विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवा सेजमा उद्योग खोल्ने अनुमति लिएर पनि सञ्चालन प्रक्रियामा नआएकालाई ७ दिने अवधि थप गरेको छ।
बिहिबार गोरखापत्रमा अन्तिम पटक सूचना प्रकाशन गर्दै उद्योगीहरूलाई ७ दिन भित्रमा दर्ता तथा भू–बहाल सम्झौता गरी उद्योग स्थापनाको कार्य अगाडि बढाउन प्राधिकरणले आग्रह गरेको हो।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा सञ्चालन सम्झौता गर्न नआए उद्योग दर्ता आवेदन नियम अनुसार खारेजी हुने बताए।
प्राधिकरणले गत साउन ६ मा पहिलो पटक, भदौ १० गते दोस्रो पटक १५/१५ दिनको सूचना जारी गरी सम्झौता गर्न आग्रह गरेको थियो।
प्राधिकरणले सार्वजनिक सूचनामार्फत संचालनका लागि सम्झौता गर्न आह्वान गरेकोमा हालसम्म १८ उद्योगले सम्झौता गरेका छन्। बाँकी ६ उद्योगले सम्झौता गर्न चासो दिएका छैनन्।
एक्सल गार्मेन्ट प्रोसेसिङ इन्डष्ट्रिज र किरण सुज प्राविधिक तथा कानुनी समस्याले आएका छैनन्। मिनरल वाटर इन्डष्ट्रिज, एसियन थाई फुडस्, हर्बल सोप र जगदम्बा सेन्थेटिक्स् गरी पाँच उद्योगहरूसँग कुराकानी भईरहेको प्राधिकरणले जानकारी दिएको छ।
उद्योगीहरु भने ऐन नियमका कारण आफूहरु संचालन सम्झौता गर्न नचाहेको बताउँछन्। एक्सल गार्मेन्ट प्रोसेसिङका प्रोप्राइटर महेन्द्र कुमार गोयलले सेजको ऐन र ‘आर्थिक विधेयक २०७५’ मा भएको नीति नियम एक अर्कामा बाझिएकोले उद्योग सञ्चालन प्रक्रियामा नगएको बताए।
‘सञ्चालन प्रक्रियामा जाने बित्तिकै भु–वहाल बुझाउनु पर्छ। भोलि दुई वटा ऐन बाझिँदा उद्योग खोल्नमा समस्या हृुन्छ कि भनेर अनुमति प्रक्रियामा नगएको हो।’
प्राधिकरणका अनुसार शक्ति मिनरल्स, एस प्लाष्टिक र न्युमेन्टल इन्डष्ट्रिज गरी ३ उद्योगले सबैभन्दा पहिले सम्झौता गरेका हुन्।
त्यस्तै एलइडी लाइट, सिद्धार्थ पाइप, सिद्धार्थ पेट, ग्रो व्यल इनोभेसन, नीर इन्डष्ट्रिज, वुद्ध न्याप्किन एण्ड टिस्यु पेपर, सुगम नानो हर्बल, आ.डि.एस. इलेक्ट्रिकल, पञ्चकन्या ग्रुप अन्तर्गतका ४ उद्योग, क्रियशन वल्र्ड वाइड उद्योग र गार्मेन्ट प्रोसेसिङ इन्डष्ट्रिज भैरहवा सेजमा दर्ता भएका छन्।
सेजमा भएका ६९ वटा प्लटमा ६० वटा प्लट उद्योगले ओगटेका छन्। दर्ता भएका उद्योगले १ लाख १० हजार ७९ दशमलब ३ वर्गमिटर क्षेत्रफल ओगटेका छन्। ती उद्योगहरूबाट ६ महिनाको अग्रिम भू वहाल शुल्क ८५ लाख रुपैयाँ प्राप्त भएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार यी उद्योग सञ्चालन भएबाट ३ सय भन्दा बढीले रोजगार पाउने छन्।
सेजमा स्थापित उद्योगहरूले आफ्नो उत्पादनको ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको प्राधिकरणले जानकारी दिएको छ । भैरहवा सेजमा हर्वल प्रशोधन, फुटवेयर, सेन्थेटिक प्लाष्टिक, पाइप, खनिजजन्य र कृषिमा आधारित लगायतका उद्योगहरू रहने छन्।