मदिरा बिक्री-वितरणमा कडाइ गर्दै आएको सरकार यसमा थप बन्देज लगाउने तयारीमा जुटेको छ।
हाल सञ्चालनमा रहेका बाहेक नयाँ मदिरा उद्योग खोल्न नै रोक लगाउनेबारे गृहकार्य भइरहेको छ। साथै मदिरा बिक्री-वितरण समय पनि तोकिने तयारी छ।
यसका लागि सरकारले मदिरा उत्पादन र बिक्री-वितरण नियम तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने भएको छ। आदेशको मस्यौदा तयार भएर छलफल क्रममा रहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन्।
मस्यौदामा नयाँ मदिरा उद्योग अनुमति तथा दर्ता गर्ने काम हाललाई स्थगित गर्ने भनिएको छ। साथै अनुमति लिएर ६० प्रतिशत बढी लगानी तथा तयारी पूरा गरेका बाहेक अन्यलाई संचालन अनुमति नदिने उल्लेख छ। सञ्चालनमा रहेकाको शाखा विस्तार तथा क्षमता वृद्धि अनुमति पनि स्थगित गर्ने व्यवस्था मस्यौदामा छ।
त्यस्तै मदिरा बिक्री-वितरणमा पनि कडाइ गरिने भएको छ। आदेशको मस्यौदाअनुसार धार्मिक, शैक्षिक तथा सार्वजनिक स्थलबाट कम्तीमा ३ किमी टाढा मात्रै उद्योग सञ्चालन गर्न पाइने छ। मदिरा सेवनको मात्रा, बिक्री वितरण गर्ने समय र स्थान समेत तोकिएको छ।
बिक्रेताले दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म र होटल तथा रेष्टुरेन्टले साँझ ५ देखि १० बजेसम्म मात्रै मदिरा बेच्न पाउने मस्यौदा बनाइएको छ। सार्वजनिक स्थलमा बसेर सेवन गर्न नपाउने व्यवस्था गरिने भएको छ।
मस्यौदा कार्यान्वयनपछि समाजमा हुने अपराधमा कमी आउने गृहमन्त्रालयको दावी छ। अपराधिक क्रियाकलापको जड मदिरा भएकाले नियन्त्रण र नियमन गर्न कार्यकारी आदेश जरुरी भएको प्रवक्ता सुवेदीको भनाइ छ।
‘ग्रामीण भेगमा महिलाहिंसाको प्रमुख कारण नै अत्याधिक मदिरा सेवन हो। महिला हिंसा अन्त्य गर्ने एउटा मात्र उपाय मदिरा नियन्त्रण हो’ सुवेदीले सेतोपाटीसँग भने।
अहिले सार्वजनिक यातायातमा समेत मदिरा सेवन गरेकाहरु चढ्ने, विद्यालय तथा मन्दिर परिसरमा खुलेआम बिक्री हुने, इजाजत नलिएकाले पनि बेच्ने गतिविधि भएकाले कार्यकारी आदेशबाट यसको नियन्त्रण हुने सुवेदीले बताए।
उनका अनुसार सो आदेश नेपाल सरकारले निर्णय गरेपछि कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा जानेछ। उद्योगी तथा व्यवसायीले भने सो कार्यादेश लागू भएमा उद्योग फस्टाउन नसक्ने र पर्यटन क्षेत्रमा समेत असर पर्ने बताउँदै आएका छन्।
‘कार्यादेश कार्यान्वयमा लगिए मदिरा उद्योगमा स्वदेशी लगानीकर्ताको ठूलो लगानी डुब्ने र अवैध मदिरा फस्टाउने जोखिम देखिन्छ’ पेय पदार्थ तथा चुरोट उद्योग सङ्घका महासचिव गुरू अधिकारीले भने।
अवैद्य मदिराको बिक्री वितरण बढ्दा स्वास्थ्यमा गम्भीर असर पर्ने र ज्यान जाने जोखिम बढ्न सक्ने उनले बताए।
स्वदेशी उद्योगहरुले राज्यले निर्धारण गरेको मापदण्ड भित्र रही गुणरस्तरयुक्त मदिराको उत्पादन तथा बिक्री वितरण गरिरहेको उनले बताए। ‘अपराधिक गतिविधिमा मुख्य समस्या भनेको घरेलु मदिरा हो यसमा सरकारले विशेष ध्यान दिनुपर्छ’ उनले भने।