पछिल्लो समय अधिकांस उद्योगहरुको उत्पादन बढेको छ। विद्युत आपूर्तिमा सहजता, राजनीतिक अवरोधमा कमी जस्ता कारणले नेपाली उद्योगकको उत्पादन बढ्दै गएको छ।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार पछिल्लो दुई वर्षमा अधिकांस उद्योगहरुको उत्पादन बढेको पाइएको छ।
देशका विभिन्न क्षेत्रमा रहेका उद्योगहरुको औद्योगित उत्पादन, क्षमता उपायोग जस्ता विषयमा अध्ययन गरेको केन्द्रिय बैंकले पछिल्लो दुईवर्षको अवधिमा उत्पादन र क्षमता उपयोग बढेको देखाएको छ।
राष्ट्र बैंकका अनुसार ३० प्रकारका उद्योगहरुको उत्पादन बढेको छ, १० वटाको घटेको छ।
प्रत्येक दुईवर्षको फरकमा आर्थिक गतिविधि अध्ययन गर्ने राष्ट्र बैंकका अनुसार २०७१ को तुलनामा २०७३ मा सबैभन्दा बढी निर्माण सामग्रीसँग सम्बन्धि उद्योगको उत्पादन बढेको छ।
यो बीचमा गहुँको पिठोको उत्पादन १४६ प्रतिशतले बढेको छ। त्यस्तै फलामे छड १०९, जिआइ पाइप ८२, सिमेन्ट ५८ प्रतिशतले बढेको छ।
भूकम्पपछि घर तथा पूर्वाधार निर्माणमा द्रुतता आएकोले त्यसमा आवस्यक सामग्रीको उत्पादन पनि बढेको व्यवसायीहरुको भनाइ छ।
खाद्यन्नको उत्पादन पनि पछिल्लो अवधिमा उल्लेख्य बढेको छ। भटमासको तेल,वनस्पती घिउ, चाउचाउ जस्ता उत्पादन पनि बढेका छन्।
विस २०७३ साल कात्तिकदेखि औद्योगिक क्षेत्रको लोडसेडिङ घटेको र विद्युत आपूर्ति भरपर्दो हुँदै गएकोले पनि उत्पादकत्व बृद्धिमा भुमिका खेलेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाइ छ।
यो बीचमा उत्पादन बढेकोमात्र होइन घटेको पनि छ। अध्ययनअनुसार चिनी, गार्मेन्ट, छाला, चिरेको काठ, बिजुलीको तार र जुत्ताको उत्पादन घटेको छ।
सरकारी नीतिकै कारण कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको व्यवसायीहरुको आरोप छ। चिनी, जुत्ता जस्ता उत्पादनमा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेर स्वदेशी उत्पादन घट्दै गएको उनीहरुको आरोप छ।
त्यस्तै कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर एउटै हुँदा स्वदेशी उद्योगले उत्पादन गर्नैनसक्ने अवस्था आएको उनीहरुको आरोप छ।