भैरहवा विशेष आर्थिक क्षेत्रका ६ उद्योग खारेज हुने भएका छन्।
विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवा सेजमा उद्योग खोल्ने अनुमति लिएर लामो समयसम्म सञ्चालन प्रक्रियामा नआएपछि उद्योग खारेज गर्ने बताएको छ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले पटकपटक सूचना प्रकाशन गर्दा पनि उद्योग सञ्चालन प्रक्रियामा नआएपछि भैरहवा सेजबाट उद्योग खारेज गरिने बताए ।
उद्योग खारेज हुनेमा एक्सल गार्मेन्ट प्रोसेसिङ इन्डष्ट्रिज, किरण सुज, मिनरल वाटर इन्डष्ट्रिज, एसियन थाई फुडस्, हर्बल सोप र जगदम्बा सेन्थेटिक्स् छन्।
‘अब ती ६ उद्योगहरूले भैरहवा सेजमा उद्योग खोल्न पाउँदैनन्। उद्योगीले चाहे भने सिमरा औद्योगिक क्षेत्रमा उद्योग खोल्न पाउने छन्’ उनले भने।
प्राधिकरणले साउन ६ मा पहिलो पटक, भदौ १० गते दोस्रो पटक १५ र १५ दिनको र गत बिहिबार गोरखापत्रमा अन्तिम पटक ७ दिनको सूचना प्रकाशन गर्दै उद्योगीहरूलाई दर्ता तथा भू–बहाल सम्झौता गरी उद्योग स्थापनाको कार्य अगाडि बढाउन आग्रह गरेको थियो ।
प्राधिकरणले सार्वजनिक सूचनामार्फत संचालनका लागि सम्झौता गर्न आह्वान गरेकोमा हालसम्म १८ उद्योगले सम्झौता गरेका छन्। बाँकी ६ उद्योगले सम्झौता गर्न चासो नदिएको प्राधिकरणको भनाइ छ।
उद्योगीहरू भने ऐन नियमका कारण आफूहरु संचालन सम्झौता गर्न नचाहेको बताउँछन्। आफूले पटक पटक निवेदन दिँदा पनि विशेष आर्थिक क्षेत्र प्राधिकरणले वेवास्ता गरेको उद्योगीको गुनासो छ।
प्राधिकरणका अनुसार शक्ति मिनरल्स, एस प्लाष्टिक र न्युमेन्टल इन्डष्ट्रिज गरी ३ उद्योगले सबैभन्दा पहिले सम्झौता गरेका हुन्।
त्यस्तै एलइडी लाइट, सिद्धार्थ पाइप, सिद्धार्थ पेट, ग्रो व्यल इनोभेसन, नीर इन्डष्ट्रिज, वुद्ध न्याप्किन एण्ड टिस्यु पेपर, सुगम नानो हर्बल, आ.डि.एस. इलेक्ट्रिकल, पञ्चकन्या ग्रुप अन्तर्गतका ४ उद्योग, क्रियशन वल्र्ड वाइड उद्योग र गार्मेन्ट प्रोसेसिङ इन्डष्ट्रिज भैरहवा सेजमा दर्ता भएका छन्।
सेजमा भएका ६९ वटा प्लटमा ६० वटा प्लट उद्योगले ओगटेका छन्। दर्ता भएका उद्योगले १ लाख १० हजार ७९ दशमलब ३ वर्ग्मिटर क्षेत्रफल ओगटेका छन्। ती उद्योगहरूबाट ६ महिनाको अग्रिम भू वहाल शुल्क ८५ लाख रुपैयाँ प्राप्त भएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार यी उद्योग सञ्चालन भएबाट ३ सय भन्दा बढीले रोजगार पाउने छन्।
सेजमा स्थापित उद्योगहरूले आफ्नो उत्पादनको ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको प्राधिकरणले जानकारी दिएको छ । भैरहवा सेजमा हर्वल प्रशोधन, फुटवेयर, सेन्थेटिक प्लाष्टिक, पाइप, खनिजजन्य र कृषिमा आधारित लगायतका उद्योगहरू रहने छन्।