अब चिनी प्रतिकेजी ७० रूपैयाँभन्दा बढीमा बेचे व्यवसायीलाई कारबाही हुने भएको छ।
व्यवसायीले चिनी प्रतिकेजी ७० रूपैयाँ भन्दा बढीमा बेचे उपभोक्ता ऐन अनुरसार कारबाही गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
चाडबाडको मौका छोपेर व्यवसायीले मनोमानी ढङ्गले चिनी बेच्न थालेपछि सरकारले प्रतिकेजी ७० रूपैयाँभन्दा बढीमा बेच्नेलाई कारबाही गर्ने निर्णय गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादब सहितको बुधबार बसेको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० रूपैयाँ भन्दा बढ्न नदिने निर्णय गरेको छ।
वाणिज्य तथा आपूर्ति उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बजारमा चिनीको खुद्रा मूल्य अधिकतम ७० रूपैयाँ निर्णय गरेर प्रधानमन्त्री कार्यालयमा पेश गरेको जानकारी दिए।
‘अधिकतम ७० रूपैयाँभन्दा नबढ्ने गरी विक्री गर्न लगाउने निर्णय गरेर प्रधानमन्त्री कार्यालयमा पेश गरेका छौँ’ उनले भने, ‘प्रधानमन्त्रीज्यु आएपछि निर्णय हुन्छ।’
उनका अनुसार सुपथ मूल्य पसलमा चिनी कति रूपैयाँ तोक्ने भनेर छलफल भइरहेको छ। सरकारले दसैँको अवसरमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा पनि चिनी विक्रीमा गत आइतबारबाट रोक लगाइएको छ।
साल्ट ट्रेडिङले १२ र १३ गते दुई दिन चिनी प्रतिकेजी ७० रूपैयाँमा बेचेको थियो। भाटभटेनीले चिनी प्रतिकेजी ५९ र ई–सेवाले प्रतिकेजी ६९ रूपैयाँले दिइरहेका बेला चाडपर्वको अवसरमा सञ्चालित सुपथ मूल्य पसलमा भने ७० रूपैयाँ भएपछि सरकारले यसबारे छलफल गर्न चिनी विक्रीमा रोक लगाएको हो।
सरकारले यसअघि आयातित चिनीमा कोटा लगाएपछि बजार मूल्यमा भने ठूलो अन्तर देखिएको छ। व्यापारीहरुले प्रतिकेजी ८० रुपैयाँसम्म चिनी बिक्री गरिरहेका छन्। जसले गर्दा सरकारले चिनीको अधिकतम खुद्रा मूल्य तोक्ने तयारी गरेको हो।