नेपालमा वैदेशिक लगानीकर्ताले प्रतिबद्धता गरेको एक तिहाई मात्र भित्रिने गरेको छ।
वैदेशिक लगानीका लागि अनुमति लिँदा प्रतिबद्धता जनाएको रकमको एक तिहाई मात्र भित्रिने गरेको हो। २०७२/०७३ मा प्रतिवद्धता गरिएको रकमको ३८ दशमलब ८१ प्रतिशत मात्र वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ।
उक्त वर्ष १५ अर्ब २५ करोड रूपैयाँ भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएपनि ५ अर्ब ९२ करोड मात्र भित्रिएको थियो। त्यस्तै २०७४/०७५ मा प्रतिबद्धता गरिएको रकमको ३१ दशमलब ४६ प्रतिशत विदेशी लगानी भित्रिएको छ। ५५ अर्ब ५५ करोड रूपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएपनि १७ अर्ब ५१ करोड २८ लाख रूपैयाँ मात्र रकम भित्रिएको छ।
तीन आर्थिक वर्षमध्ये आव २०७३/०७४ मा भने प्रतिबद्धता गरिएको रकमको सबैभन्दा बढी ८८ दशमलब ८० प्रतिशत रकमा भित्रिएको तथ्याङ्कले देखाउँछ। यस आवमा १५ अर्ब २० करोड ६४ लाख रूपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएकोमा १३ अर्ब ५० करोड ३९ लाख रूपैयाँ भित्रिएको थियो।
आर्थिक वर्ष | प्रतिबद्धता गरिएको रकम (दश लाखमा) | भित्रिएको रकम (दश लाखमा) | प्रतिबद्धतामा लगानी प्रतिशत |
२०७२/०७३ | १५,२५४.३३ | ५९२०.९ | ३८.८१ |
२०७३/०७४ | १५,२०६.४६ | १३५०३.९ | ८८.८० |
२०७४/०७५ | ५५,६५०.७७ | १७५१२.८ | ३१.४६ |
श्रोतः उद्योग विभाग तथा नेपाल राष्ट्र बैङ्क
उद्योग विभागमा रहेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण महाशाखाका निर्देशक प्रशान्त बोहोराले उद्योगीले चाहेअनुरूपको उपयुक्त वातावरण नभएर पनि प्रतिबद्धता गरिएअनुरूपको रकम भित्रिन नसकेको बताए।
‘उद्योगीले उपयुक्त वातावरण मिले यो परियोजनाको उद्योग खोल्छु भनेर प्रतिबद्धता गरेको हुन्छ, सोही अनुरूपको वातावरणको अभावले पनि रकम नभित्रिएको हो’ उनले भने।
उद्योग विभागबाट वैदेशिक लगानी स्वीकृत लिएपछि लगानीकर्ताले नेपाल राष्ट्र बैंकको अनुमति लिएर लगानी नेपाल ल्याउँछन्। लगानीकर्ताले जति रकम नेपाल भित्र्याए ती सबै रकम नेपाल राष्ट्र बैङ्कमा लेखाङ्कन नभएर पनि भित्रिएको रकम कम देखिएको उनको भनाई छ। पछिल्ला आवमा भने केन्द्रीय बैङ्कले अनिवार्य लेखाङ्कन गर्ने गर्नाले पनि भित्रिएको रकम बढेको देखिएको निर्देशक बोहोरा बताउँछन्।
नेपालमा विदेशी लगानी ल्याउँदा राष्ट्र बैंकको अनुमति नभए लाभांस लिन नपाइने व्यवस्था छ। यद्यपी कानून छल्दै गैरबैंकिङ च्यानलबाट लगानी आइरहेको सरकारी अधिकारीको आशंका छ।
नेपालमा कूल १ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार २५२ फार्ममा चुक्ता पूँजी भने एक तिहाईमात्र रहेको छ।