काठमाडौंको नयाँ बसपार्कमा हिजोदेखि नै भीडभाड सुरू भएको छ। १० प्रतिशत भाडा बढाएपछि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने आशमा यात्रुहरू लाइन लाग्दै आएका छन्।
हिजो राति टिकट पाइने आशमा गुल्मी घर भएर काठमाडौं बस्ने सरिता वीसी चार बजेदेखि आएर लाइन बसेकी थिइन्। तर टिकट नदिएपछि फर्किइन्। तर उनी आज बिहानै ३ बजे फेरि नयाँ बसपार्क पुगिन्।
७ जना परिवारका लागि टिकट लिन आएकी उनलाई अहिले पनि टिकट पाइन्छ कि भन्ने आशमात्र छ विश्वास भने छैन।
‘पहिले अगाडि लाइन बसेका थियौं अहिले यता पछाडि लाइन लाग्न भनेको छ टिकटको केही टुंगो छैन’ उनले भनिन्।
आफूले जान चाहेको दिनमा चाहेको सिट बुक गर्नको लागि छिटो टिकट काट्ने चाहनाले धेरै जना बसपार्क पुगेर टिकट लिन्छन्।
बिहानैदेखि यात्रुहरु टिकटको आशमा लाइन बसेको भए पनि अहिलेसम्म व्यवसायीहरूले बुकिङ भने खोलेका छैनन्। यात्रुहरुले चार पाँच घण्टादेखि लाइनमा छन्।
लाइन बसेकै यात्रुहरुलाई टिकट दिने नदिनेमा शंका रहेको छ।
‘बिहान ३ बजेदेखि आएको हुँ ३ घण्टा अगाडि लाइन बस्यौं अहिले पछाडि जान भनेको छ टिकट दिन्छ दिँदैन टुंगो छैन’ गुल्मी जान टिकट लिन आएका गोविन्द खनालले भने।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँको अग्रिम टिकट आजदेखि खोल्ने निर्णय गरेको थियो। तर अहिलेसम्म टिकट खुलेको छैन।