गत सोमबार काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा अनुगमन गर्न गएको सरकारी टोलीलाई घेराउ गर्दै व्यापारी तथा बिचौलियाले ४ घन्टासम्म नियन्त्रणमा लिए। अनुगमन नै प्रभावित भयो।
सोही घटनालाई लिएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादबले विहिबार पत्रकार सम्मेलन गरी अनुगमनमा बाधा पुर्याउनेलाई कडा भन्दा कडा सजाय दिने प्रतिबद्धता जनाए।
उनले प्रतिबद्धता जनाएको १ दिन पुरा नहुँदै अनुगमन कार्यमा फेरी बाधा पुर्याइएको छ। शुक्रबार रुपन्देहीको गल्लामण्डीमा अनुगमन गर्न गएको मन्त्रालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीलाई व्यापारीहरुले अवरोध गरेका छन्।
व्यापारीहरुले अनुगमन टोलीलाई घेराउ गरी हातपात गर्ने प्रयास गरेपछि अनुगमन नै अवरुद्ध भएको मन्त्रालय स्वकीय सचिवालयका जनसम्पर्क अधिकृत यज्ञराज खरेलले जानकारी दिए।
रूपन्देही उद्योग वाणिज्य सङ्घका महासचिव तथा सिद्धार्थनगरका व्यवसायी प्रतिनिधि नेत्र आचार्यले अनुगमन कार्यमा बाधा पुर्याएर अभद्र व्यवहार गरेको अधिकृत खरेलले सेतोपाटीलाई फोनमार्फत जानकारी दिए।
स्थानीय निकायले सुरक्षा नदिएसम्म अब अनुगमन गर्न नसकिने उनले बताए। ‘हामी नै असुरक्षित हुन थालेपछि अनुगमन गर्ने अवस्था रहँदैन, आइतबारसम्म अनुगमन स्थगित भएको छ’ खरेलले भने।
अभद्र व्यवहार गर्नेलाई कारवाही तथा थप सुरक्षाका लागि जिल्ला प्रशासन कार्यलय प्रमुखसँग आइतबार छलफल गरेर मात्रै अनुगमन अगाडि बढाइने उनले बताए।
अभद्र व्यवहार हुनुअघि अनुगमनका क्रममा केही व्यवसायिक फर्ममा शिलबन्दी गरिएको छ। चामल प्याकिङको अनुमति नलिई प्याकिङ तथा विक्री वितरण गर्ने मीना खाद्यान्न भण्डारमा शिलबन्दी गरिएको छ।
साथै न्यु सिद्धार्थ राइस मिलको कारोबार रोक्का गरिएको छ। टोलीले यसअघि बिहीबार भैरहवाका पसलहरूमा समेत अनुगमन गरेको थियो।
अनुगमनका क्रममा अग्नी र सिद्धार्थ सिमेन्टमा तोकिएभन्दा कम तौल पाएपछि ७ दिन भित्रमा मन्त्रालयमा स्पष्टिकरण दिन टोलीले निर्देशन दिएको थियो।