निजी क्षेत्रबाट संचालित अन्तर्राष्ट्रिय हवाई सेवाप्रदायक हिमालय एयरलाइन्सले तेस्रो वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा हिमालय एयरलाइन्सले उडानकै क्रममा यात्रुहरुबीच खुसी साटासाटसँगै अन्य कार्यक्रम गरेर मनाएको हो।
उक्त अवसरमा काठमाडौंबाट कतारको दोहा, दुबई र मलेसियाको क्वालालम्पुरका लागि यात्रा गर्नेहरुलाई उडानकै क्रममा ‘रेड भेल्भेट कपकेक वितरण’ गरी खुशीयाली साटासाट गरिएका हिमालयले जानकारी दिएको छ।
सन् २०१४ मा स्थापना भएको हिमालयसँग तीनवटा ए३२० एयरबस विमान सञ्चालनमा छन्।
सन् २०१७ मा हिमालयले १ लाख ७९ हजार यात्रुलाई सेवा दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एयरलाइन्स सबैभन्दा बढी यात्रु बोक्नेहरुको सूचीमा सातौ स्थानमा छ।
चीनको तिब्बत एयरलाइन्सको पनि लगानी रहेको हिमालय एयरलाइन्स तीनवटा ए३२० सिरिजका विमानमा मध्यम आकारका बिजनेस क्लासमा ८ र इकोनोमी क्लासमा १५८ सिट छन्। हिमालयले हप्तामा २२ उडान गरिरहेको छ।