उपत्यकाभित्र सञ्चालनमा रहेका अधिकांश ग्रील तथा स्टिल उद्योगहरू दर्ताविहीन छन्। प्रक्रिया झन्झटिलो भएकाले उद्योग दर्ता गर्न नसकेको उद्योगीको गुनासो छ।
नेपालमा ११ हजारको हाराहारीमा ग्रील तथा स्टिल व्यवसायीहरू छन्। जसमा २० प्रतिशतभन्दा बढी उद्योग दर्ता नभएको ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवाल स्वीकार्छन्।
घनाबस्ती भएको गाउँ तथा नगरमा व्यवसाय दर्ता गरेर चलाउन चार किल्लाको सिफारिस नै प्रमुख समस्या बनेको उनले बताए।
‘उद्योग वरिपरि ध्वनी तथा वायू प्रदूषणले अवरोध हुने भएकाले स्थानीय बासिन्दाले चार किल्ला सिफारिस दिँदैनन्। त्यो नभएसम्म उद्योग नै दर्ता हुँदैन’ अध्यक्ष कटुवालले भने।
‘राति काम नगर्ने, आवतजावतमा बाधा नपुर्याउने, निस्केको फोहोर आफैं व्यवस्थापन गरी वातावरणमैत्री उद्योग सञ्चालन गर्ने भनेर आचार संहितामै भनिएको छ’ उनले भने ‘सचिवस्तरीय बैठकबाट आचारसंहिता पारित भए पनि अहिले सरकारले चार किल्ला सिफारिसबिना दर्ता गर्दैन।’
सिफारिस नभए स्थानीयले जति खेर पनि हटाउन सक्छन्। सर्वसाधारणलाई उद्योगबाट कुनै असर नपरोस्, भोलि विवादरहित होस् भन्ने उद्देश्यले नै चार किल्ला अनिवार्य गरिएको उद्योग विभागका एक अधिकारीले बताए।
सबै उद्योग दर्ता नहुँदा लाखौं राजश्व रकम गुमिरहेको छ।
‘२० औं वर्षसम्म दर्ता नगरी चलाउँदा केही नहुने, तर राज्यलाई राजश्व बुझाउँछु, कानूनी दायरामा आउँछौँ भन्दा वेवास्ता गर्ने?’ अध्यक्ष कटुवालले भने।
पहिला उद्योगधन्दा प्यान र घरेलु उद्योगमा मात्र दर्ता गरे हुन्थ्यो देश सङ्घीयतामा गएपछि स्थानीय तहमा पनि दर्ता गर्नुपर्ने नियम छ। स्थानीय तहमा जाँदा जरिवानासहित उद्योग खुलेदेखिको कर तिर्न भन्ने गरेको अध्यक्ष कटुवालको गुनासो छ। उद्योग दर्ता नभएपछि बैंकले ऋण समेत नदिने भएकाले व्यवसाय विस्तार गर्न नसकिएको उद्योगी बताउँछन्।
देशमा अरबौँको मेटल फेब्रिक बाहिरबाट आयात हुने गरेको छ। अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्ति अभावले ७५ प्रतिशत मात्रै नेपाली बजार धान्न सकेको अध्यक्ष कटुवाल बताउँछन्।
‘उद्योगलाई सरकारले प्रोत्साहन दिने हो भने यहाँको सबै माग धान्न सक्छौं’ उनले भने। उद्योगीका अनुसार सरकारले सिटिइभिटिईबाट ग्रील तथा स्टिलको कामका लागि तालिम दिने गरेको छ।
यद्यपि भारत, बङ्गलादेशबाट जनशक्ति ल्याएर काम गराउनु परेको र यहाँका जनशक्ति विदेसिने गरेको उनीहरुको भनाइ छ। कटुवालका अनुसार नेपालमा सञ्चालित ग्रील तथा स्टिल व्यवसायमा १ लाख ६० हजार दक्ष र अर्धदक्ष जनशक्ति कार्यरत छन्। जसमा अझै २० हजारभन्दा बढी जनशक्ति आवश्यक छ।
ग्रील तथा स्टिल व्यवसाय भन्नाले नेपालमा आवश्यक हुने मेटल फेब्रिकेटिक सम्बन्धि सम्पूर्ण काम हुने क्षेत्र हो। यो व्यवसाय काठको विकल्प हो। झ्याल ढोकादेखि घर बनाउन चाहिने सामानमा पहिले काठको प्रयोग हुन्थ्यो भने अहिले अधिकांश सामान ग्रील तथा स्टिलको प्रयोग हुने गरेको छ।
यसको विकासले बनजंगलको विनाश हुनबाट रोकिने र वातावरण सन्तुलन राख्न मद्दत पुग्ने उद्योगीको भनाइ छ।
रेल, मनोरेल, कल कारखाना, अन्तर्राष्ट्रिय हवाई अड्डा सबैमा ग्रील तथा स्टिल प्रयोग हुने भएकाले विकासका कार्य अघि बढ्दै जाँदा यिनको माग थपिँदै जान्छ।