फूलमाला, झिलिमिलीसँगै मिठाईको पर्व हो तिहार। तिहारमा टिका फूलमाला लगाई आफ्ना दाजुुभाइलाई मिठाई खुवाउने प्रचलन छ।
दैनिक व्यस्तताले तिहारमा पकाइने सेल, अनरसा आजभोलि धेरैका भान्सामा बन्न छाडिसके। बजारमा पाइने आकर्षक मिठाईले तिहारमा धेरैको ध्यान तान्ने गरेको छ। तर ति मिठाई बनाउँदा अधिकांश पसलेहरूले लापरबाही गर्ने गरेको पाइएको छ।
यसैलाई मध्यनजर गरेर चाडपर्वको बेला सरकारले अनुगमनलाई तिव्रता दिने गरेको छ। तिहारमा मिठाईको बढी प्रयोग हुने हुनाले अनुगमनलाई निरन्तर दिइएको खाद्य तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले जानकारी दिए।
‘अधिकांश पसलले अखाद्य तथा अधिक मात्रामा मिठाईमा रङको प्रयोग गर्ने गरेको अनुगमनमा पाइन्छ’ उनले भने। यस्तो रङले मानव स्वास्थ्यमा नकारात्मक असर पार्दछ। त्यसैले उपभोक्ताले मिठाई किन्दा ध्यान दिनुपर्ने कर्ण बताउँछन्।
धेरै मिठाई पसलले मापदण्डविपरित रङको प्रयोग गर्ने गरेको खाद्य तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत शिव प्रसाद भण्डारीले बताए।
बनेपाका अधिकांश मिठाई पसलमा बढी मात्रामा रङको प्रयोग
विभागले असोज १५ र १६ गते काभ्रे जिल्लाको बनेपामा रहेको मिठाई पसलमा अनुगमन गर्दा मापदण्ड विपरित खाद्य रङको प्रयोग गरिएको पाइएको बताउँछन् खाद्य अनुसनधान अधिकृत भण्डारी।
‘हामीले तीन मिठाई पसलमा अनुगमन गरेकोमा २ ओटा पसलमा खाद्य रङको बढी प्रयोग गरिएको पाइयो’ उनले भने ‘ती पसललाई कारबाही गरिएको छ।’
काभ्रे स्वीट्स एण्ड चाट र कामधेनु फास्टफुड एण्ड भोजनालयको लड्डु तथा मिठाईमा निरीक्षण गर्दा मापदण्डभन्दा बढी मात्रामा रङको प्रयोग भएको पाइएको थियो।
उनका अनुसार अनुगमन गर्दा खानेकुरा खुल्ला रहेको, भान्सेले टोपी नलगाएको, फोहोर फ्याँक्ने भाडा खुला रहेको, प्यान र व्यवसाय दर्ता नभएको समेत पाइएको छ।
खाने कुरा छोपेर राख्ने, भान्सामा काम गर्दा टोपी लगाउने, मिठाईमा २ सय पिपीएम भन्दा बढी खाद्य रङको प्रयोग नगर्न पसललाई निर्देशन दिएको भण्डारीले जानकारी दिए।
खाद्य तथा गुण नियन्त्रण विभागले मिठाईमा ५ केजी बराबर १ ग्राम खाद्य रङ प्रयोग गर्न पाउनेगरी मापदण्ड तोकेको छ।
न्युरोडका पनि छैनन् राम्रा
टोलीले कात्तिक १३ गते न्युरोडका केही मिठाई पसलमा अनुगमन गरेको थियो। अनुगमन गर्दा मिठाई पसलमा भान्सा सफा नभएको पाइएको विभागले बताएको छ।
टोलीले टिपटप स्वीट्स, गुलाब स्वीट्स तथा लयाकु रेष्टुरेण्टमा अनुगमन गरेको थियो। सो क्रममा गुलाब स्वीट्सले हाई पोलारीको तेल प्रयोग गरेको पाइएपछि ५ लिटर तेल नष्ट गरिएको विभागले जनाएको छ।
विभागका अनुसार कात्तिक १४ गते त्रिपुरेश्वर तथा नारायण गोपाल चोकमा निरीक्षण गर्दा शालिमार हस्पिट्यालिटी, गुलाब तथा तृष्ण मिठाई पसलमा सरसफाई नगरिएको तथा भान्सा फोहोर भएको पाइएको थियो।
कात्तिक १६ गते टोलीले भक्तपुरका मिठाई पसलमा निरीक्षण गर्दा अधिकांश पसलहरूमा मिठाईमा अत्यधिक मात्रामा रङको प्रयोग गरिएको भेटिएको खाद्य अनुसन्धान अधिकृत भण्डारीले जानकारी दिए। उनका अनुसार त्यहाँ म्याद नाघेका फुड कलरसमेत फेला परेको थियो।
हेर्नुहोस् अनुगमनका क्रममा देखिएका तस्वीर