तिहारका लागि चाहिने फूल तथा मालामा देश आत्मनिर्भर उन्मुख भएको छ। यो वर्ष ३ लाख सयपत्री माला बाहिरबाट आउने भएको छ। जुन खपत हुनेमध्ये १३ प्रतिशत हो।
यस वर्षको तिहारमा कुल २२ लाख माला खपत हुनेमा ३ लाख माला बाहिरबाट आउने भएको नेपाल फ्लोरिकल्चर एशोशिएशनका अध्यक्ष कुमार कसजुले बताए।
उनका अनुसार यस वर्ष १२ देखि १५ प्रतिशतले फूल उत्पादनमा वृद्धि भएको छ। जसले गर्दा १९ लाख माला आन्तरिक उत्पादनले धान्ने भएको छ। मखमली र गोदावरीलाई आन्तरिक उत्पादनले पुग्छ। ‘हामी तिहारको फूलमा आत्मनिर्भर उन्मुख हुँदैछौँ, केही वर्षमै आयात गर्नु नपर्ने अवस्था हुनेछ’ उनले भने।
गत वर्ष १७ लाख माला खपत भएकोमा ३ लाख माला बाहिरबाट आयात भएको थियो। यस वर्ष २२ लाख माला खपत हुने भए पनि ३ लाख नै आयात हुने भएको कसजुले बताए।
अध्यक्ष कसजु यो तिहारमा उपभोक्ताले सरल र सहजरूपमा फूल माला पाउने दावी गर्छन्। ‘गत वर्ष तिहार धेरै अगाडि भएकाले सबै किसानले फूल लगाइसकेका थिएनन्। त्यसैले मालाको मूल्य बढेको थियो।
यो वर्ष तिहार पछि परेकाले सयपत्रि, गोदावरी र मखमली फूल किसानका बारीमा फुलिरहेका छन्। किसानले सबै थरीका फूल लगाएका छन्। फूलको कमी हुँदैन। सरल दरमा पाइन्छ’ उनले भने।
समय अनुसार मूल्यमा फरक परेता पनि उपभोक्ताले धेरै मूल्य तिर्नु नपर्ने उनको भनाइ छ।‘मूल्य निर्धारण माग र आपूर्तिमा भर पर्ने हो’ उनले भने, ‘अहिले यति नै मूल्य पर्छ भन्न सकिँदैन । तर होलसेल प्रतिमाला ४० देखि ५० रूपैयाँ छ, खुद्रा मूल्य ७० सम्म पर्न जान्छ होला।’
काठमाडौँ उपत्यकामा मात्र कुल मालाको ६० प्रतिशत खपत हुन्छ। त्यसैगरी पोखरा, बारा, बुटवल, भैरहवालगायत शहरमा पनि बढी माला बिक्री हुने गरेको एसोसिएसनले जनाएको छ। व्यवसायिक रूपमा यमपञ्चक देखि माला बजारमा भित्रिन्छन्।
‘कतिपयले बारीमा घरको लागि खेती गरेको फूल ओइलाइसकेको छ। तर जसले व्यवसायिक रूपमा फूल खेती गरेको छ। क्यालेण्डर हेरेर खेती गरेको हुनाले तिहार केही दिन अगाडि वा पछाडि पर्दा व्यवसायमा कुनै असर पर्दैन’ उनले भने।
४५ देखि ६० दिन सम्ममा फूल फूल्ने हुनाले क्यालेण्डर हेरेर फूल रोप्नु पर्ने उनको भनाइ छ।आफूहरुको लक्ष्य पनि प्रत्येक वर्ष ५ प्रतिशतको दरले फूलको उत्पादन वृद्धि गर्दै लैजाने रहेको उनले बताए।
‘चितवन, धादिङ, झापा, बारा लगायत जिल्लामा सयपत्रिको खेती हुन्छ’ उनले भने। उनका अनुसार गत वर्ष १ लाख ५० हजार माला बाहिर निर्यात भएको थियो। नेपालीहरूको बढी बसोबास हुने देशहरु जापान, अष्ट्रेलिया, क्यानडातिर बढी निर्यात हुन्छ।
एसोसिएसनका अनुसार अहिले नेपालमा ७ सयको हाराहारीमा पुष्प व्यवसायीहरू छन्। ४३ जिल्लामा पुष्प खेती विस्तार भईसकेको छ। हाल लगभग १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ।
हाल ४४ हजारको संख्याले प्रत्येक्ष वा अप्रत्येक्षरूपमा रोजगारी पाएका छन्। भन्सार विभागको तथ्याङ्क अनुसार आ.ब.२०७४/७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ। यस अवधिमा निर्यात २ करोड ३७ लाखको भएको छ।
समग्रमा पुष्प व्यवसायको बार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ।