प्रत्येक प्रदेशमा खुल्ने प्रत्येक औद्योगिक क्षेत्रमा फरकफरक उद्योग हुने भएका छन्। एउटामा उत्पादन भएको वस्तुले अरुलाई असर नगरोस भनेर सरकारले एउटा क्षेत्रमा एकै खालमा उद्योग र प्रत्येक क्षेत्र फरक वस्तु केन्द्रित हुने भएका छन्।
औद्योगिक क्षेत्र व्यवस्थापनले प्रदेशगत नयाँ औद्योगिक क्षेत्र समुहतगरूपमा खोल्ने भएको छ । एउटा उद्योगबाट उत्पादित बस्तुले अर्को उद्योगबाट उत्पादित बस्तुलाई असर नगरोस् भन्ने उद्देश्यले समुहगतरूपमा उद्योग खोल्ने भएको हो ।
व्यवस्थापनका महा प्रबन्धक नन्दकिशोर बस्नेतले उद्योगलाई व्यवस्थित गर्नुको साथै सरलीकरण गर्न समुहगत उद्योगधन्दा खोल्ने तयारी गरेको बताए ।
अब बन्ने औद्योगिक क्षेत्र नयाँ तरिकाले विस्तार हुने बस्नेत बताउँछन्। नयाँ औद्योगिक क्षेत्रमा पहिले जस्तो कृषिमूलक, उत्पादनमूक, निर्माणजन्य उद्योगलाई एकै ठाउँमा नराखी छुट्याएर राखिने उनको भनाइ छ ।
‘चितवनको शक्तिखोरमा १७ सय ४१ विघा जग्गामा डिपिआरको काम भइरहेको छ। बाटो विजुली पानी, प्रशासनिक भवनलाई क्षेत्र छुट्याएर १ हजार विघामा आौद्योगिक क्षेत्र खोल्छोैँ’ उनले भने ‘त्यसमा ३÷३ सय विघाको एउटा क्षेत्र छुट्याइदिन्छौँ जसमा साना, मझौला र बाँकीमा ठूला उद्योग आउने छन्।’
उनका अनुसार अबको औद्योगिक क्षेत्र समूहगतरूपमा बाँडिने छ। ५ नम्बर प्रदेशमा रूपन्देहीको मोतिपूर, बाँकेको नौबस्ता र दाङको लक्ष्मीपुर अहिले सिमेन्ट हब बनेको छ।
त्यहाँको स्थानीय सरकारले देशका सबै सिमेन्ट उद्योगलाई एकै ठाउँमा राख्ने प्रस्ताव राखेका छन्। ‘अब हामी उद्योगहरूलाई समूहगत रूपमा राख्ने सोच बनाइरहेका छौँ,’ उनले भने ‘क्षेत्रगत रूपमा कस्ता कस्ता उद्योग आउन सक्छ अध्ययन गरिरहेका छौँ।’
बस्नेतका अनुसार भदौको अन्तिमसम्ममा प्रदेश ३ को हेटौँडा, ५ कोे मोतिपुर र नौबस्ता गरी ३ ठाउँमा औद्योगिक क्षेत्रका लागि कार्यालय निर्माण गर्ने गरी काम भइरहेको छ।
बस्नेतले सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर बनाइएको कार्यतालिका अनुसार भदौ महिनाभरिमा कार्यालय खोली, ट्रयाक खोल्ने, जग्गा सम्याउनेलगायतका काम हुने बताए।
बस्नेतका अनुसार प्रदेश २ मा सर्लाहीको मुर्तीया, ३ मा काभ्रेको पनौती, ४ मा गोर्खाको च्याङ्ली र तनहुँको चिन्तुटार, ५ मा दाङका लक्ष्मीपूर, ६ मा दैलेखको चुप्रा र कैलालीको लम्कीमा गरी ७ ठाउँमा वातावरणीय अध्ययन सकेर नेपाल सरकारबाट औद्योगिक क्षेत्र घोषणा हुन मन्त्री परिषद्मा लगिएको छ। त्यहाँ कमिटी बनाएर काम भइरहेको उनले जानकारी दिए।
पुराना १० बाहेक १७ ठाउँमा नयाँ औद्योगिक क्षेत्रको काम हुँदै छ। कुनै ठाउँमा डिपिआरको काम र कतै इआइएको काम भइरहेको बस्नेतले बताए।
‘रोजगारको प्रमुख केन्द्र भएकोले सबैतिरबाट औद्योगिक क्षेत्रको माग आएइरहेका छ। अन्य ठाउँमा पनि संभाब्यता अध्ययन गरिरहेका छौँ’ उनले भने।