबढ्ने हुँदै आएको छ।
राष्ट्र बैंकको पछिल्लो कात्तिक ११ गतेसम्मको तथ्यांक अनुसार बैंकहरूमा रहेको निक्षेप रकम ७४ खर्ब ७५ अर्ब रूपैयाँ पुगेको र कर्जा लगानी ५६ खर्ब ३५ अर्ब रूपैयाँ पुगेको छ।