व्यवसायमा बौद्धिक सम्पत्तिको रूपमा मानिने ट्रेडमार्कको दर्ता नेपालमा उत्साहजनक देखिएको छ। उद्योग विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१६ देखि गत जुलाईसम्म ६ हजार १५५ ओटा ट्रेडमार्क दर्ता भएका छन्।
सन् २०१६ मा स्वदेशी र विदेशी गरी २ हजार ७ सय ६ ओटा ट्रेडमार्क दर्ता भएकोमा सन् २०१७ मा २ हजार ९१ ओटा र सन् २०१८ को जुलाई अन्तिम सम्ममा १ हजार ३ सय ५८ ओटा दर्ता भएका छन्। उत्तिकै महत्व भएको पेटेन्ट र डिजाइनको दर्ता भने न्युन देखिएको छ ।
पेटेन्ट सन् २०१६ र सन् २०१७ मा दर्ता भएका छैनन् भने सन् २०१८ को सोही समयमा ३ ओटा दर्ता भएका छन्।
त्यसैगरी स्वदेशी र विदेशी गरी डिजाइन सन् २०१६ मा ३१ ओटा, २०१७ मा १६ ओटा र सन् २०१८ को सोही समयमा १० ओटा दर्ता भएका छन्।
बौद्धिक सम्पत्ति | २०१६ | २०१७ | २०१८ (जुलाई ३१ सम्म) |
| स्वदेशी | विदेशी | स्वदेशी | विदेशी | स्वदेशी | विदेशी |
ट्रेडमार्क | ११६९ | १६१७ | १००९ | १०८२ | ६७८ | ६८० |
पेटेन्ट | ० | ० | ० | ० | ३ | ० |
डिजाइन | १० | २१ | ३ | १३ | ८ | २ |
जम्मा | ११७९ | १६३८ | १०१२ | १०९५ | ६८९ | ६८२ |
नेपालमा पेटेन्ट र डिजाइनको महत्व नबुझ्नाले दर्ता सङ्ख्या न्युन भएको सरोकारवालाहरू बताउँछन्। उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले पेटेन्ट र डिजाइनमा निवेदन नै कम आउने गरेको बताए।
‘हक अधिकार सुनिश्चित गर्न दर्ता अत्यावश्यक छ, यद्यपि सम्बन्धित निकाय तथा व्यक्तिहरूले कम चासो दिएका छन्। यसप्रति ध्यानाकर्षण हुन जरूरी छ’ उनले भने।
अन्य मुलुकमा पेटेन्ट तथा डिजाइनलाई जति महत्व दिइन्छ हाम्रोमा त्यत्ति महत्व दिएको पाइँदैन। आफ्नो घर–जग्गाको हक अधिकार सुरक्षाका लागि जसरी धनीपुर्जा बनाइन्छ, त्यसरी नै आफुले आविष्कार गरेको वस्तु, प्रविधि वा डिजाइन लगायतको हक अधिकार सुनिश्चित गर्नका लागि पेटेन्ट दर्ता गर्नुपर्ने उनको भनाई छ। उनका अनुसार पेटेन्ट तथा डिजाइन दर्ता गर्दा भविष्यमा रोयल्टी खोज्न तथा कानुनी प्रक्रियामा अघि बढ्न समेत सहज हुन्छ।
दर्ता प्रक्रियालाई बढावा दिन सरकारले पेटेन्ट, डिजाइन तथा ट्रेडमार्कको महत्वका सम्बन्धमा चेतना बढाउने खालका सैद्धान्तिक तथा प्रयोगात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको विभागले दावी गरेको छ।
पेटेन्ट तथा डिजाइनका विज्ञ अधिवक्ता सुवास पाठक दर्ताको प्रक्रिया निकै झन्झटिलो रहेकाले पेटेन्ट र डिजाइनप्रति आकर्षण नबढेको बताउँछन्।
सरकारले यी विषयहरूको महत्व दर्शाउन नसकेको, प्रचार तथा जनचेतनाका कार्यक्रमहरू अघि बढाउन नसकेको उनको भनाई छ। उनका अनुसार पेटेन्ट तथा डिजाइनप्रति आकर्षण बढाउने हो भने दर्ता प्रक्रियालाई सहज बनाउन आवश्यक छ।
ट्रेडमार्क कुनै कम्पनी वा उद्योगको आफ्नो व्यापारिक चिह्न या लोगो हो। यस्तै पेटेन्ट भनेको प्रयोगकर्ताको अधिकार हो। कुनै वस्तुको उत्पादन वा आविष्कार गर्दा राज्यले सो व्यक्ति वा संस्थालाई वस्तुको प्रयोग, उत्पादन र बिक्रीका लागि दिने अधिकार नै पेटेन्ट हो।
डिजाइन भनेको कुनै वस्तुलक्षित आविष्कार वा उत्पादन झल्काउने आकार हो।