तिलगंगा अस्पतालले आँखा लेन्सको स्वदेशी माग पूरा गरी बढी भएका उत्पादन विभिन्न देशमा निर्यात गर्दै आएको छ।
सन् १९९५ देखि लेन्स उत्पादन गर्दै आएको तिलगंगाले सन् २००० देखि यस्ता लेन्सको निर्यात थालेको हो। विदेशबाट लेन्सको माग बढेसँगै अस्पतालले उत्पादन बढाउने तयारी गरेको छ। लेन्स बनाउने मेसिन खरिदको लागि सरकारले १० करोड रुपैयाँ अनुदान दिएको अस्पतालका प्रशासन प्रमुख भगीरथ बानियाँले बताए।
‘सरकारले सहयोग गरेको रकम मेसिन खरिदको लागि हो। जुन मेसिनले अहिलेको तुलनामा दोब्बर लेन्स उत्पादन गर्नसक्छ। हामीलाई जग्गा र घरको समस्या छ,’ बानियाले भने, ‘चार पाँच ठाउँमा जग्गा हेरिरहेका छौँ। केही महिना भित्रमा नै जग्गा लिन्छौँ, ’
प्रतिष्ठानले अहिले अस्पताल भित्रै लेन्स उत्पादन गर्दै आएको छ। त्यस ठाउँलाई पनि अस्पतालमै विस्तार गरी छुट्टै ठाउँमा उत्पादन गर्ने प्रतिष्ठानको योजना छ।
उनका अनुसार तिलगंगाबाट उत्पादित आँखाको लेन्स विश्वकै उत्कृष्ट लेन्समध्ये पर्छ। सो अस्पतालले सन् २०१७ मा १ लाख ६७ हजार गोटा लेन्स विदेश निर्यात गरेको थियो। सो सङ्ख्या सन् २०१६ मा २ लाख ६३ हजार र सन् २०१५ मा १ लाख ५२ हजार थियो। अहिले विभिन्न देशबाट समेत लेन्सको माग बढेकाले उत्पादन बढाउने तयारी गर्न थालिएको बानियाँ बताउँछन्।
अहिले अस्पतालबाट उत्पादित लेन्समध्ये करिब ६० प्रतिशत विदेश निर्यात हुने गरेको छ। उनले भने, ‘नेपालमा हरेक वस्तु आयात भइरहेको अवस्थामा नेपालमै उत्पादित लेन्स ५० भन्दा बढी देशमा निर्यात हुनु खुशीको कुरा हो।’
उनका अनुसार अहिले प्रतिष्ठानको वार्षिक साढे ४ देखि ५ लाख लेन्स उत्पादन गर्ने क्षमता रहेको छ। विदेशमा लेन्स विक्रीका लागि १७ ओटा देशमा सञ्जाल रहेको छ। भने ५० भन्दा बढी देशमा अस्पताल र गैरसरकारी संस्थामार्फत विक्री गर्ने गरिएको छ। सबैभन्दा बढी लेन्स विक्री हुने देशहरूमा चीन, पाकिस्तान, दक्षिण अफ्रिका, कम्बोडिया, थाइल्याण्ड, श्रीलङ्का र भियतनाम रहेका छन्। बानियाँले भने, ‘हाम्रो उत्पादन माग बढ्दै गएकाले क्षमता वृद्धि गर्न लागिरहेका छौँ।
प्रतिष्ठानले अहिले पिएमएमए (PMMA) र फोल्डेबल (Foldable) गरी दुई प्रकारका ‘इण्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आएको छ।
पीएमएमए पुरानो प्रविधिबाट बनाइने लेन्स हो भने फोल्डेबल नयाँ प्रविधिबाट बनाइने लेन्स हो। फोल्डेबल लेन्स नरम हुने भएकाले यो राख्न आँखामा सानो प्वाल बनाए हुन्छ भने पीएमएमए कडा हुने भएकाले यो राख्न अलि ठूलो घाउ बनाउनु पर्दछ।
मानिसको आँखाको पावर फरक फरक हुने भएकाले यी दुई थरीका लेन्स पनि ३ सय १२ पावर तथा मोडलमा वर्गीकरण गरेर उत्पादन हुने गरेको छ। लेन्स बनाउन आवश्यक पर्ने कच्चा पदार्थ अमेरिका र बेलायतबाट आयात गर्ने गरिएको प्रतिष्ठानका आइओएल ल्यावका निर्देशक नविन अधिकारीले जानकारी दिए ।
तिलगङ्गामा उत्पादित लेन्स नेपालका अस्पतालमा निकै सस्तोमा पाइने पनि अस्पताल स्रोतले बताएको छ । यस्तो एउटा लेन्स उत्पादन गर्न तिलगङ्गालाई ४ सय २५ रूपैयाँ लाग्छ । तर, नेपालीलाई तिलगङ्गाले २ सय ५० रूपैयाँमानै विक्री गर्ने गरेको छ । नेपालीलाई विक्री गर्दा भएको घाटा भने विदेश निर्यात गरिने लेन्सको मूल्यबाट पूर्ति गर्ने गरिएको बुझिएको छ। त्यसो भएर पनि विदेशमा नेपाली लेन्स तुलनात्मक रूपमा सस्तो नै पर्ने अस्पतालले बतायो।
उसका अनुसार विदेशमा एउटा लेन्सको मूल्य ४ डलरदेखि २२ डलरसम्म पर्छ। अधिकारीले भने, ‘खरिद गर्न सक्ने देशसँग केही बढी पैसा लिने गरिएको छ भने गरीब देशलाई सस्तोमा दिन्छौँ।' तिलगंगा गैरनाफामुखी संस्था भएकाले सस्तोमा गुणस्तरीय लेन्स उत्पादन गर्दै आएको उनको भनाई छ।
तिलगंगामा उत्पादित लेन्सको माग विश्वबजारमा बढ्दै गएपछि नेपाल सरकारले यसको क्षमता विस्तार गर्न गत वर्ष नै १० करोड रुपैयाँ दिएको छ। तिलगंगाअन्तर्गतको लेन्स प्रयोगशालालाई आँखा लेन्स उद्योगका रूपमा स्थापना गर्न उद्योग मन्त्रालय र अस्पतालबीच गत बैशाखमा उक्त रकम सहयोग गर्ने सम्झौता भएको थियो।
के हो ‘इन्ट्राअकुलर’ लेन्स ?
मोतीबिन्दु भएका बिरामीको उपचार भनेको शल्यक्रिया नै हो। शल्यक्रियामा अपारदर्शी बनेको आँखाको प्राकृतिक लेन्स निकालेर ल्याबमा बनाएको लेन्स प्रत्यारोपण गरिन्छ। यस्तो लेन्सलाई ‘इन्ट्राअकुलर लेन्स भनिन्छ।
उत्पादित लेन्सको स्थिति (संख्यामा):
सन् | उत्पादन | खपत | निर्यात |
२०१५ | ४,०९,९६५ | १,२८,०२० | १,५२,६९४ |
२०१६ | ३,९२,८५६ | १,४९,८११ | २,६३,४५० |
२०१७ | ३,३७,५९७ | १,१२,६४४ | १,६७,०४२ |
स्रोतः तिलगंगा आँखा प्रतिष्ठान