सरकारले दसैँका लागि अग्रिम टिकट आइतबारबाट खुल्ने भनेपछि दाजुभाइ प्रेम र बखत केसी बिहानै नयाँ बसपार्क पुगेका थिए। बालाजु बस्दै आएका उनीहरूको घर जाजरकोट हो।
सबेरै पुगे पनि उनीहरूले टिकट बुकिङ गर्न पाएनन्।
‘आजबाट टिकट खुल्छ भनेर हामी बिहानदेखि आएका थियौं। टिकट काउन्टरमा आज खुलेको छैन, भोलिदेखि आउनू भन्नु भयो,’ बखतले भने।
पहिले पनि बुकिङ खुल्ने भनेको सुनेर उनीहरू आएका थिए। आइतबार आउँदा नि खुलेको छैन। नयाँ बसपार्क आउँदै जाँदै गरिरहनु परेको उनले गुनासो पोखे।
‘म चाहिँ आजै जान्छु। भाइ पछि आउँछ। घरिघरि आइरहन पाइन्न। आएका बेला भाइलाई पनि टिकट काटेर जाने भनेको खुलेकै रहेनछ’ उनले भने।
यता स्वस्तिका पौडेल र आरती भट्टराई पनि टिकट नखुलेर फर्कनु परेको बताउँछन्।
उनीहरू दुवैको घर नेपालगञ्ज हो।
‘आजबाट दसैँका लागि अग्रिम टिकट खुलेको भन्ने सुनेर कलेजबाट फर्कँदा बाटो परेर आएको, खुलेको रहेनछ’ आरतीले भनिन्।
बढेको भाडादर नआएकोले टिकट नखुलाएको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका जयराजराज भण्डारीले जानकारी दिए।
‘भाडा बढेकोले कुन भाडा दरमा टिकट काट्ने सूचना आएको छैन। नयाँ भाडादर सूचना आएपछि खुल्छ,’ उनले भने।
तुलसीपुर डिलक्सको काठमाडौं इञ्चार्ज सुरेन्द्र खड्काले महासंघसँग आबद्ध समितिहरूको दसैँ अग्रिम टिकट नखुलेको जानकारी दिए।
‘भाडा वृद्धिको दर आएको छैन। विभागबाट नयाँ भाडादर आएपछि महासङ्घसँग मिटिङ बसेर भोलि पर्सिबाट खुल्छ होला,’ उनले भने।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायात व्यवस्था विभागले नयाँ भाडादरको आधिकारिक सूची पठाएपछि मात्र दसैँ अग्रिम टिकट खोल्ने बताए।
यातायात व्यवस्था विभागका प्रवक्ता गोकुल उपाध्यायले छिट्टै नै भाडा सूची पठाउने बताए।
‘यात्रुले दुःख पाउँछन्। हामीलाई पनि हतार छ। प्रधानमन्त्रीसँग छलफल गरेर छिट्टै व्यवसायीलाई भाडा लिस्ट पठाउँछौं,’ उनले भने।