सरकारले नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति तथा दायित्व खाद्य संस्थानमा गाभेर राष्ट्रिय कम्पनी खडा गर्ने भएको छ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्दै सो योजना सार्वजनिक गरेका हुन्।
सरकारले यसरी बन्ने आपूर्ति कम्पनीलाई राज्यले तोकेको समर्थन मूल्यमा खाद्य वस्तुको खरिद गर्ने र सुलभ तथा सुनिश्चित आपूर्तिको जिम्मा दिइनेछ।
सरकारले यसमार्फत आपूर्ति प्रणालीमा सुधार गरी सबै प्रकारको वस्तु तथा सेवाको एकाधिकार र मूल्य मिलोमतोको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिएको छ।
‘नेश्नल ट्रेडिङको सम्पत्ति खाद्य संस्थानमा गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाइनेछ। यस कम्पनीमार्फत राज्यले तोकेको समर्थन मूल्यमा खाद्य वस्तु खरिद गर्ने र त्यस्ता वस्तुहरुको सुलभ आपूर्ति गरी वस्तु तथा सेवा क्षेत्रको एकाधिकारको स्थितिको अन्त्य गरिनेछ,’ बजेटमा भनिएको छ।
यससँगै प्रत्येक स्थानीय तहमा सहकारी संस्थाहरु मार्फत सुपथ मूल्य पसल खोलिने तथा राज्य सुरक्षा परिचयपत्र भएका नागरिकलाई सुपथ मूल्यमा आधारभुत खाद्यान्न प्रदान गर्न अनुदान दिने सरकारले योजना बनाएको छ।
यद्यपी सरकारले राज्य सुरक्षा परिचयपत्र कहिलेसम्म वितरण गरिने भन्ने केही खुलाइएको छैन।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले सो योजना अघि सारेको हो।
मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलका अनुसार यसरी बन्ने नयाँ कम्पनीलाई चामल, तेल, दाल, मल, चिनी विभिन्न १० अत्यावश्यक वस्तुको आयात गरी देशभर विक्री वितरण गर्ने जिम्मा दिइनेछ।
हाल खाद्य संस्थानले खाद्य वस्तु खरिद, संकलन, सञ्चय तथा वितरण गर्ने जिम्मा पाएको छ। देशभरका कार्यलयमार्फत सस्ंथानले धान, चामल, गहुँ, कर्णालीको सिमी, फापर लगायतका वस्तु विक्री वितरण गर्दै आएको छ।
सरकारले तोकेको २३ दुर्गम क्षेत्रमा अनुदानको खाद्यान्न आपूर्ति गर्ने जिम्मा पनि यस संस्थानले लिएको छ।
तर घाटा चुलिँदै गएर सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै तत्कालिन शेरबहादुर देउवाको सरकारले गत माघमा नेसनल ट्रेडिङ खारेज गर्ने निर्णय गरेको थियो।
खारेज हुनुपूर्वका केही वर्षसम्म नेशनल ट्रेडिङ कामबिहिन अवस्थामा पुगेको थियो।
स्थापनाको लामो समयसम्म कम्पनीले मल, चिनी, मदिरा, ग्यासलगायतका वस्तु आपूर्ति गरी विक्री गर्दे आएको थियो। पछिल्लो समय संस्थानले चीनले अनुदानमा उपलब्ध गराएको इण्डक्सन चुलो विक्री गरेको थियो।
बढ्दै गएको ऋण तथा सबै कर्मचारीलाई अवकाश दिनलाई नेसनल ट्रेडिङले टेकुमा रहेको ५० रोपनी जग्गा बेच्नुपरेको थियो। टेकुको जग्गा बेचे पनि ट्रेडिङको काठमाडौं, विराटनगर, बीरगञ्ज, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत, महेन्द्रनगरलगायतका स्थानमा जग्गा छ।
जग्गा, भवन, गोदाम सबै जोड्ने हो भने ट्रेडिङसँग देशभर करिब २५ अर्ब बराबरको सम्पत्ति छ। यी सबै संरचनालाई पुनः प्रयोगमा ल्याउने गरी सरकारले नयाँ आपूर्ति कम्पनी बनाउन लागेको हो।
‘नेसनल ट्रेडिङको देशभर जग्गा तथा गोदामहरु छन् जुन अहिले प्रयोगबिहिन अवस्थामा रहेका छन्। त्यसको समुचित उपभोग हुने गरी नयाँ कम्पनीको मोडलमा जान लागेका हौँ’, पौडेलले भने।
पौडेलले यसअघिको असफलताबाट पाठ सिक्दै नयाँ कम्पनीमार्फत प्रभावकारी कार्य सम्पादन गर्ने गरी कार्ययोजना समेत तयार गरिएको दाबी समेत गरे।
पौडेलले नयाँ बन्ने कम्पनी प्रादेशिक संरचना अनुसारको हुने समेत बताए। ‘यसरी बन्ने कम्पनीले प्रादेशिक संरचनाको ढाँचामा लान्छौँ। यसले स्थानीय तहसम्म पुर्याइ प्रभावकारी सेवा प्रवाह गर्ने गरी कार्ययोजना मन्त्रालयले बनाइरहेको छ’, पौडेलले भने।