ट्यांकर चालकले तेल नबोकेपछि राजधानी लगायत आसपास क्षेत्रका अधिकांश पेट्रोल पम्प बन्द छन्। पेट्रोलियम पदार्थको ढुवानी गर्नेक्रममा रक्सौल नाकाका भारतीय प्रहरीले दुब्र्यब्यवहार गरेको भन्दै चालकले दुई दिनयता तेल बोकेका ट्याङकर गुडाएका छैनन्।
भारतीय प्रहरीले कुटपिट गरेको भन्दै चालकहरुले रक्सौल नाकाबाट तेल उठाएका छैन्न भने थानकोट र अमलेखगन्ज डिपोबाट समेत पम्पहरुसम्म ढुवानी गरेका छैनन्।
यस कारण राजधानीका अधिकांश पम्प तेल नभएर बन्द गर्नुपरेको नेपाल पेट्रोलियम डिलर एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए।
‘चालकको हड्तालका कारण तेल लोड/अनलोड हुन सकेको छैन, हामीसँग भएको तेल बेचिसक्यौँ। त्यसैले तेल नभएका कारण पम्प बन्द भएका हुन्’, प्रधानले सेतोपाटीसँग भने।
प्रधानले आइतबार चालकको हड्ताल, शनिबार सार्वजनिक बिदा परेको हुँदा तेल अभावको समस्या देखिएको बताए। त्यस्तै शनिबार मूल्य बढाउने तयारीमा रहेको निगमले शुक्रबार पम्पहरुलाई पठाउने तेलको अनुपात घटाएका कारण पनि पम्पहरुमा तेल अभाव भएको प्रधानको दाबी छ।
नेपाल आयाल निगमले भने चालकसँगको हड्ताल सोमबार दिउँसोबाट अन्त्य भएसँगै तेल लोडिङको कार्य सुरु भइसकेको बताएको छ।
निगमका प्रवक्ता बिरेन्द्र गोइतले चालकहरुले हड्ताल छाडेर काममा फर्किसकेको भन्दै नियमित ढुवानी सुरु भइसकेको बताए।
‘आपूर्ति मन्त्रलायलाई चालकहरुले ब्योहर्नुपरेको समस्याका बारेमा अवगत गराएका छौँ। मन्त्रालयले भारतीय प्रशासनसँग समन्वय गरेर स्थिति सहज बनाएपछि चालकहरु नियमित काममा फर्किसकेका छन्’, गोइतले भने।
गोइतका अनुसार सोमबार मध्यान्हदेखि थानकोटसहितको डिपोबाट पम्पहरुमा तेल ढुवानी सुरु भइसकेकाले साँझबाट तेल अभावको समस्या सुल्झने दाबी गर्छन्।
पम्प सञ्चालक लिलेन्द्र प्रधानले समेत तेल लोड भएर आउन लागेको जानकारी पाएको भन्दै साँझसम्म पम्पहरु खुल्ने तथा वितरणको कार्य सुरु गरिने जानकारी दिए।
यद्यपी तेल एक दिन नपाउँदा उपभोक्तामाझ त्रास फैलने गरेको भन्दै प्रधानले आफ्नो साधनमा तेल भएका उपभोक्तालाई लाइनमा नबस्न आग्रह गरे। प्रधानले तेल वितरण नियमितरुपमा सुरु भइसकेकाले उपभोक्तालाई नआत्तिन समेत आग्रह गरे।
‘तेलको आपूर्ति सहज भइसकेको छ। तर एक दिन तेल नपाउँदा उपभोक्तामा अभावको आशंका हुन्छ, सबै जना लाइनमा आएर बस्ने र फुल ट्याङकी तेल हाल्ने गर्नुहुन्छ’, प्रधानले भने, ‘यसले गर्दा पम्पहरुमा अनावश्यक भीड जम्मा हुन्छ भने वितरण राम्रोसँग गर्न नसकिने भएकाले त्यसो नगर्न म सबै उपभोक्तासँग आग्रह गर्छु।’
काठमाडौं उपत्यकामा मात्रै हरेक दिन ५ लाख लिटर पेट्रोल तथा ९ लाख लिटर डिजेलको माग हुने गरेको छ।
तस्वीरः निशा भण्डारी/सेतोपाटी